PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

संसदमा शून्य समय : पब्जीमाथि प्रतिबन्ध लगाउनुपर्नेदेखि विपद् व्यवस्थापनमा ध्यान दिन सांसदहरुको माग



पहिलोपोस्ट

संसदमा शून्य समय : पब्जीमाथि प्रतिबन्ध लगाउनुपर्नेदेखि विपद् व्यवस्थापनमा ध्यान दिन सांसदहरुको माग

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मनसुन सुरु भइसकेकाले विपद्जन्य घटना तथा त्यसबाट उत्पन्न हुने असर न्यूनीकरणमा सरकारको ध्यानाकर्षण गराएका छन्। शून्य समयमा सांसदहरूले विगतमा विपद् प्रभावितले अझै पनि राहत नपाएको स्मरण गराउँदै अहिले पनि धेरै क्षेत्रमा बढी पानी पर्ने आकलन भइसकेकातर्फ ध्यानाकर्षण गराएका हुन्।

सांसद दामोदर भण्डारीले विगतमा सुदूरपश्चिमका पहाडी जिल्लाका भीषण बाढीबाट प्रभावित भएकाहरूलाई उचित व्यवस्थापन र राहत उपलब्ध गराउन माग गरे। अर्का सांसद दीपक प्रकाश भट्टले गतवर्ष महाकालीमा आएको बाढीले त्यसआसपासका धेरै क्षेत्रमा क्षति पुर्‍याएको भए पनि राहत नपाएको बताए। उनले फेरि वर्षा सुरु भइसकेकाले त्यहाँका जनता थप त्रसित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद दुर्गा पौडेलले वर्षा सुरु भइसकेको र मौसम विभागको अनुमानअनुसार धेरै ठूलो वर्षा हुने आँकलन सार्वजनिक भएको सन्दर्भमा गम्भीर तयारीमा लाग्न सरकारसँग माग गरिन्।

यस्तै, सांसद दिलकुमारीले किसानलाई मल पानीको जरुरी हुने भन्दै उपलब्ध गराउन सरकारसँग माग गरिन्। साथै अनलाइन पब्जी खेल बन्द गर्न पनि उनले माग गरेकी छिन्।

सांसद दिव्यमणि राजभण्डारीले सार्वजनिक बिदा दिने र हटाउने कुरा आफूखुसी नगरी उपयुक्त नियम कानुन बनाई दीर्घकालीनरूपमा लागू हुने परिपाटी बसाउन ध्यानाकर्षण गराएका छन्। सांसद दुर्गाबहादुर राउतले सरकारले न्यूनतम ज्याला तोकेको भए पनि महिला स्वयंसेविकालगायतको तलब वृद्धि नभएको भन्दै ध्यानाकर्षण गराए।

उनले पुस्तक नपुगेका जिल्लामा तत्काल पुस्तक पुर्‍याउन माग समेत गरेका छन्। सांसद नवीना लामाले पनि पुस्तक अभाव किन भयो भनी सरकारसँग प्रश्न गरेकी छिन्।

सांसद देवेन्द्रराज कँडेलले नागरिकता विधेयक पेश गर्न माग गरे भने सांसद नवराज सिलवालले संसद्मा उठेका विषयमा सरकार गम्भीर नभएको आरोप लगाएका छन्। स्वास्थ्यमा देखिएको विकृति नियन्त्रण गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको शून्य समयमा सांसद प्रकाशमान सिंहले काठमाडौंको फोहर व्यवस्थापन र बजारभाउ नियन्त्रण गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। उनले स्कुल जाने समय र सरकारी कार्यालय संचालनको समय फरक गर्न आग्रह समेत गरेका छन्। उनले ट्राफिक व्यवस्थापनको नयाँ योजना अघि बढाउँदै उचित व्यवस्थापन गर्नेपर्ने आवश्यकता भइसकेको बताए।

सांसद देवप्रसाद गुरुङले मध्यपहाडी लोकमार्गको लमजुङ क्षेत्र, मर्स्याङ्दी करिडोरको सडक निर्माण अवरुद्ध भएको तथा चेपे करिडोरको बाटोसमेत अघि बढ्न नसकेको भन्दै ती सडक शीघ्र अघि बढाउन ध्यानाकर्षण गराएका छन्।

सांसद टेकबहादुर बस्नेतले किसानलाई मल दिन सरकारसँग माग गरे भने डिला सङ्ग्रौलाले फोहरले काठमाडौँ दुर्गन्ध भएको, युवाले रोजगार नपाएको, कानुनको शासन हुन नसकेको, विद्यार्थीलाई पढ्ने पाठ्यपुस्तक नभएको, महँगी बढ्दो क्रममा रहेको तथा हत्या, हिंसा, बलात्कार प्रभावितले न्याय नपाउने अवस्था आएकाले उचित सम्बोधन गर्न सरकारसँग माग गरिन्।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न चार मन्त्रालयका विविध शीर्षकमाथिको छलफल जारी छ। बैठकमा खानेपानी, अर्थ, रक्षा र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell