PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

छात्राको उजुरीपछि समातिएका वार्डेनलाई चार दिन हिरासतमा राख्न अनुमति, कसुर प्रमाणित भए तीन वर्षसम्म जेल



पहिलोपोस्ट

छात्राको उजुरीपछि समातिएका वार्डेनलाई चार दिन हिरासतमा राख्न अनुमति, कसुर प्रमाणित भए तीन वर्षसम्म जेल

काठमाडौंः जोरपाटीस्थित सर्वनाम शिक्षालयका वार्डेन रामजी बस्नेतमाथि बाल यौन दुरुपयोग अभियोगमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले चार दिनको अनुमति दिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले अभियुक्त बस्नेतलाई शनिबार पक्राउ गरेको थियो। फरार उनलाई रामेछापबाट नियन्त्रणमा लिइएको थियो। 

पक्राउ परेको मितिबाट चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो। 

बस्नेतले स्कुलको छात्राबासमा कक्षा ७ मा अध्ययनरत  ११ वर्षीय बालिका, कक्षा ८ मा अध्ययनरत बर्ष १२ वर्षीय बालिका र कक्षा १० मा अध्ययनरत १४ वर्षीय बालिकालाई विगत ५/६ महिनाअघिदेखि यौन दुरुपयोग गरेको उजुरी परेको थियो। उजुरीपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। 

प्रहरीले बस्नेतविरुद्ध मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद १८ को दफा २२५ को बालयौन दुरुपयोग गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाएको छ। कसुर भएको प्रमाणित भएमा तीन वर्षसम्म कैद र २० हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ।

त्यस्तै जेठ १० गते चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा शिक्षकले यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। पीडित छात्राले जाहेरी दिएपछि जनार्दन अधिकारीलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको थियो। काभ्रे घर भएका अधिकारी कलेजका कोअर्डिनेटर हुन्। यही प्रकरणमा अर्का एक शिक्षक पनि समातिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell