PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

आगामी निर्वाचनमा गठबन्धनको तयारीमा सिके राउतको जनमत पार्टी



पहिलोपोस्ट

आगामी निर्वाचनमा गठबन्धनको तयारीमा सिके राउतको जनमत पार्टी
फाइल फोटो।

जनकपुरधाम : डा सीके राउत नेतृत्वको जनमत पार्टीले तराई-मधेशमा गठबन्धनको निर्माण गर्ने भएको छ। जनकपुरधामस्थित पार्टीको केन्द्रीय सचिवालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले स्थानीय निर्वाचनको समीक्षा गर्दै आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धन गरेर अगाडि बढ्ने निर्णय गरेको नेता बीपी साहले जानकारी दिए।

स्थानीय निर्वाचनमा दुई/दुईवटा गठबन्धन रहेकोमा जनमत पार्टी एक्लै प्रतिस्पर्धामा उत्रिँदा अपेक्षित परिणाम आउन नसकेकोले आगामी निर्वाचनको लागि जनमत पार्टी अरू पार्टीसँग गठबन्धन गर्न खुल्ला रहने निर्णय गरेको उनले बताए।

राष्ट्रिय, प्रादेशिक, जिल्ला वा निर्वाचन क्षेत्रमध्ये कुनै स्तरमा गठबन्धन हुनसक्ने बताउँदै साहले भने, ‘कांग्रेस र कम्युनिस्टहरुले मधेशीहरुलाई बारम्बार धोका दिएकोले अब तराई-मधेश केन्द्रीत गठबन्धनसमेत हुन सक्नेछ।’

बैठकले गठबन्धन बनाएर किसान आन्दोलनलगायत तराई-मधेशका सवालमा संयुक्त आन्दोलन गर्ने निर्णय गरेको नेता साहले जानकारी दिए।

त्यसैगरी, नेपाल सरकारले किसान आन्दोलनको ११ बुँदे माग बजेट मार्फत् सम्बोधन गर्ने भनेर वार्तामार्फत् आश्वासन दिएकोमा किसान आन्दोलनका मागहरू सम्बोधन गर्नुको साटो मलखाद खरिद गर्न बजेटसमेत नबढाएको र किसानका समस्याहरू समाधान गर्न कुनै ठोस पहल नगरेकोले किसान आन्दोलनलाई पुनः अगाडि बढाउने निर्णय जनमत पार्टीले गरेको छ।

२०७८ पुस २९ गते जनमत पार्टीले नेपाल सरकारलाई बुझाएको १२ बुँदे मागहरू सम्बोधनका लागि संयुक्त रूपमा वृहत् मोर्चा निर्माण गरी आन्दोलनलाई अगाडि बढाउने निर्णय गरेको नेता साहले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell