काठमाडौं : शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनको लागि ठूला ल्याण्डफिल्ड साइटको विकल्पमा साना व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताएकी छिन्। शुक्रवार शहरी विकास मन्त्रालयमा बञ्चरेडाँडावासीहरुसँग भएको छलफलमा मन्त्री झाँक्रीले विकल्प खोज्नुपर्ने बताएकी हुन्।
उनले ठूला ल्याण्डफिल्ड साइटहरु बन्न समय लाग्ने र बन्न पनि नसकेको भन्दै त्यसको विकल्पको रुपमा स-साना फोहोर, ढल व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताएकी हुन्। उनले आजबाट काठमाडौं उपत्यकाको फोहोर उठाउन सहयोग गर्न सबैलाई अनुरोध समेत गरेकी थिइन्। बैठकले फोहोर उठाउने सहमति गरेको छ।
छलफलमा झाँक्रीले तत्कालको समस्या समाधान गर्न सम्झौता गर्ने र त्यसपछि फर्किएर नजाने प्रवृत्तिका कारण यो समस्या सिर्जना भएको बताइन्। उनले सबै पक्षसँग बसेर छलफल गरिएकोले अब फाहोर नउठ्ने कुरा नरहेको तर सरकारले बञ्चरेडाँडा र सिसडोलवासीको माग पूरा गरेर मात्रै अघि बढ्ने विश्वास उनले व्यक्त गरिन्।
‘उहाँले भन्नुभयो, हामीले ठूला ट्रिटमेण्ट प्लान्ट, ठूला प्रोजेक्ट ठूला ल्याण्डफिल्ड साइटको गफ गर्यौं अहिलेसम्म। तर ती सक्सेस भएनन्। त्यसैले ठूलो ल्याण्डफिल्ड साइट भन्दा किन्ने, बिक्री गर्ने कानून, कार्यविधि, मेकानिज्म बनाउनु पर्छ। तत्कालको समस्या समाधान गर्न सम्झौता गर्ने त्यसपछि फर्किएर नजाने यो समस्या र प्रवृति छ। अब हामीले स्थायी रुपमा नै समाधान खोजेको भएर हामी सही बाटोतर्फ जाँदैछौँ भन्ने म विश्वास दिलाउन चाहन्छु। हामीले धेरै सम्झौता र कागज गर्यौं तर अब कागज होइन, काममा विश्वास गरौँ। हामीले फोहोरमैला व्यवस्थापनको कामलाई अघि बढाऔँ। सिसडोलमा कहाँ चुक्यौँ र बञ्चरे डाँडामा त्यो गल्ती दोहोर्याउने छैनौँ भन्ने कुरा निर्माण कार्यबाट नै कमिटमेण्ट छ। फोहोर फाल्ने स्ट्याण्डर फलो गरेनौँ भने हुँदैन। यसको अनुगमन, नियमन, कडाई गर्ने काम गर्नेछौँ। तर स्थानीय तहको सपोर्ट हामीलाई चाहिएको छ। सपोर्टको लागि अनुरोध गर्न चाहन्छु। फोहोर आजबाट नै उठाउँ।’