
चितवन: घैलाघारी सामुदायिक बनमा बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२३ घौलाघारी बस्ने ५५ वर्षीया मङ्गली बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सामुदायिक बनमा आज दिउँसो निहुरो टिप्न गएका ४ जनामध्ये बोटेलाई बाघले आक्रमण गरेको हो।
बाघको आक्रमणमा परी मृत्यु भएकी महिलाको शव भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। योसँगै चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालू आर्थिक वर्षमा बाघको आक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन्।