PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

विश्व बैंकबाट करिब साढे १२ अर्ब ऋण लिन वार्ता टोली गठन गर्ने, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय



पहिलोपोस्ट

विश्व बैंकबाट करिब साढे १२ अर्ब ऋण लिन वार्ता टोली गठन गर्ने, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं : सरकारले हाल परीक्षणका रुपमा लागू गरेको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको छ। जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै मंगलवार गृहमन्त्री बालकृष्ण खाँणले गत जेठ १ गतेबाट लागू हुनेगरी परीक्षणका रुपमा सुरुवात गरिएको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज भएको बताए।

गृहमन्त्री खाँणले शिक्षा र स्वास्थ्यमा व्यवहारिक नदेखिएकोले यो निर्णयलाई खारेज गरिएको बताए। त्यस्तै, सरकारले थाइल्याण्डमा आयोजना हुने गभर्नेन्स एण्ड एन्टीकरप्सन द मेथड एण्ड टुल्स बिहाइण्ड अन इफेक्टिभ करप्सन एर्डिकेशन स्ट्राटेजी विषयक तालिम कार्यक्रमको अनुगमन र समापन कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त द्वय किशोर कुमार सिलवाल र जयबहादुर चन्दलाई सहभागी हुन स्वीकृति दिने भएको छ।

सरकारले विश्व बैंकबाट हरित उत्थनशील समावेशी विकासका लागि सय मिलियन अमेरिकी डलर अर्थात करिब साढे १२ अर्ब रुपैयाँ सहुलयित पूर्ण ऋण सहायता लिन वार्ता टोली गठन गर्ने, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको रिक्त कार्यकारी निर्देशक पदमा शरदविक्रम राणालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

यस्ता छन् सरकारका निर्णयहरु :

१. विश्व बैंकबाट हरित उत्थनशील समावेशी विकासका लागि हुने सय मिलियन प्राप्त हुने अमेरिकी डलर करिब साढे १२ अर्ब रुपैयाँ सहुलयित पूर्ण ऋण, सहायता लिन वार्ता टोली गठन गर्ने।

२. व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको रिक्त कार्यकारी निर्देशक पदमा शरद विक्रम राणालाई नियुक्त गर्ने।

३. सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने।

४. तेजाव तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने।

५. हातहतियार खरखजाना ११ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने।

६. सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रकाशचन्द्र गौतमलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने।

७. नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने।

८. अस्ट्रेलियाको ब्रिसबेनमा आयोजना हुने एसिया प्यासिफिक निनिस्टेरियल कन्फ्रेन्स अन डिजास्टर रिस्क रिडक्शन कार्यक्रममा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने।

९. भारतको नयाँ दिल्लीमा हुने नेपाल-भारत सीमा व्यवस्थापन सम्बन्धि संयुक्त कार्यदलको १२ औँ बैठकमा नेपालको तर्फबाट गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रतिनिधि मण्डललाई भाग लिन स्वीकृति प्रदान गर्ने।

१०. प्रहरी नायब महानिरीक्षकहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने।

११. लुम्बिनी साँस्कृतिक नगरपालिकालाई अस्पताल भवन निर्माणार्थ सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने।

१२. गरिबी निवारण कोष सञ्चालक समितिको उपाध्यक्षको राजीनामा स्वीकृत गर्ने।

१३. रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश प्रतिस्थापन गर्ने विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने।

१४. फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास निर्माण समितिको अध्यक्ष पदमा सुवास बी. साही र सदस्य पदमा कल्पना दियाकोटीलाई मनोनयन गर्ने।

१५. नेपाल वायुसेवा निगमका महाप्रवन्धक तथा सञ्चालक सदस्य डिमप्रसाद पौडेललाई पदबाट हटाउने।

१६. औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने।

१७. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धि ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने।

१८. मानव अंग प्रत्यारोपण विकास समिति गठन तेस्रो संशोधन आदेश २०७९ स्वीकृत गर्ने।

१९. राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत सरजुकुमार वैद्यलाई नेपाल इन्जिनियरिङ सेवा सामुहिकीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा नियुक्ति गर्ने।

२०. लोकसेवा आयोगको सिफारिस बमोजिम निजामति सेवाको नेपाल वन तथा नेपाल शिक्षा सेवाका चार जनालाई राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहको पदमा नियुक्त गरी पदस्थापन गर्ने ।

२१. हाल परीक्षणको रुपमा लागू गरिएको एक हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सम्बन्धि निर्णय २०७९ असार १ देखि लागू हुने गरी खारेज गर्ने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell