PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

गुर्जुधारामा बेथितिको दृश्य : टिनको छाप्रोमा इम्बोस्ड नम्बर प्लेट लिन भिड, ‘पैसा तिर्नु छ तै पनि दु:ख’

गुर्जुधारामा बेथितिको दृश्य : टिनको छाप्रोमा इम्बोस्ड नम्बर प्लेट लिन भिड, ‘पैसा तिर्नु छ तै पनि दु:ख’

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं :  केही दिनयता गुर्जुधारा क्षेत्रको दृश्य फेरिएको छ। टिनको छाप्रोमा रहेको सरकारी अड्डामा नाम लेखाउन बिहानैदेखि मानिसहरु लाइन बस्न पुग्छन्। आफ्नो सवारीसाधन लिएर पुगेका उनीहरु पुरानो नम्बर प्लेटको सट्टा नयाँ इम्बोस्ड नम्बर प्लेट लिनका लागि त्यहाँ पुगेका हुन्।

त्यही लाइनमा भेटिए दीपक ढुंगेल। भक्तपुर निवासी उनी सोमवार पनि गुर्जुधारा पुगेका थिए। बिहान ९ बजेदेखि लाइनमा बसे। तर, बेलुकी ६ बजेसम्म पनि काम सकिएन। कहिले कुन कागजात नभएको भन्दै कर्मचारीले रोक्ने त कहिले के। त्यसैले काम छाडेर फेरि उनी आज बिहानै गुर्जुधारामा लाइन बस्न पुगे।

‘फाइल खोज्न दिनभर लाग्यो। कर तिरेको रिसिद चाहियो फेरि। त्यो पनि नयाँ प्रिन्ट गरेर लिएर आउनुपर्‍यो,’ उनी अस्तव्यस्त व्यवस्थापनबारे थप भन्छन्, ‘२५०० बैंकमा डिपोजिट गर्न पर्छ। बैंककै डिपोजिटको भरमा नम्बर प्लेट दिने रहेछ। तर, त्यसको रसिद नपाउने रहेछ।’

आज बिहान फेरि ९ बजे गर्जुधारा पुगेका उनी बेलुकीसम्म काम नहुँदा अलपत्र देखिए।

सरकारले साउन १ गतेदेखि अनिवार्य रुपमा वाग्मती र गण्डकी प्रदेशमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने सूचना निकालेको छ। वाग्मती प्रदेशको एकान्तकुना-ललितपुर, गुर्जुधारा-काठमाडौं र गण्डकी प्रदेशको पोखरा-कास्कीमा रहेका यातायात कार्यालयहरुमा इम्बोस्ड नम्बर प्लेट वितरण भइरहेको छ। तर, कुनै तयारी बिना नै गरिएको निर्णय भन्दै हाल सदनदेखि सडकसम्म विरोध भइरहेको छ यो व्यवस्थाको। त्यसबिच यातायात कार्यालयमा भने नयाँ नम्बर प्लेट लिनेको लाइन लागेको छ। तर, व्यवस्थापन भने निकै फितलो देखिएको छ।

‘पैसा तिर्नु पनि छ। तै पनि दु:ख छ। यहाँका कर्मचारीलाई प्रोसेस सोधेको कसैलाई थाहा छैन। यो हालेर के हुन्छ भन्ने पनि थाहा छैन,’ दीपकले भने।

गुर्जुधारामा रहेको यातायात कार्यालयले टिनको छाप्रोमा इम्बोस्ड नम्बर प्लेट वितरण गरिरहेको छ। हाललाई यहाँ मोटरसाइकललाई मात्र नम्बर प्लेट दिइँदैछ। यहाँ भवन नै बनाउने योजना भए पनि पाँच वर्षदेखि त्यो काम हुन सकेको छैन। घर भाडामा लिएर सेवागाह्रीहरुको काम भइरहेको छ। त्यसैले अहिले जे छ त्यसैबाट काम चलाउनुपरेको कर्मचारी बताउँछन्।

आफ्नै भवन नहुनु र त्यसमाथि व्यवस्थापन चुस्त नहुँदा काम छाडेर यातायात कार्यालय पुगेकाहरुलाई भने सकस बढेको छ। अनि वर्षातको समयमा हिलो र धुलोले लाइन बस्नेहरुलाई थप समस्या परेको छ। मंगलवार झरीका कारण लाइन बसेकाहरु रेन कोट र छाताको सहारामा आफ्नो नामको पर्खाइमा भेटिए।

इम्बोस्ड नम्बर प्लेट लिएपछि फेरि अर्को सकस छ सेवाग्राहीलाई। नयाँ प्लेट लिएपछि त्यहीँ नै मोटरसाइकलमा त्यो प्लेट राख्नुपर्छ आफै। घर नै ल्याएर हाल्छु भनेर भन्न पाइँदैन। नयाँ प्लेट राखेको फोटो खिचेर त्यहाँ रुजु गर्न छुट्टै मानिस खटाइएको छ। जसकारण प्लेट लिएपछि फेरि मान्छे खोज्न हिँड्नुपर्ने धपेडी सेवाग्राहीलाई थपिएको छ।

‘एउटा फाइल एउटा कोठामा लगेर देखायो। अर्को गर्न कुन ठाउँ जाने हो खोज्दै हिँड्नुपर्छ। यो त जनतालाई दु:ख दिने काम मात्रै भयो,’ दीपकले भने।

यो पनि पढ्नुहोस् : विभागले परिमार्जन गर्‍यो निर्णय, मंसिरयता दर्ता भएका सवारीसाधनले मात्रै असारमै इम्बोस्ड प्लेट जोड्नुपर्ने 



ट्रेन्डिङ पोस्ट

Ncell