बुटवल : पश्चिम नवलपरासीको सदरमुकाम परासीमा गोली चलेको छ। परासी बजारस्थित जिल्ला अदालत परिसरमा सोमबार दिउँसो गोली चलेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ऋषिराम कंडेलले जानकारी दिए।
सरावल गाउँपालिका-४ मंगलापुरका ३२ वर्षिय हर्षराम यादवले आफ्नै ३४ वर्षीय काकी रोशनी यादवलाई पेस्तोलबाट गोली प्रहार गरेका हुन्। हर्षरामले दुई पटक गोली चलाएका थिए। रोशनी भने सुरक्षित छिन्। उनी भागेर बचेको प्रहरीले जनाएको छ।
सन्तान विहीन रहेका काकाको मृत्युपछि अंश खाने काकी मात्र भएको र उनलाई मारेपछि सम्पत्ति आफ्नो हुने मनशायले हर्षरामले गोली प्रहार गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। अंश मुद्दामा सोमबार अदालतमा मिलापत्र गर्न जाने क्रममा हर्षरामले काकीमाथि गोली प्रहार गरेका जनाइएको छ।
गोली प्रहार गरि भागेका हर्षरामको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा १ थान गोलीको खोका भेटिएको प्रहरीले जनाएको छ।