PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

हत्या अभियोगमा पक्राउ परेका वडाध्यक्षसहित तीन जनालाई थुनामा राख्न अदालतको आदेश



रासस

हत्या अभियोगमा पक्राउ परेका वडाध्यक्षसहित तीन जनालाई थुनामा राख्न अदालतको आदेश

रुकुमपूर्व : रुकुमपूर्वमा एक महिलाको हत्या अभियोगमा पक्राउ परेका वडाध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ। रुकुमकोट जिल्ला अदालतका न्यायाधीश सनतचन्द्र लवटको इजलासले रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-११ का नवनिर्वाचित वडाध्यक्ष कुमारसिं बुढासहित तीन जनालाई थुनामा राख्न आदेश दिएको हो।

सोमवार वडाध्यक्षसँगै सोही वडाका निवर्तमान वडाध्यक्ष जयबहादुर बुढा र उनका भाइ अर्जुन बुढालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले पुथा उत्तरगङ्गा गाउँपालिका-१० की ३९ वर्षीया दुँठी बुढा भन्ने जुनमाया बुढाको हत्या अभियोगमा उनीहरूलाई कारागार चलान गर्ने आदेश भएको बताए।

बैशाख १९ गते पुथा उत्तरगङ्गा गाउँपालिका-१० तकसेरामा स्थानीय निर्वाचन प्रचारप्रसारका क्रममा भएको विवाद मिलाउन जाँदा जुनमाया बुढालाई माओवादी कार्यकर्ताले अपहरण गरेर हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो।

उनीहरूसहित नाम नखुलाइएका २० जनाविरुद्ध २० गते किटानी जाहेरी परेको थियो भने २८ गते तीन जनालाई पक्राउ गरिएको थियो। वडाध्यक्षमा विजयी भएका कुमारसिं बुढा मतदानको अवधिमा पनि प्रहरी हिरासतमै थिए।

अपहरणमा परेकी बुढालाई खोज्ने क्रममा स्थानीयले तकसेरादेखि करिब चार किलोमिटरमाथि जङ्गलमा शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए। मृतक जुनमाया बुढाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लिएर परीक्षण गरिएको थियो।

जेल चलान भएका बुढा गत बैशाख ३० गते भएको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन्। उनी मतदान हुनुअघि नै पक्राउ परिसकेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell