PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

प्रहरी महानिरीक्षक नियुक्ति विवाद : आइजीले बिदा अस्वीकार गरे पनि एआइजी पोखरेल हाजिर नहुने !



पहिलोपोस्ट

प्रहरी महानिरीक्षक नियुक्ति विवाद : आइजीले बिदा अस्वीकार गरे पनि एआइजी पोखरेल हाजिर नहुने !

काठमाडौं : प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल अदालतमा रहेको मुद्दा नटुङ्गिएसम्म हाजिर नहुने भएका छन्।

एआइजी पोखरेलले बुधबार घर बिदाको लागि दिएको निवेदन अस्वीकृत भएको थियो। एआइजी पोखरेलले बुधवार १० दिनको घर बिदा माग्दै निवेदन दिएका थिए। प्रहरी महानिरीक्षक (आइजी) धिरज प्रताप सिंहले पोखरेलको बिदा अस्वकार गरेका थिए। उनको बिदा अस्वीकृत भएको नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए।

सरकारले आइजीमा धीरज प्रताप सिंहलाई बढुवा गरेपछि एआइजी पोखरेल घर बिदामा बसेका थिए। उनको बिदा बुधवारबाट सकिएको थियो।

'कानुनी रुपमा मुद्दा नटुङ्गिएसम्म उहाँ बिदामा नै बस्नु हुनेछ,' एआइजी पोखेरल निकट एक कानुन व्यवसायीले भने। कनिष्ठलाई आइजी बनाएको भन्दै अदालतमा पोखरेलले निवेदन दिएका थिए। एउटै ब्याचका चार जना एआइजीहरू आइजीको प्रर्तिस्पर्धामा थिए।

२०७७ मंसिरमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका भएका थिए। त्यस्तै, ७ महिनापछि पोखरेलपछि डीआइजी सहकुल थापालाई पनि सरकारले एआइजीमा बढुवा गर्‍यो। त्यसको ९ महिनापछि फेरि तीन जना एआइजीको पद थपेर बढुवा भए। डीआइजी वसन्त पन्त, दोस्रोमा धीरजप्रताप सिंह र तेस्रोमा रवीन्द्र बहादुर धानुक बढुवामा परेका थिए। जसमा सरकारले धीरजप्रताप सिंहलाई महानिरीकमा नियुक्ति गरेको थियो।

सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले दुई दिन भएको बहसपछि जेठ १७ गतेदेखि पूर्ण सुनुवाइमा लैजाने आदेश दिएको थियो। १७ गते मुद्दा स्थगित गरिएको थियो। अर्को इजलास जेठ ३० गतेलाई तोकिएको छ।

एआइजी कार्यालयमा उपस्थित नभए कानुनी प्रक्रियाबाट विभागिय कारबाही गर्ने प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। प्रहरी नियमावलीको परिच्छेद ८ मा बिदाको व्यवस्था गरिएको छ। घर बिदा भने प्रहरी कर्मचारीले प्रत्येक वर्ष ३० दिनका दरले पाउँछन्। प्रहरी निरीक्षक र सोभन्दा माथिल्लो प्रहरी अधिकृतलाई घर बिदा एक तहमाथिको कार्यालय प्रमुखले दिने व्यवस्था रहेको छ। एआइजी पोखरेललाई आइजी शैलेश थापा क्षेत्रीले घर विदा स्वीकृत गरेका थिए। अब भने उनको बिदा आइजी धिरजप्रताप सिंहले नै गर्नुपर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell