
काठमाडौं : नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले मन्त्री हेरफेरको निणर्य बिहीवारसम्म कार्यान्वयनमा आउने दाबी गरेका छन्।
बुधबार संसद भवनमा पुगेका चौधरीले मन्त्री पदको सपथ ग्रहण बिहीबारसम्ममा गरिसक्ने बताएका हुन्। एकीकृत समाजवादीले शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीबाट पठाइएका सबै मन्त्रीलाई फिर्ता बोलाउनु निर्णय गरेको थियो। चौधरीलाई एकीकृत समाजवादीले शहरी विकास मन्त्रीका रुपमा सिफारिस गरेको छ। तर, उक्त निर्णय कार्यान्वयनमा आउन सकेको छैन।
जनता समाजवादी पार्टीको आन्तरिक समस्या सम्बोधन गर्नका लागि केही दिन समय मागेका कारण एकीकृत समाजवादीबाट मन्त्रीमा सिफारिस भएकाहरुको सपथग्रहण रोकिएको उनको दाबी छ।
‘पार्टीले निर्णय गर्यो। निर्णय गरिसकेपछि कार्यान्वयन हुन्छ। तर आज हामी पाँच दलिय गठबन्धन भित्रकै एउटा दल हो। एउटा पार्टी हो। हामीले सपथ ग्रहण गर्ने टाइम कन्फर्म गरिराख्दाखेरी जसपाका साथीहरुले केही दिन हामीलाई पनि पार्टी भित्रको आन्तरिक समस्या सम्बोधनको लागि केही समय चाहिन्छ भनेपछि केही समय केहीदिन ढिला मात्रै भएको हो। मन्त्री त सम्भवत्ः आज नभए भोलिसम्म फाइनल हुन्छ। आज भएन भने सपथग्रहण भोली पक्कै हुन्छ।’
उनले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसमा पनि मन्त्री हेरफेर गर्ने दबाब बढेको बताए। त्यसैले सबैलाई एकैपटक सपथ गराउनका लागि अध्यक्ष माधवकुमार नेपाल पनि सहमत भएको उनले बताए।
‘माओवादीभित्र पनि प्रेसर छ। कांग्रेसभित्र पनि प्रेसर छ। सबैले एकैपटक गरौँ भनेपछि ल दुई दिनभित्र टुंगिन्छ भनेपछि ठिकै छ नि त भनेर हाम्रो अध्यक्षले गर्नुभयो। यसलाई अपरिपक्व निर्णय भन्न मिल्दैन। सकभर आज नभए भोलि ग्यारेन्टी हुन्छ।’