PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पोखरामा साइकल लेनले तालहरु 'कनेक्ट' गर्ने प्रयास : तर, अव्यवस्थित पार्किङ र फोहोरको थुप्रोले अवरोध



रिना थापा

पोखरामा साइकल लेनले तालहरु 'कनेक्ट' गर्ने प्रयास : तर, अव्यवस्थित पार्किङ र फोहोरको थुप्रोले अवरोध

पोखरा : पोखरा महानगरपालिकामा साइकल लेनको आवश्यकता र चर्चा २०७१ सालदेखि सुरु भयो। अव्यवस्थित पार्किङ चुनौती बनिरहेको समयमा साइकल लेनको आवश्यकता महानगरले भने महसुस गरेन।

ढिलो नै सही तर २०७६ पुस १३ गते पोखरामा साइकल लेनबारे अध्ययन गर्न महानगरले तीन सदस्यीय समिति गठन गर्‍यो। नेपाल साइकल सोसाइटी, पोखरा साइकल सिटी र पोखरा महानगरबिच बैठक बसेर समिति गठन भएको थियो।

त्यसपछि २०७७/७८ को आर्थिक वर्षमा महानगरले साइकल लेनका लागि ३० लाख बजेट विनियोजन गर्‍यो। महानगरले साइकल लेनका लागि बजेट मात्र विनियोजन गरेन। पोखराका प्रमुख ताल जोड्नका लागि साइकल मार्ग बनाउने बतायो। फेवाताल, बेगनास, खाष्टे, दिपाङ लगायतका ताल जोड्न साइकल मार्ग बनाउन ८४ किलोमिटर सडकमा विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरिएको छ।

त्यसकै सुरुवात गर्दै बैशाख महिनामा पोखराको सडकमा साइकल लेन बनाइयो। चुनावको मुखैमा रातारात साइकल लेन बनाइएको थियो। ३५ लाख खर्च गरेर बनाइएको साइकल लेन पोखरामा नयाँ हो। जसले साइकल यात्रीलाई सहज र सुरक्षित बनाएको छ। तर, अव्यवस्थित पार्किङले भने साइकल लेनको औचित्यमा प्रश्न खडा गरेको छ।

पोखरामा सडकको एक खण्डमा मात्र पार्किङ गर्ने सुविधा छ। जसलाई महानगरले ठेक्काको रुपमा लगाएको छ।

सडकको अर्को तर्फ पार्किङ गर्न नपाउने नियम छ। सो छेउमा साइकल लेन बनाइएको हो। तर, बनेका साइकल लेनमा निजी सवारीसाधन र ट्याक्सी पार्क गरिन्छन्।

साइकल लेनमा नै बस स्टपको स्थान पनि हो। ठूलादेखि साना सवारीसाधन साइकल लेनबाटै गुड्छन्। बिहानको समयमा साइकल लेनमा फोहोरको थुप्रो उस्तै हुन्छ।

कास्की जिल्ला साइकल समिति संघका कार्यसमिति सदस्य तीर्थ अवस्थी साइकल लेनले सहज भएपनि अव्यवस्थित पार्किङ समस्या भएको बताउँछन्।

‘हामीसँग पहिले साइकल लेन थिएन। धेरै ठाउँमा चिठ्ठी पत्र गरिसकेपछि यो एउटा सुरुवात भएको हो जुन धेरै राम्रो हो। संरक्षण चाहीँ गर्नुपर्छ,’ उनले भने, ‘पार्किङले गर्दा अलिकति समस्या भएको छ। चालकहरु जिम्मेवार भइदिए सहज हुन्थ्यो। चुनावको मुखमा देखाउन झारा टार्ने मात्र गरेको भने नराम्रो हो। तर, बनेको लेनले सहज भएको छ। राम्रो हो।’

चुनावको केही दिनअगाडि मात्र जिरो किलोमिटर सडकखण्डदेखि चिप्लेढुंगासम्म साइकल लेन बनाइएको थियो। पोखरा महानगरको ३० लाख बजेट र साइकल सिटी पोखराको ५ लाख बजेट गरी ३५ लाखमा लेन बनाउने कार्य सुरु भएको हो।

पोखरा महानगरका सब-इन्जिनियर संकल्प ढुंगानाका अनुसार २६ सय मिटर सडकखण्डमा साइकल लेन बनाइएको छ। जुन 'लेक टु लेक कनेक्सन'को योजनाको सुरुवात हो।

उनका अनुसार साइकल मार्गबाट 'लेक टु लेक' जोड्न ८४ किलोमिटरको बाटोमा प्रस्तावित भएको छ। साइकल लेनमा समस्या बनिरहेको पार्किङमा पब्लिक पनि सचेत रहनुपर्ने ढुंगाना बताउँछन्।

‘बस पकेट बनाएर गर्दा बजेट भन्दा बढी हुन्छ। हाइवे लेनमा अलि व्यवस्थित गरिन्छ सिटी एरिया सामान्य बनाइएको छ। टड्कारो पार्किङ हो जसलाई साइकल सिटी र ट्राफिक कार्यालय मिलेर व्यवस्थापन गर्दै हुनुहुन्छ। मुख्य कुरा पब्लिक पनि सचेत हुनुपर्‍यो लेनमा पार्किङ गर्नुभएन,’ ढुंगानाले भने।

अहिले साइकल लेन भएको स्थानमा पार्किङ गर्न मनाही छ भनी बोर्ड झुण्ड्याइएको छ। तर, पनि बोर्ड छेउमै पार्किङ गरिरहेका गाडी देखिन्छन्। अव्यवस्थित पार्किङ हटाउन साइकल सिटी र ट्राफिक प्रहरी समन्वय गरिरहेका छन्।

साइकल सिटी पोखराका अध्यक्ष अभिषेक कोइरालाका अनुसार पार्किङको समस्या हल गर्न सम्बन्धित व्यक्तिहरुसँग समन्व्य भइरहेको छ।

‘अहिले हामी साइकल यात्रीलाई धेरै सहज भएको छ। समस्या भनेको पार्किङ हो। पोखरामा पहिलोचोटी भएर सबैलाई नलेज नहोला। हामी समन्वय गरेर गर्दैछौँ। ट्याक्सी व्यवसाय समिति र ट्राफिक प्रहरीसँग समन्वय गरेर यो समस्या चाँडै हल गर्दै छौँ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell