PahiloPost

Jul 4, 2024 | २१ असार २०८१

फोहोर फाल्ने विषयमा बञ्चरेडाँडामा प्रहरी र स्थानीयबिच झडप



पहिलोपोस्ट

फोहोर फाल्ने विषयमा बञ्चरेडाँडामा प्रहरी र स्थानीयबिच झडप

काठमाडौं : फोहोर फाल्ने बिषयलाई लिएर नुवाकोटको बञ्चरेडाँडामा प्रहरी र स्थानीयबिच झडप भएको छ। काठमाडौंबाट फोहोर लिएर बञ्चरेडाँडा पुगेको सवारीसाधानलाई स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरको हो। त्यसपछि स्थानीय र प्रहरीबिच झडप हुँदा स्थिती तनावग्रस्त बनेको प्रहरीले जानकारी दिएको छ।

'स्थानीयसँग झडप हुँदा केही तनावग्रस्त भएको बुझिएको छ। प्रहरीले स्थिति नियन्‍त्रणमा लिने प्रयास गरिरहेको छ,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी सन्तोषसिंह राठौरले भने।

मंगलवारबाट फोहोर उठाउन शहरी विकास मन्त्रालय, महानगरपालिका तथा प्रभावित क्षेत्रका पालिकाबिच सहमति भएको थियो। बुधवार बिहानै फोहोर बोकेर नुवाकोटको बञ्चरेडाँडा पुगेका सवारी साधनलाई स्थानीयले अवरोध गरेका थिए। ठूलो सङ्ख्यामा पुगेका सुरक्षाकर्मीले आन्दोलनरत केही स्थानीयहरुलाई नियन्त्रणमा समेत लिएको थियो। त्यस्तै, कडा सुरक्षा दिएर फोहोरका गाडीहरु प्रहरीले अगाडि बढाएको थियो।

मंगलवार फोहोर व्यवस्थापन आयोजनाका निर्देशक रविन्द्र बोहरा, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, धुनीबेशी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल लगायतले हस्ताक्षर गरेका थिए। ककनी गाउँपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी शर्माले समझदारीमा हस्ताक्षर गरेका थिए।

त्रिपक्षीय सहमति शहरी विकास मन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल तथा स्थानीय पालिकाका प्रमुख/उपप्रमुखको रोहबरमा भएको थियो। सहमतिमा मन्त्रालय, काठमाडौं महानगर र प्रभावित क्षेत्र तीनै पक्षले आ-आफ्ना प्रतिवद्धता जनाएका छन्।

मन्त्रालयले आर्थिक वर्ष २०७९/०८० मा ल्याण्डफिल साइट क्षेत्रमा सडक, नदी नियन्त्रण तथा वृक्षारोषण लगायतमा एक करोड ७० लाख रुपैयाँ विनियोजन गरेको उल्लेख छ। वातावरणीय प्रभाव मूल्याङ्कनपछि जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाउने मन्त्रालयले प्रतिवद्धता जनाएको छ। यस्तै, प्रभावित क्षेत्रका जनताका लागि १० बेडको अस्पताल निर्माणमा स्वास्थ्य मन्त्रालयलाई पहल गर्ने प्रतिवद्धता पनि शहरी विकासले जनाएको छ।

यस्तै, काठमाडौं महानगरले प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्य बीमा गर्ने प्रक्रिया एक साताभित्र थालनी साउन १ गतेदेखि फोहोरलाई स्रोतमै बर्गीकरणको प्रतिवद्धता पनि सहमतिमा महानगरले गरेको छ। यस्तै, प्रभावित धुनीबेशी तथा ककनी गाउँपालिकाले मंगलवारदेखि फोहोर बिसर्जनका लागि सहजीकरण गर्ने प्रतिवद्धता जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell