PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

सम्झना अस्ताएका एक तारा एकाराम सिंको



सम्झना अस्ताएका एक तारा एकाराम सिंको

  • सिर्जना शर्मा-

एकाराम सिं महर्जन नेपालका वरिष्ठ चित्रकार। यसबाहेक उनी बालवाङमय तथा अनुसन्धान केन्द्रका पूर्व महासचिवसमेत रहेका थिए। एकारामले नेवारी परम्परा स्थानीय ढुङ्गेधारा, पौवा, देवदेवीका मठमन्दिर, गुठी आदि बारेका राम्रा अनुसन्धान गरेका छन्। यस अर्थमा उनी नेवारी संस्कृतिका अनुसन्धानकर्ता तथा प्रवर्तक पनि हुन। उनले गुठीका बारेमा बनाएको डकुमेन्ट्री निकै प्रसिद्ध छ।

चित्रकला क्षेत्रका यी प्रसिद्ध व्यक्ति एकाराम सिंलाई मैले २०५५ सालमा चिनेकी हुँ। तिनताक म सेभ द चिल्ड्रेन यूएसमा मातृ शिशु सम्बन्धी शैक्षिक सामाग्री प्रकाशनको काम हेर्थे। यसै सन्दर्भमा कुशल चित्रकारको खोजी गर्दै जाँदा म उनको सम्पर्कका पुगें। उनी यस अघिदेखि नै सेभ द चिल्ड्रेन यूकेलगायत अन्य धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाको काममा सम्लग्न रहेछन्। सम्झौताअघि उनको कामको नमूना हेर्ने क्रममै म उनको कला कुशलतामा विश्वस्त मात्र हैन मोहित भएँ। अनि हामी मातृ तथा बालबालिका सम्बन्धी शैक्षिक सामाग्री प्रकाशनका लागी सहकार्यमा जुट्यौँ।

एकाराम सिंको चित्रकला अति जीवन्त छन्। ‘तस्वीर आफै बोल्छ’ भन्ने कुरा उनका चित्रकलाले प्रमाणित गर्छन्। चित्रमा नेवारी संस्कृतिको प्रवर्द्धन गर्न उनी रुचाउँथे। यसो हुँदा आफूले कोरेका चित्रमा नेवारी अनुहार र भेषभुषा तथा संस्कृति देखाउन उनी उद्धत हुन्थे। 

कामको गुणस्तरियतामा सम्झौता नगर्ने, तथा धेरै संस्थामा आवद्ध भएका कारण होला कतिपय अवस्थामा भनिएको समयमा उनी काम सिध्याउन सक्दैन थे।  म ठट्ट्याउलो पारामा उनलाई फोन गर्थे - एकाराम भाइ कहिले पुरा होला त अब हाम्रो काम? ...  अब पहिला यो कामलाई प्राथमिकतामा राख्नुस् है?

‘हुन्छ दिदी हुन्छ। म छिट्टो सक्छु यो काम। धन्दा मान्नु पर्दैन।’

म ठट्टा गर्दै उनलाई भन्थे - हस् म धन्दा मान्दिन। म ढुक्क छु। वचन पुरा नभए त म तपाईंको नाम फेरि एकाराम बाट ढिलाराम राखिदिन्छु नि है..?

मेरो कुरा सुनेर उनी जोडले हाँस्थे र भन्थे - अर्को नाम दिन पर्दैन मलाई दिदी। छिट्टै सक्छु दिदीको काम।... फरक पर्दैन।

ढिलै भए पनि उनले छोएका चित्रकला अत्यन्त सुन्दर बन्थे। हाम्रा लक्षित समूहको मन उनका चित्रले सधैँ जितेका छन्। उनको स्वभावको अर्को सुन्दर पक्ष पैसाको लोभ उनीले कहीँ कतै देखाएनन्। आफ्नो कलाकारिता उच्च तथा उत्कृष्ट दर्जाको भए पनि उनी परिश्रमिकको मोलमोलाइमा कहिल्यै फसेनन्। त्यसैले त उनी अन्तर्राष्ट्रिय संघ संस्थाको मात्र प्यारो भएनन् बरु आर्थिक दृष्टिले सामान्य ठानिएका लेखक तथा संघसंस्थाको पनि अति प्रिय भए। अब्बल किसिमको आफ्नो कलाकारिता तथा मेहनतको उचित पारिश्रमिक लिन पनि उनी अप्ठेरो मान्थे।

साहित्य, कला र अनुसन्धानबाहेक उनको रुचि समाजसेवामा पनि थियो। पछिल्लो समय उनी विभिन्न संघसंस्थामा सामाजिक कार्य गर्न उद्धत रहे। उनी बाल साहित्य समाजको कार्य समितीमा पनि थिए। अरुको कृतिमा चित्र कोर्दाकोर्दै एकराम आफै कुशल लेखक पनि बने। ‘हात गुमायो मूर्ति बनायो’ र ‘भद्रकाली’ उनका बाल चित्रकथा मलाई साह्रै मन पर्छन्। उनीभित्र बहुप्रतिभा तथा क्षमता रहेछ भन्ने कुरा यी कृति सिर्जनाबाट स्पष्ट हुन्छ।

अत्यन्त प्रतिभाशाली, परिश्रमी, सरल र मृदुभाषी स्वभाव भएकै कारण उनीसंग संगत गर्न सबै रुचाउँथे। आफू नेवार परिवारको भए पनि उनी माछामासु, जाँडरक्सी खाँदैन थे। ‘जातले पाउँदैमा मात लाग्ने कुरा किन खान पर्‍यो र?’ भन्ने उनको सोच थियो। तर खान चाहनेलाई भने उनी खुवाउँथे। अर्काको चाहना किन मार्ने भन्ने उनको भनाइ हुन्थ्यो। 

आफू बालवाङमय तथा अनुसन्धान केन्द्रको आजिवन सदस्य भएपछि उनसँगको मेरो भेटघाट बाक्लियो। भेटका बेला उनी नेवारी संस्कृतिका विविध पक्ष तथा साहित्य सिर्जनामा यी विषयलाई उठान गर्न किन जरुरी छ भन्ने विषयमा तर्क दिँदै कुराकानी गर्थे। २०७७ को चैतमा नवजीवन बाल पुस्तकालयमा भेट हुँदा ‘दिदीले लेख्नुभएको अब निस्कने पुस्तकको इलुस्ट्रेसन म गर्छु भनेका थिए। खुब रमाएकी थिएँ उनको वचनमा। तर अपसोच यो खुसी अधुरै रह्यो।

२०७८ कोरोना कहरले संसारलाई त्राहीमाम पारेको बेला म मुलुक बाहिर थिएँ। त्यसै बेला उनी कोरोनाका कारण अस्वस्थ भएको कुरा बालवाङमयको मेसेन्जरमा पढेँ। यस्तो क्षमतावान तथा असल व्यक्ति देशले गुमाउँनु हुन्न भन्ने सोचका साथ उपचारको प्रयास चारैतिरबाट प्रसस्त भएको हो। उनको शिघ्रस्वास्थ्य लाभको कामना गर्नेहरु देश तथा विदेशमा अनगिन्ती थिए। ‘उनलाई छिटो निको होस् भगवान्’ भन्दै दृदयदेखिनै म पनि प्रार्थनारत थिएँ। तर कोरोना पापीले उनलाई अस्पतालबाट फर्कन दिएन। उनी परलोक भएको खबरले म स्तब्ध भएँ। उनका लागि केही भन्न गर्न सक्ने कुरा केही थिएन। मन साह्रै दुख्यो। रुझेका परेली हत्केलाले छुँदै भने, ‘बैकुण्ठ बास होस् सज्जन एकरामको।’

एकराम सिं महर्जन नामको एक चम्किलो तारा आज भौतिक रुपमा अस्ताएको छ। तर उनले नेपालको संस्कृति, साहित्य, कला तथा अनुसन्धान र समाज सेवाको क्षेत्रमा गरेका निस्वार्थ योगदानले उनीलाई जुगजुग अमर बनाइ राख्नेछ। 

असल मानव एकराम सिं महर्जनमा हार्दिक शब्द श्रद्धान्जलि!!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell