
काठमाडौं : आजको मौसम प्रणालीमा नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव, पश्चिमी तथा मध्य भूभागमा स्थानीय वायुको प्रभावका साथै भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।
उक्त मौसमी प्रणालीको प्रभावले अहिले प्रदेश १, मधेश प्रदेश र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही, प्रदेश १, मधेश प्रदेश, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। राजधानी काठमाडौं उपत्यकामा बिहान पारिलो घाम लागेको छ। उपत्यकाको आकाशमा सामान्य तुवालो लागेको देखिन्छ।
दिउँसो प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा मधेश प्रदेशसहित अन्य प्रदेशका पहाडी भेगका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशभर वर्षा भइरहँदा विभिन्न स्थानमा पहिरो गएको छ। पहिरो गएपछि केही सडकहरु अवरुद्ध भएका छन्।
भासियो पृथ्वी राजमार्ग
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ ड्याम नजिक सडक भासिदा दुईतर्फी सवारी आवगमनमा अवरुद्ध भएको छ। सडक भासिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला परेको छ। मृतक दुवैको सनाखत हुन नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक गोकर्ण नेपालले जानकारी दिए।
पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ। गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको तलको भाग कटान गर्दा सडक भाँसिएर राजमार्ग अवरुद्ध बनेको हो। सडकको तलको भाग भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए।
घर पुरिँदा एक जना बेपत्ता
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-५ घिमिरेगाउँमा पहिरोले घर पुरिँदा एक जना हराएका छन्। घरमाथिबाट खसेको पहिरोले घर पुरिएपछि त्रिपुरासुन्दरी गाउँपालिका-५ घिमिरेगाउँका ५५ वर्षीय सीताराम भन्ने नेत्रप्रसाद खाण हराइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सूचना अधिकारी राम थापाले जानकारी दिए।
रातिको समयमा अविरल वर्षाका कारण भूकम्पबाट पुनर्निर्माण गरिएको घरमाथिबाट सडक खनेर थुपारिएको माटोको ढिस्कोसहितको लेदोले पुरिएको थियो। घरका अन्य सदस्य अर्को घरमा रहेकोले सकुशल रहेका छन्। खाणको अवस्था भने पत्ता लागेको छैन। पहिरोले घर छोपिएको छ।
ठूलो पहिरोले घर पुरिएको कारण उद्धारमा समस्या आएको छ। स्थानीय जनता, समाजसेवी र नेपाल प्रहरी उद्धारमा लागिरहेका छन्। घटनास्थल क्षेत्रमा जेसिबी जान नसकेको र थप उद्धार टोली आवश्यक भएको नेपाल रेडक्रस सोसाइटीका सभापति नारायण तिमल्सिनाले जानकारी दिए।
चिसोपानीका दुई घर उच्च जोखिममा
पहाडी जिल्लामा लमजुङको बेँसीशहर नगरपालिका वडा नम्बर २ चिसोपानीमा केही दिनदेखि परेको वर्षाले जमिन भासिदा यहाँका दुई घर उच्च जोखिममा परेको छ। गत २२ गतेदेखि जान थालेको पहिरो आज बिहान पनि थपिएसँगै जोखिम बढेको हो।
चिसोपानीदेखि बासपानी जाने सडकमाथिदेखि भासिएर लालबहादुर विक र शालिमा विकको घर नजिकै आइपुगेको र दैनिक पानी परेका कारण भासिने क्रम बढ्दै गएकाले उच्च जोखिममा पुगेको स्थानीयवासी हिरासिंह गुरुङले बताए। करिब ४० मिटर लामो पहिरो घरनजिकै आइपुग्न करिब दुई मिटर जति बाँकी भएकाले ती घरका परिवार त्रसित भएको उनको भनाइ थियो।
राति सुत्दा पनि डराई डराई सुत्ने गरेको र बढी पानी आउँदा रातभर जाग्राम बस्न थालेको पीडित लालबहादुरले बताए।
उनले भने, ‘विगत केही वर्षदेखि अलि अलि पहिरो जाने गरेको थियो तर यसवर्ष त ठूलो पहिरो नै गएर घर नै जोखिम बनाउँदा चिन्ता बढेको छ।’
त्यस्तै, रनबहादुर विकको घर गत २२ गते सोही पहिरोले भत्काएको थियो। घरमा कुनै मान्छे नबस्ने भएकाले त्यसबेला मानवीय क्षति भने भएन। यस्तै, हीरासिंह गुरुङकै कुखुराको फर्म र टनेल पनि जोखिममा परेको छ। सो पहिरोका कारण गत २२ गतेयता चिसोपानीदेखि बासँपानी जाने सडक नै अवरुद्ध भइरहेको छ।
गोरखामा बाढी-पहिरोले सडक अबरुद्ध
लगातारको अविरल वर्षापछि आएको बाढी र पहिरोले गोरखामा एक घर बगाएको छ भने १० घरमा क्षति पुर्याएको छ।
बाढी र पहिरोले १० घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। गएराति परेको मुसलधारे वर्षापछि आएको बाढीले पालुङ्टार नगरपालिका-६ मा केशरबहादुर थापाको घर पहिराले बगाएको हो। अविरल वर्षापछि चुतीखोलामा आएको बाढीका कारण अहिले पालुङ्टार-९ सेरा बजार उच्च जोखिममा रहेको वडाध्यक्ष भेजराज पाण्डेले जानकारी दिए।
त्यस्तै, सोही वडामा स्थानीय सरस्वती विक, खेलबहादुर गुरुङ, पदमबहादुर थापा, वीरबहादुर राना, ज्योति रानालगायतको घरमा पहिरोले क्षति पुर्याएको प्रहरीले जनाएको छ। छापथोक उखुबारीको बस्ती माथिबाट झरेको पहिराले पनि चार घर उच्च जोखिममा रहेको स्थानीय बासिन्दाले बताएका छन्।
यता, गोरखाको बारकिलो-छेवेटार-भालुस्वाराँ-बारपाक सडक खण्डमा पहिरोले क्षति पुर्याएको प्रहरीले जनाएको छ। सिरानचोक गाउँपालिका-७ र ८ मा पर्ने बिरालेझ्याङ र केराघारीमा पहिरो झर्दा सडक अवरुद्ध भएको छ। कानटारमा झरेको पहिरोले आँबुखैरेनी मनकामना सडक पनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो
चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको बाटो पुनः सञ्चालनमा आएको छ।
शुक्रवार बिहान पौने ९ बजे सुख्खा पहिरो खस्दा बाटो दुईतर्फी रुपमा अवरुद्ध भएको थियो। आज बिहान सवा ११ बजेदेखि अवरोध हटाएर बाटो सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरी अधिकारीले जानकारी दिए।
नाम्सीपुल छेवैमा सुख्खा पहिरो खसी दुईतर्फी बाटो बन्द भएकोले सवारी साधन तथा यात्रुहरु सुरक्षित स्थानमा रहन ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोध गरेको थियो। रासस