PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

जिल्लामा प्रतिभा तिखार्दै महिला भलिबलको सफलताका सारथी



पहिलोपोस्ट

जिल्लामा प्रतिभा तिखार्दै महिला भलिबलको सफलताका सारथी
नेपाली महिला भलिबल टोलीलाई राखेपको कभर्ड हलमा अभ्यास गराउँदै  प्रशिक्षक भट्ट। फाइल फोटो

महेन्द्रनगर : पछिल्लो केही वर्षयता नेपाली महिला भलिवल टोलीको सफलता लोभलाग्दो छ। एसियन सेन्ट्रल जोन र दक्षिण एसियाली खेलकुदमा महिला टोलीले हात पारेको सफलता लोभलाग्दो त छ नै यसले महिला भलिबलप्रति नै नेपाली समर्थकको ध्यान खिचेको छ।

कुनै पनि क्षेत्रमा पनि सफलता सहजै मिल्दैन। कठिन संघर्ष गर्नु नै पर्छ। यस्तै खेल क्षेत्रमा निरन्तरको मेहनत र संघर्षले सफल प्रशिक्षकका रुपमा परिचित भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले कञ्चनपुरको महेन्द्रनगरमा खेलाडी उत्पादनका लागि थालेको अभियान लोभलाग्दो छ।

आफू खेलाडी हुँदाको समयमा १२ वर्ष राष्ट्रिय पुरुष टिमबाट थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका प्रशिक्षक भट्टले पछिल्लो समय नेपाली महिला टिमले अन्तर्राष्ट्रिय प्रतियोगितामा पाइरहेका एकपछि अर्को उपाधिले चर्चामा छन्। कारण उनले पछिल्ला वर्षमा नेपाली राष्ट्रिय महिला टिम सम्हाल्दै आएका छन्।

'खेलाडी जीवनबाट संन्यास लिएर प्रशिक्षकका रुपमा अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउन थालेको पनि २९ वर्षभयो' उनले भने, 'अझै नेपाली भलिबल टिमलाई अन्तर्राष्ट्रियस्तरमा सफलता दिलाउने गरी योजनाका साथ अघि बढेका छौँ।'

महिला टिमको प्रशिक्षक भएपछि काठमाडौँमा व्यस्त हुने उनी बिदामा गृहनगर आउँदा पनि भलिबलको विकास र खेलाडी उत्पादनमै समय खर्चन्छन्।

कञ्चनपुरको महेन्द्रनगरस्थित कवर्डहल परिसरमा प्रशिक्षक भट्ट र जिल्ला भलिबल संघको पहलमा नेपाली सेनाले २०६१ सालमा प्रशिक्षक केन्द्र निर्माण गरिदिएको छ। प्रशिक्षक केन्द्रको विकाससँगै पछिल्लो समय भलिबल प्रशिक्षण केन्द्रसमेत यहाँ निर्माण गरिएको छ।

नेपाली महिला भलिबल टोलीलाई राखेपको कभर्ड हलमा अभ्यास गराउँदै प्रशिक्षक भट्ट। फाइल फोटो


अहिले भलिबलका लागि आवश्यक ‘हाइट’ भएका खेलाडी यहाँ नियमित प्रशिक्षणरत छन्। खेलाडी जीवनदेखि नै खेलाडीलाई बढी सयम दिँदै आउनुभएका प्रशिक्षक भट्टकै सक्रियतामा महेन्द्रनगरले हरेक वर्ष सयौँ नयाँ प्रतिभावान खेलाडी जन्माइरहेको छ।

खेलाडी हुँदादेखि प्रशिक्षक हुँदासम्म सफलताले चर्चामा रहदै आएका प्रशिक्षक भट्टले यहाँ खेलाडीको हितका लागि गरेका पहल सकरात्मक रहेको छ। साथै उनी खेलाडी छात्राबास निर्माणको पहलमा छन्।

'अभाव र प्रभावसित जुधिरहेका खेलाडीलाई प्रशिक्षण केन्द्रमै राखेर प्रशिक्षण गराउने उद्देश्यले खेलाडी छात्राबास निर्माणको पहलमा छौँ' उनले भने, 'अहिले पनि प्रशिक्षक केन्द्रमै बसेर २०/२२ जना खेलाडी प्रशिक्षण गरिरहेका छन्।'

स्तरीय प्रशिक्षण मात्रै होइन, खेलाडीको वृत्तिविकासका लागि पनि भट्टले खेलाडीलाई निःशुल्क अध्ययनको प्रबन्ध मिलाएका छन्।

यहाँका क्याम्पस र विद्यालयमा प्रशिक्षक भट्टकै आग्रहमा ६० जना खेलाडी निःशुल्क अध्ययन गर्छन्।

'पोखरा, काठमाडौँ र बुटबलसम्म खेलाडीलाई अध्ययनको व्यवस्था मिलाएको छु' उनले भने, 'खेल्ने र विपन्न समुदायका जेहेन्दार विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्थापन गरिँदै आएको छ।' रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell