PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

पहिलोपटक नेपाल प्रहरीमा प्राविधिक बाहेक महिला एआइजी



पहिलोपोस्ट

पहिलोपटक नेपाल प्रहरीमा प्राविधिक बाहेक महिला एआइजी

काठमाडौं: बढुवा समितिले सिफारिस गरेको १० दिनपछि सरकारले पाँच जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ। योपटक बढुवामा एक जना महिला समेत अटाएकी छिन्। उनी प्राविधिक बाहेक पहिलो महिला एआइजी हुन्। 

प्रहरीको इतिहासमा पहिलो महिला एआइजी बनेकी हुन् पूजा सिंह। सिंह नेपाल प्रहरीमा प्रशासन समूह तर्फबाट पहिलो महिला एआइजी बनेकी हुन्।

६ दशकभन्दा लामो इतिहासमा प्राविधिक बाहेक प्रहरी निरीक्षकबाट भर्ना भएका कुनै पनि महिला उक्त पदमा पुगेका छैनन्।

डिआइजी पार्वती थापा पहिलो एआइजी बन्ने लाइनमा पुगेकी थिइन् तर सरकारले उनको बढुवा रोकेको थियो। उनीभन्दा कनिष्ठलाई बढुवा गरेपछि उनी अदालतसम्म पुगेकी थिइन्। तर, अदालतबाट उनले चाहेको जस्तो आदेश भएन। त्यसपछि उनले अवकाश पाइन् र राजनीतिक दलतिर जोडिइन्।

प्रहरीको ६५ वर्षे इतिहासमा अहिलेसम्म डिआइजीमा पार्वती थापा र विमला थापामात्र पुगेका छन्। त्यसपछि केही समय नेपाल प्रहरीमा प्राविधिक बाहेक महिला डिआइजी भएनन्। गत पुसमा सिंह डिआइजी भएकी थिइन्। सिंहलाई पुस २३ गतेको बढुवा समितिले डिआइजीमा बढुवाका लागि सिफारिस गरेको थियो। उनी अहिले वाग्मती प्रदेश प्रहरी प्रमुख छिन्।

अहिले नेपाल प्रहरीको कूल जनशक्ति ७५ हजार ४६३ रहेको छ। जसमा महिलाको सङ्ख्या ८ हजार ३३४ छ। ३३ प्रतिशत महिलाको सहभागिता भनिरहँदा प्रहरी संगठनमा भने मुस्किलले ११ प्रतिशतमात्र छ। प्राविधिक तर्फका विभागमा अहिले पनि महिलाको नेतृत्व देखिन्छ। नेपाल प्रहरीमा पहिलो महिला अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) हुन्, डाक्टर दुर्गा थापा। सबैभन्दा उच्च पदमा पुगेकी दुर्गा प्रहरीको प्राविधिकतर्फ थिइन्, प्रहरी चिकित्सक। तीस वर्षे सेवा अवधिका कारण २०७६ पुसमा उनले अवकाश पाइन्।

अहिले डाक्टर आशा सिंहले नेपाल प्रहरी अस्पतालको प्रमुखको जिम्मेवारी सम्हालिरहेकी छिन्। त्यस्तै, प्राविधिकतर्फ एसएसपी देउती गुरुङले पनि इन्चार्जको जिम्मेवारी सम्हालिरहेकी छिन्। उनी केन्द्रीय कुकुर तालिम केन्द्र महाराजगन्जको इन्चार्ज हुन्।

अहिले एसएसपी किरण बज्रचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राणा आइजी बन्ने लाइनमा छन्। उनीहरु २०५१ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। उनीहरुले विभिन्न जिल्ला र व्यूरोको कमाण्ड समेत सम्हालिसकेका छन्।

प्रहरीमा महिला प्रहरी जवान सबैभन्दा धेरै छन्। त्यसो त प्रहरी संगठनमा सबैभन्दा धेरै सङ्ख्या भएको पद जवान नै हो। ५ हजार ६०० भन्दा बढी  महिला प्रहरी जवान छन्। जबकि कूल पुरुष प्रहरीको सङ्ख्या ३७ हजार ८४९ रहेको छ। नेपाल प्रहरीभित्र ६० भन्दा बढी एसएसपी रहेका छन्। जसमा महिला एसएसपीको सङ्ख्या ७ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell