PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

किसान मल नपाएर चिन्तामा, ५०० टन एक महिनादेखि भन्सारमै अलपत्र!



दिनेश खड्का

किसान मल नपाएर चिन्तामा, ५०० टन एक महिनादेखि भन्सारमै अलपत्र!

काठमाडौं : देशैभरका किसानले रासायनिक मलको चरम अभाव खेपिरहेका छन्। मकै लगाउँदा रासायनिक मल नपाएका किसानहरु धान लगाउने सिजनमा समेत मल नपाएपछि नजिकको बजार र सहकारीहरुमा घण्टौंसम्म लाइनमा बसेर रित्तो हात फर्कन बाध्य छन् यतिबेला।

यसरी वर्षभरको मुख्य बाली धान लगाउने सिजनमा समेत मलको हाहाकारले देशैभरका किसान बेचैन रहेको बेला पाँच सय टन युरिया भने गोदाममा थन्किएर बसेको फेला परेको छ।

मल नपाउँदा खेती कसरी लगाउने भन्ने चिन्तामा किसानहरु रहेका बेला ५ सय टन युरिया मल एक महिनादेखि तातोपानी भन्सार कार्यालयको सुक्खा बन्दरगाहको गोदाममा रहेको पाइएको हो।

चीनबाट व्यापारीहरुले खरिद गरेर ल्याएको मल भन्सार प्रक्रिया नै सुरु गर्न नआएका कारण थन्केर बसेको तातोपानी भन्सार कार्यालय प्रमुख नारद गौतमले बताए। उनका अनुसार ९ हजार ९ सय ७० बोरा मल गोदाममा थन्किएर बसेको छ। जुन करिव ५० वटा कन्टेनरले बोक्न सक्छ।

‘खरिद गरेर ल्याएको कम्पनीका प्रतिनिधिले भन्सार प्रज्ञापन पत्र नभर्दा मल रोकिएको हो। भन्सार शुल्क लाग्दैन। एउटा अनलाइन फारम भरे हुन्छ। बढीमा १५ मिनेटमा हामी प्रक्रिया सकेर पठाइदिन्छौ,’ उनले भने, ’किसानले मल पाएका छैनन्। यहाँ लामो समय राख्दा बिग्रेला भन्ने डर भइसक्यो।‘

लामो समयदेखि मल छुटाउन नआएपछि पटक पटक ताकेतासमेत गरेको पनि उनले बताए। ‘हामीले मौखिक रुपमा पटक पटक ताकेता गर्यौं। तैपनि कोही आएका छैनन्। अब हामी दुई-तीन दिनभित्र मल छुटाउन नआए नियमअनुसार अघि बढ्छौं भनेर पत्राचार गर्दैछौं,’ उनले भने।

६० दिनसम्म भन्सार प्रक्रिया क्लियर गर्न नआए नियमानुसार उक्त मल भन्सार कार्यालयले जफत गर्न मिल्छ।

सिल्कलगायत चारवटा कम्पनीले जेभी बनाएर मल आयात गरेका हुन्। कम्पनीले १० हजार मेट्रिक टन मल आयातको ठेक्का पाएको छ। उनीहरुले मल कृषि सामाग्री कम्पनी लिमिटेडलाई उपलब्ध गराउन मल खरिद गरेर ल्याएका हुन्। व्यापारीले सिधैं मल ल्याएर किसानलाई बेच्न पाउँदैनन्। सरकारी स्वामित्वको कम्पनीलाई दिएपछि भने ऊमार्फत व्यापारीले बेच्न पाउने बाटो छ।

‘यहाँ त मल कसको भन्ने भयो। कोही लिन नआएपछि कसलाई लोड गरेर पठाउने?,’ गौतम भन्छन्, ’भन्सार प्रक्रिया गर्न आए तुरुन्तै छाड्छौं।‘

बुधवार जनप्रतिनिधिहरुसँग मलको विषयमा छलफल भएको थियो। पूर्वमन्त्री मोहनबहादुर बस्नेत, बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत, भोटेकोसी गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष लगायतका जनप्रतिनिधिहरु भन्सार कार्यालय पुगेका थिए।

भन्सारमा मल थन्किएको तर किसानले नपाएको भन्दै सहजीकरण गरिदिने मागसहित उनीहरु भन्सार पुगेका थिए। किसानहरुले मकै छर्ने बेलादेखि घोगा लाग्ने बेलासम्म मल नपाउँदा मकै बिग्रन थालेको गुनासो गरेका छन्। अब मुख्य बाली धान लगाउने बेला पनि मल नपाउँदा छटपटिएका छन्।

‘किसानले मल पाएका छैनन्। यसैले गोदाममा थन्किएर बसेको देखेर आक्रोसित छन्। अब त मल जोगाउन नै गाह्रो होला जस्तो छ,’ गौतमले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell