PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

गोरखामा बाढीले एक घर बगायो, सेरा बजार उच्च जोखिम



पहिलोपोस्ट

गोरखामा बाढीले एक घर बगायो, सेरा बजार उच्च जोखिम
File Photo

काठमाडौं : अविरल वर्षापछि आएको बाढी र पहिराले गोरखामा एक घर बगाएको छ भने १० घरमा क्षति पुर्‍याएको छ।  बाढी र पहिराले १० घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको हो। 

गएराति परेको मुसलधारे वर्षापछि आएको बाढीले पालुङ्टार नगरपालिका-६ मा केशरबहादुर थापाको घर पहिराले बगाएको हो। अविरल वर्षापछि चुतीखोलामा आएको बाढीका कारण अहिले पालुङ्टार-९ सेरा बजार उच्च जोखिममा रहेको वडाध्यक्ष भेजराज पाण्डेले जानकारी दिए। त्यस्तै सोही वडामा स्थानीय सरस्वती विक, खेलबहादुर गुरुङ, पदमबहादुर थापा, वीरबहादुर राना, ज्योति रानालगायतको घरमा पहिराले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ। छापथोक उखुबारीको बस्ती माथिबाट झरेको पहिराले पनि चार घर उच्च जोखिममा रहेको स्थानीय बासिन्दाले बताएका छन्। 

उखुबारीमा स्थानीय जगतबहादुर गुरुङ, रञ्जना गुरुङ, टेकबहादुर गुरुङ र सोमबहादुर गुरुङको घरमा पहिरो पसेको छ। पालुङ्टार–९ जोगीबेंसीमा राममाया कुँवरको घर पनि खहरे खोलाले क्षतिग्रस्त बनाएको छ। बाढीले जोगीबेंसीदेखि बिर्दीसम्मको करिब तीन हजार रोपनीभन्दा बढी खेत बगरमा परिणत भएको स्थानीयको भनाइ छ।

यता गोरखाको बारकिलो–छेवेटार–भालुस्वाराँ–बारपाक सडक खण्डमा पहिरोले क्षति पुगेको प्रहरीले जनाएको छ। सिरानचोक गाउँपालिका ७ र ८ मा पर्ने बिरालेझ्याङ र केराघारीमा पहिरो झर्दा सडक अवरुद्ध भएको छ। कानटारमा झरेको पहिरोले आँबुखैरेनी मनकामना सडक पनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell