PahiloPost

Jun 27, 2024 | १४ असार २०८१

काठमाडौंमा फोहोर संकटकाल !



पहिलोपोस्ट

काठमाडौंमा फोहोर संकटकाल !
बुधवारको झरीले जमल क्षेत्रमा बगाएर ल्याएको फोहोर

काठमाडौं : काठमाडौं उपत्यकाका सडक अहिले फोहोरले भरिएका छन्। स्थानीय तह निर्वाचन अघि देखि काठमाडौंमा फोहोर उठ्न कम भएको थियो। बिचमा केही समय फोहोर उठे पनि त्यसले निरन्तरता भने पाउन सकेन।

पहिला काठमाडौं उपत्यकाका नगरहरुको फोहोर सिसडोलमा फालिन्थ्यो। अहिले भने बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर बिसर्जन गर्ने कार्य भइरहेको छ। तर, सिसडोलमा झै स्थानीयले बञ्चरेडाँडामा फोहोर लग्न अवरोध गरेपछि काठमाडौंको फोहोर उठ्न सकेको छ।

शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका लगायत काठमाडौंका अन्य पालिकाका प्रतिनिधिहरु र प्रभावित क्षेत्रका जनप्रतिनिधिबिच फोहोर फाल्ने सहमति भए पनि स्थानीयले त्यो मानेका छैनन्। संघर्ष समितिले आफूहरुको माग पूरा हुने सुनिश्चित हुनुपर्ने र सहमतिमा आफूहरुलाई संलग्न नगराइएको भन्दै फोहोर फाल्न अवरोध गरेको हो।

काठमाडौंमा फोहोर नउठ्दा अहिले दुर्गन्ध बढिरहेको छ भने सरुवा रोग लाग्ने खतरा पनि बढेको छ। गल्ली र चोकमा फोहोरको थुप्रो छ। त्यसमाथि वर्षाका कारण फोहोर बग्दै मुख्य सडकसम्म पुगेको छ।

काठमाडौंमा फोहोर नउठेपछि प्रतिनिधिसधामा पनि यो मुद्दाले प्रवेश पाएको छ।  

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विविध शीर्षकमाथिको छलफलमा भाग लिँदै नेकपा एमालेका सांसद भीम रावलले काठमाडौँको फोहर व्यवस्थापन नहुँदा फोहर संकटकालको स्थिति उत्पन्न भइसकेको बताएका छन्।

उनले फोहर व्यवस्थापनको विषयलाई महानगरको टाउकामा थोपरेर सरकारले दायित्वबाट पन्छिन नहुने बताएका छन्। जनताको स्वास्थ्यमा खेलवाड नगर्न भन्दै उनले काठमाडौँको फोहर सफा गरेर देखाउन सरकारसँग माग गरेका छन्।

यस्तै, प्रतिनिधिसभाको शून्य समयमा सांसद प्रकाशमान सिंहले काठमाडौंको फोहर व्यवस्थापनको मुद्दा उठाए। उनले फोहोर व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्। सांसद डिला सङ्ग्रौलाले भने फोहोर नउठेको भन्दै सरकारसँग प्रश्न गरेकी छिन्। फोहोरका कारण काठमाडौं दुर्गन्धित बन्दै गएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएकी थिइन्।

बुधवार नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पनि काठमाडौंको फोहोर व्यवस्थापनमा संघीय सरकारले सहयोग गर्नुपर्ने बताएका थिए। शहरी विकास मन्त्रालय र महानगरले गरिरहेको काममा मद्दत गर्नु सबैको कर्तव्य भएको भन्दै उनले यी दुई वटा निकायले चाहेर मात्रै पनि गर्न सम्भव नभएको बताएका थिए। ‘यसको पहल कदमी प्रधानमन्त्रीले लिनुपर्छ’ उनले भनेका थिए।

यस्तै, नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौँको फोहर तत्काल व्यवस्थापन गर्न सरकारसँग माग गरेका थिए।

बुधवार नै उनले लामो समयदेखि काठमाडौंमा दुर्गन्ध र फोहरले राजधानीवासी आजित भइसकेको भन्दै तत्काल समाधान खोज्न आग्रह गरेका थिए। श्रेष्ठले सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिबिच सहमति भए पनि फोहर फाल्न नदिने प्रवृत्ति दोहोरिएको भन्दै त्यहाँका जनताको माग सम्बोधन गर्न माग समेत गरेका थिए। उनले फोहर नउठे अब काठमाडौँका जनता चुप लागेर नबस्ने भन्दै फोहर व्यवस्थापनका लागि बल प्रयोग गरेर नभई सहमति र समझदारीका साथ समाधान खोजिनुपर्नेमा जोड दिएका थिए।

यस्तै, अन्य सांसदहरुले पनि काठमाडौं उपत्यकामा फोहोरको समस्या बढिरहेको भन्दै हिजो र आजको बैठकमा सरकारको ध्यानाकर्षण गराइरहेका छन्। उनीहरुले संघीय सरकारले नै फोहोर व्यवस्थापनको लागि पहल गर्नुपर्ने माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell