PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

फोहोर फाल्न स्थानीयको अवरोधपछि प्रहरीको धरपकड, सुरक्षाकर्मी परिचलान गरेर बञ्चरेडाँडा लगियो गाडी



पहिलोपोस्ट

फोहोर फाल्न स्थानीयको अवरोधपछि प्रहरीको धरपकड, सुरक्षाकर्मी परिचलान गरेर बञ्चरेडाँडा लगियो गाडी

काठमाडौं : विवादका कारण लामो समयदेखि थुप्रिएको उपत्यकाको फोहोर मंगलवारबाट उठाउन सहरी विकास मन्त्रालय, महानगरपालिका तथा आन्दोलनरत पक्षका तर्फबाट स्थानीय पालिकाबिच सहमति भएको छ। मंगलवार बिहानै फोहोर बोकेर नुवाकोटको बञ्चरेडाँडा पुगेका सवारी साधनलाई स्थानीयले अवरोध गरेका थिए। फोहोर बोकेका सवारीलाई अवरोध गरेपछि सुरक्षाकर्मी परिचालन गरेर फोहोर बञ्चरेडाँडामा लगिएको छ।

ठूलो सङ्ख्यामा पुगेका सुरक्षाकर्मीले आन्दोलनरत केही स्थानीयहरुलाई नियन्त्रणमा समेत लिएको छ। त्यस्तै, कडा सुरक्षा दिएर फोहोरका गाडीहरु प्रहरीले अगाडि बढाएको थियो। मंगलवार फोहोर व्यवस्थापन आयोजनाका निर्देशक रविन्द्र बोहरा, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, धुनीबेशी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल लगायतले हस्ताक्षर गरेका थिए। ककनी गाउँपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी शर्माले समझदारीमा हस्ताक्षर गरेका हुन्।

त्रिपक्षीय सहमति शहरी विकास मन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल तथा स्थानीय पालिकाका प्रमुख/उपप्रमुखको रोहबरमा भएको थियो। सहमतिमा मन्त्रालय, काठमाडौं महानगर र प्रभावित क्षेत्र तीनै पक्षले आ-आफ्ना प्रतिवद्धता जनाएका छन्।

मन्त्रालयले आर्थिक वर्ष २०७९/०८० मा ल्याण्डफिल साइट क्षेत्रमा सडक, नदी नियन्त्रण तथा वृक्षारोषण लगायतमा एक करोड ७० लाख रुपैयाँ विनियोजन गरेको उल्लेख छ। वातावरणीय प्रभाव मूल्याङ्कनपछि जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाउने मन्त्रालयले प्रतिवद्धता जनाएको छ। यस्तै, प्रभावित क्षेत्रका जनताका लागि १० बेडको अस्पताल निर्माणमा स्वास्थ्य मन्त्रालयलाई पहल गर्ने प्रतिवद्धता पनि शहरी विकासले जनाएको छ।

यस्तै, काठमाडौं महानगरले प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्य बीमा गर्ने प्रक्रिया एक साताभित्र थालनी साउन १ गतेदेखि फोहोरलाई स्रोतमै बर्गीकरणको प्रतिवद्धता पनि सहमतिमा महानगरले गरेको छ। यस्तै, प्रभावित धुनीबेशी तथा ककनी गाउँपालिकाले मंगलवारदेखि फोहोर बिसर्जनका लागि सहजीकरण गर्ने प्रतिवद्धता जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell