PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

काठमाडौं महानगरको मेयर नजित्दा खल्लो भएको प्रकाशमानको भनाई, 'पार्टीलाई संस्थागत नगरे अझ कठिन दिन आउँछ'



पहिलोपोस्ट

काठमाडौं महानगरको मेयर नजित्दा खल्लो भएको प्रकाशमानको भनाई, 'पार्टीलाई संस्थागत नगरे अझ कठिन दिन आउँछ'

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय निर्वाचनमा काठमाडौं जिल्लामा कांग्रेसको स्थिति बलियो भएको बताएका छन्। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ९ भित्रका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद दिन आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले उक्त भनाई राखेका हुन्।

महानगरको मेयरमा जित निकाल्न नसकेपछि क्षेत्र नम्बर ९ र काठमाडौंका अन्य स्थानीय तहदेखि महागनरको वडामा कांग्रेसको उपस्थिति राम्रो भएको उनको भनाई थियो।

'भर्खरै सम्पन्न निर्वाचनमा काठमाडौं क्षेत्रले राम्रो गरेको छ। काठमाडौं जिल्लाले राम्रो गरेको छ। खल्लो हामलाई चै महानगरपालिकाको मेयरले जित्न नसकेको मात्र हो,' कार्यक्रममा सिंहले भने, 'तर ३२ वडामा १९ वडा त अध्यक्ष जितेकै छ। त्यतिमात्र हैन विभिन्न नगरपालिकामा अधिकांशमा हाम्रै छ। नगरपालिकाको कार्यपालिकाको प्रतिनिधित्व गर्नेमा गठबन्धनबाट हाम्रै नेतृत्व छ।' महानगरमा कांग्रेसबाट सिर्जना सिंह मेयरको उम्मेदवार रहेकी थिइन्।

नेता सिंहले कांग्रेस बहुदलीय प्रजातन्त्रमा विश्वास गर्ने पार्टी भएको उल्लेख गर्दै नीतिगत रुपमा अघि बढ्नुपर्ने बताए। 'कांग्रेसले विशेष ध्यान दिनुपर्छ भने समय सधैं एकैनासले चल्दैन। १७ सालमा गुमेको जनताको अधिकार ४६ को जनआन्दोलनले प्राप्त गर्‍यो,' उनले भने, 'पार्टीको विशेषता भनेको चाहि मल्टीपार्टी डेमोक्रेसीमा विश्वास गर्ने पार्टी हो।'

सिंहले पार्टीलाई विधिसम्मत तरिकाले अघि लान नसके आउँदो दिन कठिन हुनेसमेत बताए।

'समयको माग बमोजिम मैले भनिरहेको कुरा के हो भने डेमोक्रेटिक पार्टी भएर पनि नीतिसँगत अगाडि बढाउनुपर्छ भनेर भनिरहेको छु। १० औं महाधिवेशनबाट अहिले पनि यही मुद्दा उठाइरहेको छु,' उनले भने, 'बहुदल आएपछि पनि जुन रुपले अघि बढ्नुपर्ने हो त्यसमा अझै गृहकार्य गर्न आवश्यक छ। समयको मागबमोजिम हामीहरुले नेपाली कांग्रेस पार्टीलाई संस्थागत गरेर विधिसम्मत नियमसम्मत तरिकाले लान सकेन भने यो भन्दा कठिन दिन आउने प्रबल सम्भावना रहेकोले तपाईहामी सबैले जो नेतृत्वमा हुनुहुन्छ केन्द्रदेखि स्थानीय लेभलसम्मको नेतृत्वले सबैको ध्यान जाओस्।'

जनप्रतिनिधिलाई सिंहले अर्को चुनावी तयारीका लागि राम्रो काम गर्नसमेत सुझाव दिए।

'एउटा माघले जाडो जाँदैन। अर्को पटकको लागि पनि ख्याल गर्नुहोला,' उनले भने ‘जनताले विश्वास गरेका छन्, जनताको अझ बढी विश्वास जितेर काम गर्नुस्। आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्नुस्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell