
काठमाडौं : घटेको एक साता पनि नपुग्दै सरकारले सार्वजनिक सवारीसाधनको भाडादर बढाएको छ। शुक्रवारदेखि लागू हुने गरी यात्रुवाहक सवारीसाधनको भाडा २.५ प्रतिशतले बढेको हो।
पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ३.३ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ३.७ प्रतिशत भाडा वृद्धि भएको छ। नेपाल आयल निगमले बिहीवार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल लिटरको ८ रुपैयाँ र डिजल १२ रुपैयाँ बढाएसँगै स्वचालित रुपमा सवारीसाधनको भाडा पनि बढेको हो।
मूल्य बढेसँगै पेट्रोल १७८ रुपैयाँ लिटर र डिजल १६५ रुपैयाँ प्रतिलिटर पुगेको छ। यसअघि, निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ घटाएपछि जेठ २० गतेदेखि यात्रुवाहक सवारीसाधनमा २ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.९ प्रतिशत भाडा घटाएको थियो।
बढेको भाडा दुई वा सो भन्दा बढी प्रदेश भई सञ्चालन हुने राष्ट्रिय रुटमा लागू हुनेछ। स्थानीय रुटमा सञ्चालन हुने रुटका लागि प्रदेश सरकारले निर्णय गर्नुपर्छ। इन्धनको बजार मुल्य ५ प्रतिशत वा सो भन्दा बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा बढ्ने वा घट्ने हुन्छ।