PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रेमले रंगिएको कृष्ण र लक्ष्मीको संसार, ४० वर्षअघि पोखरा आएका जोडीको कथा



रिना थापा

प्रेमले रंगिएको कृष्ण र लक्ष्मीको संसार, ४० वर्षअघि पोखरा आएका जोडीको कथा

पोखरा : लेक साइडको खहरे चोकबाट थोरै दायाँपट्टि छ एउटा ठिक्कको सटर। कृष्ण र लक्ष्मीको संसार त्यसमै समेटिएको छ। सटरभित्र पस्ने बित्तिकै कुर्सी र टेबल देखिन्छ। टेबल छेवैको पर्दा पछाडि छ बेड। त्यसको ठीक अगाडि भान्छाका सामान। यी सामान घरको भान्छाको प्रयोजनका लागि मात्र होइन। रेष्टुरेन्ट चलाउने सामान पनि अटाएर राखेका छन् उनीहरुले।

चार दशकभन्दा बढी समय बितिसकेको छ दुवैले रेष्टुरेन्ट संचालन गरेर बसेको। धमिलिएका छन् दुवैका यादहरु। त्यसैले ठ्याक्कै कुन साल पोखरा आए याद छैन उनीहरुलाई। यहाँ पुगेका सबैलाई मीठो मुस्कानका साथ स्वागत गर्छन् उनीहरु। यो जोडीको कथा भने बेजोडको छ। ४० वर्षअघि काठमाडौंबाट भागेर आएका हुन् उनीहरु- अन्तरजातीय बिहे गरेर।

‌+++

गुरुङको घरमा जन्मिएकी लक्ष्मी। ब्राह्मण परिवारमा हुर्किएका कृष्ण। लक्ष्मीका माइला दाइ कृष्णका असाध्यै मिल्ने साथी। बानेश्वर बस्ने कृष्ण बेलाबेला लक्ष्मीको घर डिल्लीबजार पुगिरहन्थे। साथीलाई भेट्न जाँदा कृष्णको नजर लक्ष्मीसँग जुधिरहन्थ्यो।

त्यही क्रममा हो कृष्णले लक्ष्मीलाई मन पराउन थालेको। साथीलाई भेट्ने निहुँमा कृष्ण लक्ष्मीको घरमा धाइरहन थाले। अर्कातिर लक्ष्मी पनि कृष्णलाई मन पराउन थालिसकेकी थिइन्। माइला दाइले कृष्णको कुरा गरेको सुनेरै प्रभावित थिइन् लक्ष्मी।

‘मेरो माइला दाइको साथी। आउने बस्ने खाने। माइला दाइले मात्र राम्रो मान्थ्यो। दाइले सोझो छ, राम्रो छ भन्थ्यो। केटा ठीक छ तेरो लागि भन्ने। घरमा आउँदाआउँदै मलाई पनि मनपरिसकेको,’ विगत सम्झिए लक्ष्मीले मुस्कुराउँदै सुनाइन्।

घरका अरुलाई भने उनीहरुबिचको सम्बन्ध स्वीकार्य भएन। सानैमा अभिभावक गुमाएका कृष्ण मामाघरमा बस्दै आएका थिए। दुवैको परिवारले कृष्ण र लक्ष्मीलाई सम्बन्ध गाँस्न दिएनन्। 

अन्तत: प्रेमका लागि दुवैले घर छाड्ने निधो गरे। दुवैको विद्रोह थियो प्रेमका लागि। विश्वासका साथ छाडेर घर, थामेर हात, कृष्णसँग पोखरा आइन् लक्ष्मी। कृष्णले पनि लक्ष्मीको विश्वास तोडेनन्। बुढेसकालमा रहेको यो जोडी अहिले पनि एकअर्काको भरपर्दो सहारा बनिरहेको देखिन्छ उमेर ७० भन्दा परतिर लाग्दा पनि।

पोखराको यात्रा... 

घर छोडेर हिँड्दा लक्ष्मीकी हजुरआमाले हातमा केही रुपैँया दिएकी थिइन्। केही समय आरामले चल्ने भए पनि दुवैले भोलिका लागि सोचे। ड्यामसाइडमा त्रिपालमुनि सानो चिया पसल राखे। सुनौलो भविष्यको खासै चिन्ता थिएन लक्ष्मीलाई। अन्य भौतिक सुख र सुविधाभन्दा कृष्णको साथ प्यारो थियो लक्ष्मीका लागि।

फेवा छेउको लेकसाइड फेरियो। फेवाको मुहार बदलियो। बिल्डिङ ठडिए। त्रिपाल लगाएर सुरु गरेको चिया पसल रेष्टुरेन्टमा परिवर्तन भयो। रेष्टुरेन्टको नाम रह्यो 'सन वेलकम कृष्ण एण्ड लक्ष्मी फेमली रेष्टुरेन्ट।' कसरी रह्यो त यस्तो नाम?

‘हामी आउँदा केही थिएन। एउटा जग्गा भाडामा लिएर पाल टाँगेर सुरु गरेको। जाडोको बेलामा गोराहरु बाहिर बस्थे,' रेस्टुरेन्टको न्वारन कसरी भयो सुनाए कृष्णले, 'भित्र बस्न भन्दा उनीहरु 'सन सन' भन्थे त्यसपछि सन वेलकम रेष्टुरेन्ट भयो।’

यसबिच उनीहरु ड्यामसाइड हुँदै गौरीघाटबाट खहरे सरे। खहरेमा बसिरहेको ठाउँ छ महिना अघिमात्र छोडेर त्यसको केही पर सरे। लकडाउनको समयमा समस्या खेप्नुपर्‍यो दुवैले। बिना आम्दानी पचास हजार महिनाको भाडा बुझाउँदा गाह्रो नहोस् कसरी? वर्षदिनको सम्झौता सकिएपछि भाडा थपिने भयो। सर्नुको विकल्प देखेनन्।

‘पहिलाको ठाउँ अहिलेको भन्दा ठूलो थियो। सम्झौता सकियो। भाडा पनि बढायो। दुई सालको लकडाउनमा भाडा तिर्दातिर्दा गाह्रो भयो,’ कृष्णले सुनाए, ‘त्यहाँ छोडेर यता आएको २० हजारमा। यहाँ पनि गोराहरु आउँछन्। नेपाली भाइहरु पनि आउँछन्। घर चलाउनका लागि पुग्छ।’

+++

बाटोमा लागेको ठेसलाई मायाले पन्छाउँदै हिँड्दै छन् उनीहरु। ‘हाम्रो कुनैदिन पनि झगडा भएन। त्यस्तो झगडा कलह केही भएन। कहिले रिसाउने पनि होइन ऊ। सोझो छ ऊ रिसाउँदैन,’ कृष्णतिर मायालु नजरले हेर्दैन लक्ष्मी बोलिन्।

एक अर्काको साथमा रमाइरहेका उनीहरुलाई परिवारको कमी महसूस भएन। पोखरा आएको केही समयपछि काठमाडौंमा परिवार भेट्न पुगेका थिए दुवै। पछि दाइहरु पनि विदेशिए। जाने बाटो बन्द। अहिले परिवारको कसैसँग सम्पर्कमा छैनन् दुवै।

‘हामी तीनवटा दाजुभाइ हो। एउटा दिदी हो। दाइहरु बिट्रिस आर्मीमा भर्ती भएर गए उतै। अहिले तीनवटै दाइ बितिसके। दिदी पनि छैन। दिदीको छोराछोरी छन् विदेशमा। उनीहरु पनि आउँदैनन्, हामी पनि खोज्दैनौं,’ लक्ष्मीले भनिन्। 

जब एक्लो हुन्छिन् लक्ष्मी ...

परिवारको कमी महसुस कहिल्यै नगरेकी लक्ष्मीलाई कृष्ण बिरामी हुँदा भने एक्लो महसुस भएछ। कहिल्यै बिरामी नपरेका कृष्णलाई एक्कासी मुटुमा समस्या देखियो। हो, त्यही समय हो लक्ष्मीले एक्लो महसुस गरेको।

मन खोलिरहेकी लक्ष्मीले साढे दुईवर्ष अगाडिको घटना सम्झिदै भनिन्, ‘बिरामी भयो। मणिपाल लगेँ। ६ दिनपछि होश आएको थियो। तीन महिना प्यारालाइसिस भएर बसेको। दुई जनालाई मात्र धेरै गाहो भयो त्यतिबेला।’

कृष्णको साथ छुट्ने डर थियो लक्ष्मीको मनमा। त्यतिखेरको कुरा गर्दा आँखा टिलपिलाए उनका। डाक्टरले आशा मारिसकेका थिए। कृष्णलाई होश नआएपछि डाक्टरले बिरामीलाई घर लैजान नभनेका होइनन्। घर ल्याएर पनि एक्ली लक्ष्मीले के नै गर्थिन् र? अस्पतालमै राख्ने निधो गरिन्। बिरामीलाई केही भए अस्पताललाई दोष आउने डर देखाए डाक्टरले। तर, लक्ष्मीले जिद्दि छाडिनन्।

‘बाँच्छ भन्ने सोचेको पनि थिएन डाक्टरले। कागज लिएर आएर सिग्नेचर गरेर परिवारमा कोको छ बोलाउ, तिम्रो मान्छे यहाँ नराख, पैसा खर्च नगर भन्थ्यो,’ आँखा रसाउँदै लक्ष्मीले भनिन्। 

डाक्टरले आशा मार्दा लक्ष्मीको प्रेमले हार मानेन्। अन्तत ६ दिनपछि होस आयो कृष्णको। होस त आयो। तर, दुवै खुट्टा चलेन।

‘मेरो ऊ हो। उसको म हो। हाम्रो कोही छैन। हामीलाई भगवानले हेर्छ। केही भए म कसैलाई दोष लगाउदिन। म एक्ली के नै गर्छु र?,' अस्पतालमा यसै भनिन् उनले कृष्णलाई जोगाउन।

तीन महिना अस्पताल बसेर फर्किए कृष्ण। औषधि उपचार गरेपछि ठीक भयो। कहिलेकाहीँ घुँडामा समस्या देखेबाहेक अरु समस्या छैन। औषधिले भर दिएकै छ।

त्यसो त लक्ष्मीको पनि आँखामा समस्या छ। दुईवटा आँखामा लेन्स हालेको छ। हेर्न असहज हुन्छ उनलाई। बिरामी भए दुवै सोझै मणिपाल नै जान्छन्।

कृष्ण र लक्ष्मीको सुखको संसारमा कहिलेकाहीँ समस्याको हावाहुरी लाग्छ। तर पनि मिलेरै पार गर्छन्। फेरि लयमा फर्काउँछन् जिन्दगी। रेष्टुरेन्टमा आएका विदेशी ग्राहकले माया गर्छन् उनीहरुलाई। दुवैलाई आफ्नो देश लैजाने प्रस्ताव पनि गर्छन्। तर, मान्दैनन् उनीहरु। रेष्टुरेन्टमा आवश्यक परेका सामान ल्याइदिने विदेशी ग्राहक पनि छन् उनीहरुका। लक्ष्मीलाई घुमाउन पनि लगेका छन् कोहीले त। कृष्ण भने कहिँ जाँदैनन्।

कृष्ण रेष्टुरेन्टमै व्यस्त रहन्छन् र बाहिर निस्किन रुचाउँदैनन्। खाना बनाउने रुची कृष्णलाई भए पनि लक्ष्मी भने जान्दिनन्। शाकाहारी कृष्ण लक्ष्मीलाई भने मासु पकाएर खुवाउन झिँजो मान्दैनन्।

कृष्णलाई पनि नयाँनयाँ परिकार बनाएर खुवाउन मनपर्छ। विदेशीहरुले ल्याइदिएको र आफूले किनेको किताब पढ्दै नयाँनयाँ परिकार बनाउने कोसिस गर्छन्। रेष्टुरेन्टमा जे अर्डर आयो त्यहीँ हेर्दै बनाउँछन् उनी। उनको हातको स्वादलाई पनि मनपराउँछन् आउनेले।

‘सुरुमा आउँथेन। किताब पढ्दै बनाउँथे। कोही विदेशी सम्झेर फर्किफर्कि आउँछन्,’ भिजेको पुरानो किताब देखाउँदै कृष्णले भने।

+++

कृष्णको भिजेको किताबको पनि अलग कथा छ। केहीवर्ष अघि खहरेमा गएको बाढीमा कृष्ण र लक्ष्मीको ज्यान भाग्यले जोगिन पुगेको थियो। मध्यरातमा सशस्त्र प्रहरीले उद्धार गरेर नयाँ जीवन पाएका हुन् उनीहरुले। ज्यान जोगिए पनि सामान हराए। लुगादेखि भाँडाकुँडासम्म जोर्न पर्‍यो फेरि। त्यहीँ बाढीको हिलोमा पुरिएको थियो कृष्णको खाना पकाउन सिकाउने किताब।

‘बाढी आएर भित्र पुरेको थियो। सशस्त्र आएर साढे दुई बजे राती निकालेको,’ हातमा किताब समाउँदै उनले भने, ‘यो त झन् माटोमा पुरेको थियो। हामीले खोदलेर निकालेको।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell