PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

चीन अमेरिका वाकयुद्ध : एक अर्कालाई 'बलपूर्ण कूटनीति' अपनाएको आरोप



पहिलोपोस्ट

चीन अमेरिका वाकयुद्ध : एक अर्कालाई 'बलपूर्ण कूटनीति' अपनाएको आरोप
Photo : Reuters/AP

चीन र अमेरिकाबिच वाक युद्ध चल्दै आएको छ। पछिल्लो समय उनीहरुले एक अर्कालाई 'बलपूर्ण कुटनीति' अंगिकार गरेको आरोप लगाइरहेका छन्।

पछिल्लो समय अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले चीन आक्रामक ढंगले अगाडि बढेको आरोप लगाउँदै आएका छन्। उनले चीनले बलपूर्ण कुटनीति अंगिकार गरेको संकेत गर्दै एक कार्यक्रममा भने, 'राष्ट्रपति सीको नेतृत्वमा शासक चिनियाँ कम्युनिस्ट पार्टी घरमा थप दमनकारी र बाहिर थप आक्रामक बनिरहेको छ।'

उनले अमेरिका नयाँ शीत युद्ध नचाहेको बताउँदै चीनलाई मुख्य शक्तिको भूमिकामा रोक्न नचाहेकोसमेत स्पष्ट पारेका छन्। अमेरिकाको जर्ज वासिङटन विश्वविद्यालय र एसिया सोसाइटीले आयोजना गरेको कार्यक्रममा उनले बाइडेन प्रशासनको रणनीति तीन शब्दमा बुझिने बताए - लगानी, गठबन्धन र प्रतिस्पर्धा।

बाइडेन प्रशासनले आफ्ना अधिक स्रोतहरुलाई मस्कोविरुद्ध लगाएको र वासिङ्टनले बेइजिङलाई दीर्घकालीन चुनौतीको रुपमा लिएको ब्लिङ्कनले बताए।

उनले चीनले मानवअधिकारको उल्लंघन, नागरिकको गोपनीयतामा हस्तक्षेप गर्नुका साथै चिनियाँ राष्ट्रपति सी जिङपिङको रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग सीमारहित सम्बन्ध रहेकोसमेत आरोप लगाएका छन्

अमेरिकाले चीनप्रतिको प्रशासनिक दृष्टिकोण सार्वजनिक गर्दै चीनको कुटनीतिप्रति टिप्पणी गरेसँगै चीनले पनि त्यसको जवाफ फर्काएको छ। सोमवार नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिचियान चाओले चीनले कसैलाई पनि दबाब नदिएको र अरुले दबाब दिए त्यसको विरोध गर्ने बताए

'हामी आफू अरुले जे नगरोस् भन्ने चाहन्छौँ त्यही अरुसँग नगरौँ भन्ने चिनियाँ साँस्कृतिक विश्वास हो,' उनले भने, 'चीनको कुटनीतिक परम्परा भनेको के हो भने हामी साना ठूला सबै देश समान हुन् भन्ने विश्वास गर्छौँ।'

चीनले राष्ट्रिय सार्वभौमिकता र स्वाधिनतामा चुनौती अथवा उल्लंघन भए त्यसको जवाफ तर्कसंगत तरिकाले कानुनको दायराबाट दिने उनले बताए। उनले चीनले कहिल्यै अरु देशलाई बलमार्फत चुनौती नदिएको दाबी गरे।

'हामीले कहिल्यै सैन्य गठबन्धन बनाएनौँ। विचारहरुलाई निर्यात गरेनौँ। हामी कहिल्यै अरुको ढोकामा पुगेर कसैलाई उक्साएनौँ। अथवा हाम्रा हात कसैको घरसम्म पुर्‍याएनौँ,' उनले भने।

उनले बरु 'बलपूर्ण कुटनीति' अमेरिकाबाट सुरु भएको दाबी गरे। 'यो अमेरिका नै हो जसले बलपूर्ण कुटनीतिको सुरुवात गर्‍यो र त्यसमाथि प्रतिलिपि अधिकार दर्ता गर्‍यो,' उनले अगाडि भने, '१९७१ मा अमेरिकी प्राज्ञ अलेक्सजेन्डर जर्जले लाओस, क्युवा र भियतनामप्रति अमेरिकी नीतिको ब्याख्या गर्दै बलपूर्ण कुटनीतिको सुरुवात गरे।'

चीनले अमेरिकाको बोली र गराईमा फरक रहेको बताए। 'विदेशमन्त्री ब्लिङ्कनले सबै देशहरु दबाबरहित तरिकाले आफ्नो बाटो कोर्न पाउँछन् भने। यसको लागि अमेरिकाले आफ्नो पूरानो बलपूर्ण कुटनीति अंगिकार गर्ने बानी त्याग्नुपर्छ,' प्रवक्ता झओले भने।

यसअघि पनि चीनले अमेरिकामाथि नेपालमा बलपूर्ण कुटनीति अपनाएको आरोप लगाएको थियो। नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग भएको एमसीए कम्प्याक्ट अनुमोदनका लागि अमेरिकाले दबाब दिँदा चीनले त्यसको विरोध गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell