PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बाँकेमा किशोरीको सामूहिक बलात्कार घटनामा संलग्नहरुलाई हदैसम्मको कारबाही हुन्छ : गृहमन्त्री खाण



पहिलोपोस्ट

बाँकेमा किशोरीको सामूहिक बलात्कार घटनामा संलग्नहरुलाई हदैसम्मको कारबाही हुन्छ : गृहमन्त्री खाण

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले बाँकेमा १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरिएको घटनामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएका छन्। प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले घटनामा संलग्नहरुलाई हदैसम्मको कारबाही हुने पनि विश्वास दिलाए।

पीडितको उपचारको लागि स्थानीय प्रशासनले पूर्ण रुपमा मद्दत पर्‍याइरहेको उनको भनाइ थियो। उनलाई हाल ‘साथी’ संस्थाको आश्रयस्थलमा राखिएको जानकारी दिँदै खाणले संस्थालाई धन्यवाद पनि दिए।

उनले भने, ‘यस्तो सामूहिक बलात्कार, यौन हिंसाले प्रसय नपाओस्, त्यसका लागि यो घटनामा संलग्न भएकाहरुलाई हदैसम्मको सजायको माग गरी त्यही अनुसार नै आवश्यक निर्णय हुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु।’

यौन हिंसालाई कसरी दुरुत्साहित गर्ने, बलात्कार र सामूहिक बलात्कारमा प्रताडित भएका नारीहरुलाई सम्मानजनक जीवन जीउनको लागि वातावरण तयार गर्ने र त्यसका लागि आवश्यक परे अहिलेका कानुनी प्रावधानहरुलाई संशोधन र परिमार्जन गर्नुपर्ने कुरामा आफू सकारात्मक रहेको उनले बताए।

‘र, नेपाल सरकार पनि सम्बन्धित कानुनहरुलाई परिमार्जन गर्ने सम्बन्धमा सकारात्मक छ,’ उनले भने।

बाँकेमा १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा सात जना पक्राउ परेका छन्। सामूहिक बलात्कारमा संलग्न रहेको अभियोगमा वैजनाथ गाउँपालिकाका सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।

फेसबुकमार्फत चिनजान भएका १७ वर्षका हेमराज थारुले आफ्नो जन्म दिन मनाउन भन्दै भेट्न बोलाएपछि आएकी किशोरीलाई हेमराजलगायत सात जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ। किशोरीलाई सुरुमा बाँके-बर्दियाको सिमाना मानखोलाको जङ्गल र त्यसपछि वैजनाथस्थित एक टहरामा लगेर बलात्कार गरेको बताइएको छ।

मानखोलाको जङ्गलमा पाँच जना र टहरामा लगेर दुई जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ। प्रहरीले हेमराज, निराजन थारु, विक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको थियो।

इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका-५ चाइना इँटाभट्टा नजिक शङ्कास्पदरूपमा भे ३ प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई दुई पुरुषले मोटरसाइकलको बिचमा राखी हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएपछि घटना बाहिर आएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell