काठमाडौं : नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले अर्थ मन्त्रालयको प्रस्तावलाई सञ्चार मन्त्रालयले ‘कोल्याप्स’ गरिदिएको बताएका छन्। प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकहरूमाथिको छलफलका क्रममा उनले आफ्नो धारणा राख्दै अर्थ मन्त्रालय र सञ्चार मन्त्रालयबिच तालमेल नभएको कुरा उठाएका हुन्।
अर्थ मन्त्रालयले कुनै पनि सरकारी निकायमा नयाँ सवारी साधन खरिद नगर्ने भनेको भन्दै उनले सञ्चार मन्त्रालयले भने आफ्नो विनियोजन शिर्षकको पहिलो बुँदामै सवारी साधन किन्ने भनेर उल्लेख गरेको बताए।
‘अर्थमन्त्रीले जुँगामा ताउ लाउँदै ताली खानुभो, योवर्ष कुनैपनि सरकारी निकायमा नयाँ सवारी साधन खरिद गरिने छैन भन्दा। तर, सञ्चार मन्त्रालयले आफ्नो विनियोजन शिर्षकको पहिलो बुँदामै ४ वटा मोटरसाइकल, ७ वटा स्कुटर किन्ने भनेर उल्लेख गरिएको छ। यस्तो देखियो, कि सञ्चारमन्त्री झूट हो वा अर्थमन्त्री झूट हो। मेरो विचारमा अर्थ मन्त्रालयको प्रस्तावलाई सञ्चार मन्त्रालयले कोल्याप्स गर्दियो।’
उनले नीतिगत रुपमा हेर्दा यो नीति तथा कार्यक्रममा प्राथमिकता दिएर हेर्नुपर्ने केही पनि नभएको टिप्पणी गरे।
‘जति नहुनु पर्ने ति सबै छन्। जे जति हुनुपर्ने हो र प्राथमिकता दिनु पर्ने हो ति केही पनि छैनन्। जस्तो कि डिजिटाइजेसनको कुरा छ, अघिल्लो सरकारले डिजिटाइजेसनको फ्रेमवर्क बनाएको छ। डिजिटल नेपालको फ्रेमवर्क बनाएको छ। विश्व बैंकले समेत ठूलो लगानी गर्ने आश्वासन दिएको थियो। आज त्यो कहाँ पुग्यो थाहा छैन।’