काठमाडौं : आठ कारोबार दिन लगातार ओरालो लागेको सेयर बजारमा बुधवार आएको उछाल बिहीवारसम्म पनि टिक्न सकेन। बुधवार ६० अंक बढेको बजार सूचक नेप्से बिहीवार पुनः १७.५८ अंकले घटेको छ।
सेयर बजारको निरन्तर घट्दो प्रवृत्तिले बियारिस ट्रेन्डको संकेत दिएपछि सेयर लगानीकर्ता किन्नेभन्दा बिक्री गर्न सक्रिय देखिन थालेका छन्। परिसूचकको फराकिलो वृद्धि बिक्री गर्ने उचित अवसरका रुपमा लगानीकर्ताले लिने गरेको बताएका छन्।
बिहीवार पुनः दोहोरो अंकको गिरावटपश्चात परिसूचक २०६२.८६ को विन्दुमा खुम्चिएको हो। बिहीवार पहिलो शत्रमा बजार सूचकले ३५ अंकको वृद्धि लिएको थियो। तर, बुधवार बजार बन्द हुँदाको ६० अंक र बिहीबार पहिलो शत्रको ३५ अंकसहित कुल ९५ अंकको वृद्धिलाई अवसरका रूपमा लिएर बजारबाट समयमै निस्किन खोज्नेहरुले स्क्रिप बेच्न थाल्दा उनीहरु बजारको निर्णायक बन्न पुगे।
‘बजार बियारिस दिशामा जाने आँकलन बजारमा सर्वत्र भेटिन्छ। जानकार, विश्लेषकदेखि सर्वसाधारण लगानीकर्ता समेत बजारले डाउन ट्रेन्डलाई नै निरन्तरता दिने अनुमान गर्छन्,’ बजारका एक सक्रिय लगानीकर्ताले भने, ‘तमाम बजारको सेन्टिमेन्ट बियरिस देखिन्छ। न लगानीकर्ताको मनोविज्ञान सकारात्मक हुन सकेको छ, न भने बजारको प्रदर्शनी नै।’
बिच-बिचमा बढ्ने गरेको बजार लामो समयदेखि सामान्य हरियो समेत हुन असमर्थ थियो। भारि करेक्सनपछि फराकिलो अंकले बढेको बजारलाई लगानीकर्ताले पोजिसन स्क्वायर अफ गर्ने अवसरस्वरूप लिन थालेको ती लगानीकर्ताको भनाइ छ।
आठ दिनको निरन्तर गिरावटले २१९ अंक गुमाएको परिसूचक बुधवार एकाएक ६० अंक अधिक बढ्यो। पछिल्लो आठ दिनमा गुमाएको २७ प्रतिशत अधिक अंश परिसूचकले एकै दिनको वृद्धिमा पुनरागमन लिन सफल भयो।
यद्यपि, दुई हजार विन्दुको टेवा परीक्षण गरेलगत्तै बाउन्सब्याक लिएको नेप्से परिसूचकले सय अंकको वृद्धिअगावै शक्तिशाली अवरोधको सामना गर्न पुग्यो। २१ सयको बाधा नेप्सेको वृद्धिमा पेचिलो देखिएको हो। २१ सयलाई पार गरेलगत्तै बिक्रेताको सक्रिय प्रदर्शनी बजारमा देखियो।
मध्यान्हसम्म सकारात्मक रहेको बजार सूचकले २११५ सम्मको यात्रा तय गरेको थियो। तर, सो विन्दुपछि परिसूचकमा देखिएको पुल ब्याकले अधिकांश बजारको सेन्टिमेन्टलाई नै बिगार्यो। बढ्न कोशिस गरेपनि परिसूचकको वृद्धि दिगो देखिएन।
डगमगाएको लगानीकर्ताको विश्वास सँगसँगै क्रमश नकारात्मक हुँदै गएको बजारको प्रस्तुतिले आगोमा घ्यु थप्ने प्रयत्न गर्यो। जसको परिणाम दोस्रो प्रहरमा बजारको प्रदर्शनी हेरेर किन्ने योजना बनाएकाहरु बिक्री गर्न हतारिए। निरन्तर जारी उतार चढावबिच बुधवार नेप्से परिसूचक दोहोरो अंकले गुम्यो।
विकास बैंक, वित्त, होटल तथा पर्यटन, अन्य र जलविद्युत अन्तर्गतका सेयरमा सृजना भएको तीव्र बिक्रीले परिसूचकलाई एक प्रतिशत अधिक तल धकेलेको छ। यी उपसमूह बुधवारको कारोबारका सबैभन्दा बढी घटे। औसत २ प्रतिशत अधिकको गिरावट यी पाँच उपसमूहमा देखिन्छ।
जलविद्युत उपसमूह डेढ प्रतिशत अधिक घट्दा आज यसअन्तर्गतको सिंगटी हाइड्रोको सेयर मूल्य सर्वाधिक घटेको छ। समिट लघुवित्तका लगानीकर्ताले पनि पाँच प्रतिशतभन्दा धेरै गुमाए।
कारोबारमा आएका अधिकांश उपसमूहले औसत एक प्रतिशतभन्दा धेरै गुमाएका छन्। परिणामस्वरूप १६० वटा कम्पनीको सयर मूल्य घटेको छ। परिसूचकको तीव्र गिरावटका बाबजुद ३१ वटा कम्पनीको सेयर मूल्य भने बढेको पाइयो।
बढेकामध्ये सर्वाधिक कमाउने उपकार लघुवित्त र बलेफी हाइड्रोका सेयर लगानीकर्ता छन्। यी दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।