PahiloPost

Jul 3, 2024 | २० असार २०८१

शून्य समयमा उठ्यो बाढीदेखि फोहोरको मुद्दा, रामवीरको माग : मेरो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति निर्माण गरियोस्



पहिलोपोस्ट

शून्य समयमा उठ्यो बाढीदेखि फोहोरको मुद्दा, रामवीरको माग : मेरो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति निर्माण गरियोस्

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले वर्षायाम सुरु भएसँगै देशका अधिकांश ठाउँमा बाढी पहिरोका कारण जनजीवन प्रभावित भएकामा सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकमा सांसद मनकुमारी जिसीले देशभर वर्षाका कारण बाढी पहिरोले जनधनको क्षति भएकामा सरकारको ध्यानाकर्षण गराउँदै विपद् व्यवस्थापनमा गम्भीरतापूर्वक ध्यान दिन माग गरिन्।

उनले भनिन्, ‘चट्याङ, बाढी पहिरोले देशमा धेरै भू-भागमा धनजनको क्षति पुर्‍याइरहेको छ। सरकारको पूर्व तयारी, उद्धार तथा प्रभावकारी पुनर्स्थापनाको कार्यक्रम छैन।’
 
सांसद भूपेन्द्र बहादुर थापाले वर्षायाम समय सुरु भएर बाढी पहिरो आउँछ भन्ने थाहा पाउँदापाउँदै पनि पूर्व तयारी नगरेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै पीडितलाई उद्धार र राहतमा ध्यान दिन माग गरे। सांसद यशोदा गुरुङ सुवेदीले पृथ्वीराजमार्गको डम्पिङ भन्ने ठाउँमा पहिरो खस्दा आवागमन बन्दा भएको र स्थानीय तथा प्रादेशिक सरकारको समन्वयमा राजमार्ग खुलाउन पहल भइहरहेको बताए।

सांसद राजेन्द्र कुमार राईले धान रोप्ने समयमा किसान मल नपाएर अप्ठ्यारोमा परेको बताए भने सांसद विमला विकले वर्षायामसँगै किसानलाई मल चाहिन्छ भन्ने कुरा  सरकारलाई जानकारी भए पनि प्रत्येक पटक मल पाउन मन्त्री नै खोज्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताइन्।

सांसद राजेन्द्र प्रसाद लिङ्देन र महेन्द्रकुमारी लिम्बूले झापाको कलम गाउँपालिकामा रेल निर्माणका लागि रोक्का गरेर राखेको जग्गा फुकुवा गर्न सरकारको ध्यानाकर्षण गराए।

‘पूर्व-पश्चिम विद्युतिय रेल मार्ग अन्तर्गतको काँकडभिट्टा-इनरुवा खण्डको लागि आवश्यक पर्ने ६०५ हेक्टर जमिनका लागि ६०५ हेक्टर मात्रै होइन, सम्बन्धित कित्ताका सबै जग्गाहरु समेत रोक्का गरिएको छ। काम कुनै अगाडि बढेको छैन। त्यसको मुआब्जाका लागि मात्रै २५ अर्ब आवश्यकता पर्ने भनेर भनिन्छ। तर, अहिले रकम १ अर्बको व्यवस्था गरिएको छ। यही हिसाबले हो भने मुआब्जा दिदैँ जाँदाखेरी २५ वर्ष लाग्ने रहेछ। त्यसकारणले यो काम नहुने प्रयोजनको लागि यो जग्गा रोक्का राख्नु भएन। जग्गा फुक्का गरिदिनुपर्‍यो भन्ने म हार्दिक अनुरोध गर्न चाहान्छु,’ लिङ्देनले भने।

सांसद महेश बस्नेतले सरकारले डिजेल र पट्रोलको मूल्य, निर्माण क्षेत्रमा २५ प्रतिशत सामग्री मूल्य वृद्धि गरेकोमा आपत्ति जनाउँदै जनतालाई राहत दिने कार्यक्रम ल्याउन सरकारसँग माग गरे।

मीनबहादुर विश्वकर्माले यही जेठ २० गते ललितपुरमा गुरुकूलले जात सुनार भन्ने थाहा पाएपछि विद्यार्थीलाई पढ्न नदिएको र सामाजिक रूपमा छुवाछुत फैलाउने गुरुकूलका प्राचार्य तेजप्रसाद भट्टराईलाई पक्राउ गरी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद मीना सुब्बाले कृषकले माना रोपेर मुरी उब्जाउने बेलामा समयमा मल नपाउने कारणले गर्दा मारमा पर्ने गरेको हुँदा समयमै किसानलाई मलको व्यवस्थापन गर्न माग गरे। सांसद रामवीर मानन्धरले काठमाडौंको फोहरमैला व्यवस्थापन गर्न जरुरी रहेको र त्यसका लागि संसदीय समितिले आफूलाई अध्यक्ष बनाएर जिम्मा दिएमा आफूले गरेर देखाउने जानकारी दिए।

उनले भने, ‘महानगरपालिकाको उम्मेदवारको रुपबाट मैले आकांक्षा गरेको थिएँ। तर, उम्मेदवार बन्न पाइनँ। फोहोरमैलाको र काठमाडौं अस्तव्यस्त, ध्वस्त भइरहेको छ। म सरकारसँग सभामुखमार्फत् म एउटा माग राख्न चाहान्छु, मेरो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति निर्माण गरियोस् भन्ने मेरो माग हो। आज एक महिना भइसकेको छ निर्वाचन सकिएको पनि र सरकार बनेको एक वर्ष भएको छ। यो फोहोरमैलालाई व्यवस्थापन गर्नलाई एउटा इच्छाशक्ति भएको मान्छे चाहिन्छ त्यो भनेको म हो भन्ने मेरो दाबी छ।’

सांसद रङ्गमती शाहीले अवैध रूपमा नेपालीलाई खाडी मुलुक र अन्य मुलुकमा समेत मानव तस्करी हुने गरेकोप्रति अध्ययन गर्न सरकारको ध्यानाकर्षण गराइन्।

सांसद रेनुका गुरुङले सांसदले खानेपानी खान पाउनुपर्ने र जुनसुकै स्थानमा पनि जानका लागि रोक लगाउन नहुने बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell