
काठमाडौं: चीनको हाङझावमा हुने एसियाली खेलकुदलाई लक्षित गरी खेलाडीको पहिलो चरणको प्रशिक्षण आजबाट सुरु हुँदैछ। मंगलवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंक लाल घिसिङले विशेष प्रशिक्षणको त्रिपरेश्वरस्थित राखेपको कभर्डहलमा प्रशिक्षणको उद्घाटन गर्दै सम्बन्धित खेलका समन्वयकर्तालाई खेल सामाग्री पनि हस्तान्तरण गरेका थिए।
आजबाट सुरु हुने प्रशिक्षणमा विभिन्न २३ खेलका ५ सय १४ खेलाडी र ६६ प्रशिक्षक गरी ५ सय ८० जना समावेश हुने छन्। खेलाडीमा २ सय ३० पुरुष र २ सय ८४ महिला छन्।
खेलहरुमा तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल (थ्री बाइ थ्री), फेन्सिङ, ह्यान्डबल, कबड्डी, टेबलटेनिस, भलिबल, ब्याडमिन्टन, क्रिकेट र सुटिङ रहेका छन्। यी खेलका खेलाडी छनोट गर्न प्रारम्भिक छनोट प्रतियोगिता पनि आयोजना भएको थियो।
पहिलो चरणको विशेष प्रशिक्षण असार २३ गतेसम्म सञ्चालन हुने छ। दोश्रो चरणको छनोट असार २४ देखि २७ गतेसम्म हुनेछ। प्रशिक्षणका लागि विज्ञहरु पनि परिचालन गरिने राखेपले जनाएको छ।