PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

जिसस पर्सामा भाँडियो गठबन्धनको एकता, सभापतिमा सहमति नजुट्दा जसपाले रोज्यो एमाले



राधेश्याम पटेल

जिसस पर्सामा भाँडियो गठबन्धनको एकता, सभापतिमा सहमति नजुट्दा जसपाले रोज्यो एमाले

वीरगंज : जिल्ला समन्वय समिति पर्साको सभापतिलगायत अन्य पदको लागि जनता समाजवादी पार्टी(जसपा)ले एमालेसँग तालमेल गर्ने भएको छ। काङ्ग्रेस र जसपा दुबैले जिससको सभापतिमा दाबी नछाडेपछि स्थानीय तहमा भएको गठबन्धन भाँडिएको हो।

गठबन्धन भाँडिएपछि काङ्ग्रेसले लोकतन्त्रिक समाजवादी पार्टी(लोसपा)सँग तालमेल गरेर उम्मेदवारी दर्ता गरेको छ। जेठ २७ गते हुने जिससको निर्वाचनमा मंगलवार दुबै प्यानलले उम्मेदवारी दर्ता गरिसकेका छन्। सभापति, उपसभापति र ७ सदस्यीय गरी ९ सदस्यीय जिल्ला समन्वय समितिमा जसपा - एमालेको संयुक्त प्यानलबाट जसपाले सभापति र तीन सदस्य र एमालेले उपसभापति र चार सदस्य पाउने गरी भागबन्डा गरेको छ।

जसपाको तर्फबाट सभापति पदमा निरञ्जनसाह सोनार भन्ने अजय सर्राफ, सदस्यहरूमा विजय कुर्मी, वयन्ती देवी, रेखा साह भन्ने राजपतिदेवीले उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा एमालेबाट उपसभापतिमा पूरन साह, सदस्यहरूमा सलीम मियाँ अन्सारी, सुशीला कामी, श्रीकान्तीदेवी थरुनी, रामप्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन्।

यता नेपाली काङ्ग्रेस र लोसपाको गठबन्धनले सभापतिमा सरोज चौरसिया, उपसभापतिमा कुमारी सोनी, सदस्यहरूमा सन्दीप साह, मनोज रौनियार, महमुद राय, महिला सदस्यमा वसन्ती थरुनी, सीतादेवी थरुनी, भागवतीदेवी धिताल र प्रेममुखिया बिनले उम्मेदवारी दर्ता गराएको वीरगंज महानगरको मुख्य मतदान अधिकृतको कार्यालयले जनायो। पर्सामा १४ स्थानीय तहका प्रमुख, उपप्रमुख गरी २८ जना मतदाता रहेका छन् जसमध्ये अहिलेको संयुक्त प्यानल जसपा र एमाले गठबन्धनको पक्षमा १५ र काङ्ग्रेस र लोसपा गठबन्धनको पक्षमा १३ मत हुने बताइएको छ। यदि काङ्ग्रेस-लोसपा प्यानलले २ मत आफूतिर तान्न सके नतिजा उल्टिन सक्छ। यसका लागि काङ्ग्रेस नेताहरुले प्रयास जारी राखिएको बताइएको छ।

अहिलेसम्म विभिन्न चरणको चुनावमा जसपा र काङ्ग्रेस एक भई चुनाव लड्दै आएकोमा समन्वय समितिको चुनावमा फरक गठबन्धन गरेपछि नेताहरुबीच विवाद शुरु भएको हो। महानगर र वीरगंज मनपाको कार्यसमिति सदस्यको छुट्टाछुट्टै निर्वाचनमा काङ्ग्रेस र जसपाले आआफ्नो उम्मेदवारलाई जिताएका थिए भने जिससको निर्वाचनमा काङ्ग्रेस र जसपा फरक धारमा गएपछि जिल्ला नेतृत्वका नेताहरूबीच विवाद चुलिएको छ। काङ्ग्रेस र जसपाले सभापति पद छोड्न नमानेपछि दुबै दलबिच सहमति हुन नसकेको हो। यसवर्षको चुनावमा जसपाले प्रमुख, उपप्रमुखमा काङ्ग्रेस भन्दा कम सिट जिते पनि सभापतिको जिद्दी गरेपछि कुरा बिग्रेको काङ्ग्रेसका नेताहरु आरोप लगाउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell