
बलेवा : जिल्ला समन्वय समिति बागलुङको प्रमुखमा अमर थापा चयन भएका छन्। थापासहित उपप्रमुखमा होमनाथ शर्मा र सदस्य पदमा गठबन्धनका उम्मेदवार सर्वसम्मत चयन भएका हुन्।
जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका अनुसार आज २ बजेसम्म सत्ता गठबन्धनका उम्मेदवारबाहेक कसैको पनि उम्मेदवारी नपरेकाले प्रमुख र उपप्रमुखसहित नौ जना सदस्य सर्वसम्मत चयन भएको सहायक निर्वाचन अधिकृत गङ्गाधर सापकोटाले बनाए।
राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेदवारी दिएका थापा र नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका शर्मासहित जिल्ला समन्वय समितिमा चार दलको सहभागिता छ। सदस्यमा महिला सदस्य नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएकी हरिकला पौडेल, एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दिएकी जशोधा शर्मा र राष्ट्रिय जनमोर्चाबाट उम्मेदवारी दिएकी धनकुमारी खत्री सर्वसम्मत चयन भएका छन्।
अल्पसङ्ख्यक दलित सदस्यतर्फ कांग्रेसका उम्मेदवार कौशीला विक निर्वाचित हुँदा खुला सदस्यतर्फ माओवादी केन्द्रका तर्फबाट हर्कबहादुर पाण्डे, कांग्रेसका तर्फबाट टेकबहादुर अर्गेजा र पदमबहादुर क्षेत्री सर्वसम्मत निर्वाचित भएका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वसम्मत चयन भएका सबैलाई निर्वाचनका प्रक्रिया पूरा गरेर घोषणाको तयारी गरिरहेको सापकोटाले बताए।
बागलुङमा एउटामात्रै प्रमुख जितेको नेकपा एमालेले कुनै पनि पदमा उम्मेदवारी नदिएपछि सत्ता गठबन्धनमा रहेका दलहरुका बीचमा भएको सहमतिअनुसार उम्मेदवारी दिएका सबै सर्वसम्मत निर्वाचित भएका हुन्।