PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

माओवादीमा पनि मन्त्री फेर्नुपर्ने बहस, एकीकृत समाजवादीका नेताहरु भने सपथ कुर्दै



पहिलोपोस्ट

माओवादीमा पनि मन्त्री फेर्नुपर्ने बहस, एकीकृत समाजवादीका नेताहरु भने सपथ कुर्दै

काठमाडौं : नेकपा एकीकृत समाजवादीले शेरबहादुर देउवा सरकारमा पठाएका सबै मन्त्रीहरु फिर्ता बोलायो। तर, निर्णय भएको चारदिन बितिसक्दा पनि सिफारिसमा परेकाहरुले सपथ लिन पाएका छैनन्।

स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्री रहेका विरोध खतिवडा,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले,शहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, कृष्णकुमार श्रेष्ठलाई एकीकृत समाजवादीले फिर्ता बोलाएको हो। उनीहरुको स्थानमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन,शेरबहादुर कुँवरलाई श्रम, भवानी खापुङलाई स्वास्थ्य तथा जनसङ्‌ख्या, मेटमणि चौधरी शहरी विकास र हिरा केसी स्वास्थ्य राज्यमन्त्रीका लागि सिफारिस भएका छन्। यी सबैजनाले बधाई खाए पनि सपथ लिन पाएका छैनन्।

सत्तारुढ दलभित्रका अन्य दलमा समेत मन्त्री हेरफेरको चर्चा भएको भन्दै एकीकृत समाजवादी आफूहरुको निर्णय छिट्टै कार्यान्वयन हुनेमा ढुक्क छ। शहरी विकास मन्त्रीका रुपमा सिफारिस भएका मेटमणि चौधरी भोलिसम्म आफूले सपथ लिने दाबी गरिरहेका छन्।

जनता समाजवादी पार्टीको आन्तरिक समस्या सम्बोधन गर्नका लागि केही दिन समय मागेका कारण एकीकृत समाजवादीबाट मन्त्रीमा सिफारिस भएकाहरुको सपथग्रहण रोकिएको उनको मत छ।

 ‘पार्टीले निर्णय गर्‍यो। निर्णय गरिसकेपछि कार्यान्वयन हुन्छ। तर आज हामी पाँच दलिय गठबन्धन भित्रकै एउटा दल हो। एउटा पार्टी हो। हामीले सपथ ग्रहण गर्ने टाइम कन्फर्म गरिराख्दाखेरी जसपाका साथीहरुले केही दिन हामीलाई पनि पार्टी भित्रको आन्तरिक समस्या सम्बोधनको लागि केही समय चाहिन्छ भनेपछि केही समय केहीदिन ढिला मात्रै भएको हो। मन्त्री त सम्भवत्ः आज नभए भोलिसम्म फाइनल हुन्छ। आज भएन भने सपथग्रहण भोली पक्कै हुन्छ।’

यता, नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्न आवाज उठिरहेको बताएका छन्। बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा पुनले माओवादी पार्टीमा पनि सरकारमा सहभागी मन्त्री बनेकाहरुलाई फेर्नुपर्ने आवाज उठेको बताएका हुन्।

नेकपा एकीकृत समाजवादीले मन्त्रीहरु फेर्ने निर्णय गरेसँगै माओवादी, जनता समाजवादी पार्टीमा पनि मन्त्री फेर्नेपर्ने आवाज उठिरहेको छ। एकीकृत समाजवादीले अन्य दलमा पनि मन्त्री फेर्नुपर्ने माग उठेकोले आफूले सिफारिस गरेका मन्त्रीहरु नियुक्त हुन ढिलाइ भएको बताइरहेका छन्।

मन्त्री फेर्न आवाज उठे पनि पार्टीभित्र भने यस विषयमा कुनै छलफल भने नभएको उनले बताए।

‘हाम्रोमा अहिलेसम्म कुनै छलफल भएको छैन। समाजवादीका साथीहरुले पुरै सेट फेरिसकेपछि हाम्रोमा पनि दबाब छ। कांग्रेसमा पनि दबाब छ। जसपामा दबाब छ। यो दबाबलाई नेताहरुले कति थेग्नुहुन्छ थाहा छैन। हाम्रो अझै छलफल सुरु भएको छैन। अहिले फेर्नुपर्छ कि भन्नेखालका आवाजहरु उठिरहेको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell