PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

राष्ट्रिय सभामा सरकारलाई प्रश्नैप्रश्न : पुस्तक कहिले सम्म पाइन्छ? शिक्षा मन्त्रालय किन मौन?



पहिलोपोस्ट

राष्ट्रिय सभामा सरकारलाई प्रश्नैप्रश्न : पुस्तक कहिले सम्म पाइन्छ? शिक्षा मन्त्रालय किन मौन?

काठमाडौं : राष्ट्रिय सभा सदस्य इन्दु कडरियाले तराईमा तरकारी खेतीका लागि प्रतिबन्धित गरिएको विषादी प्रयोग गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन्।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै कडरियाले तराईमा तरकारी बालिमा सरकारले प्रतिबन्ध गरेको विषादीको प्रयोग बढेको बताएकी हुन्। उनले प्रतिबन्धित विषाधी प्रयोगमा रोग लगाउन सरकारसँग माग समेत गरिन्।

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले भने स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई विभिन्न तालिमको नाममा अल्झाउने काम नगर्न सरोकारवालाहरुलाई आग्रह गरेका छन्। उनले गोष्ठि र उद्घाटनको नाममा कार्यालय छाडेर हिँड्ने परम्परा राज्यका हरेक निकायमा रहेको उल्लेख गर्दै अनावश्यक गोष्ठि र उद्घाटनमा नरमाउन पनि आग्रह गरे।

यस्तै, दिलकुमारी रावल थापाले विद्यार्थीहरुले हालसम्म पाठ्यपुस्तक नपाएको भन्दै कसको कारणले पाठ्यपुस्तकमा ढिलाई गरिएको हो सरकारले जवाफ दिनुपर्ने बताइन्।

‘शिक्षाको ठुलो भार वहन गरि सामुदायिक विद्यालय पाठ्यपुस्तक अभावको कारण सम्बन्धित विद्यार्थी र अभिभावकहरुले प्रश्न गरिरहेका छन्। सरकार पुस्तक कहिले सम्म पाइन्छ? अझै लामो समय विद्यार्थीको हातमा पुस्तक पाइने अवस्था छैन। यो अवस्था किन र कसको कारणले? कसको कमजोरीले भएको हो? तुरुन्त छानविन गरियोस्। कमजोरी गर्ने निकायले जिम्मेवारी लिनुपर्‍यो। छपाई र वितरणको जिम्मेवारी जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र किन गैरजिम्मेवार बन्दैछ? शिक्षा मन्त्रालय किन मौन बस्दैछ? शिक्षामन्त्रीको ध्यानाकर्षण गराउन चाहान्छु,’ उनले भनिन्।

राष्ट्रिय सभा सदस्य नन्दा चपाईले गाउँमा उत्पादित तरकारी र फलफुल ढुवानी गर्न समस्या भएको उल्लेख गर्दै शहरमा ढुवानी गरेर ल्याउनका लागि सबै स्थानीय तहमा कृषि एम्बुलेन्सको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। प्रकाश पन्थले काठमाडौंमा फोहोरको डंगुर थुप्रिएको उल्लेख गर्दै यसले महानगर र सरकारलाई गिज्याइरहेको टिप्पणी गरे। काठमाडौंबासीलाई सभ्य हुन र ल्याण्डफिल साइटका जनतालाई संयमित हुन उनले अनुरोध गरेका छन्।

‘फोहोरको डंगुरले महानगर र सरकारलाई गिज्याइरहेको छ। राजधानीबासी सभ्य हुन सिक्नुहोस्। ल्याण्डफिल साइटका जनताहरु संयमित हुन सिक्नुहोस्। तीनै तहको सरकारहरु जिम्मेवार र जवाफदेही हुन सिक्नुहोस्। समस्याको जगमा उभिएर काम गर्नुहोस्।  सँगसँगै अगाडि बढ्नुहोस्। प्रभावित जनताको माग पनि सुन्नुहोस्,’ उनले भने।

यता, राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले गत वर्ष असोजमा प्राकृतिक प्रकोपबाट क्षति भएको धानको क्षतिपुर्ति सरकारले दिने भने पनि हालसम्म नदिएकाले किन ढिलो भएको भनि सरकारको ध्यानाकर्षण गराएका थिए। रामचन्द्र राईले भने त्रिभुवन राजपथ अलपत्र परेको भन्दै सो सडकलाई मर्मत गरेर सञ्चालन गर्नुपर्ने माग गरे। त्यसैगरी काठमाडौं आवत्जावतका लागि मदन भण्डारी मार्ग र कुलेखानी मार्गलाई पनि मर्मत सम्भार गर्नुपर्ने उनले बताएका थिए।

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले सरकारले विपद्को पूर्वतयारी के गरिरहेको छ भन्ने प्रश्न गरिन्। उनले आगामी दुई हप्ता विपद्को तयारी गर्नको लागि स्थानीय तहहरुसँग समन्वय गरेर अभियान सुरु गर्न सरकार सँग माग गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell