PahiloPost

Jul 3, 2024 | २० असार २०८१

खगेन्द्रको फिल्म ‘पानीफोटो’को फर्स्ट लुक सार्वजनिक



पहिलोपोस्ट

खगेन्द्रको फिल्म ‘पानीफोटो’को फर्स्ट लुक सार्वजनिक

काठमाडौं : अभिनेता खगेन्द्र लामिछानेको डेब्यू निर्देशन रहेको फिल्म ‘पानीफोटो’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा खगेन्द्रका साथै अनुप बराल, मेनुका प्रधान र मलिका महतलाई स्थान दिइएको छ।

खगेन्द्रले आफूले नै लेखेको नाटकलाई फिल्म बनाएका हुन्। यो दशकअगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’मै आधारित फिल्म हो। ‘पानीफोटो’ले माओवादी ‘जनयुद्ध’को समयमा बेपत्ता भएका छोराको पर्खाइमा बसेका बाआमाको कथा भन्दछ।

खगेन्द्रकै लेखन रहेको फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन्। ‘पशुपति प्रसाद’ र ‘धनपति’ जस्ता फिल्म निर्माण गरेको टुकी आर्ट्सले यस फिल्म निर्माणमा मन्जुश्री फिल्म्ससँग सहकार्य गरेको छ।

फिल्ममा खगेन्द्र, अनुप, मेनुका र मलिकाका साथै प्रकाश घिमिरे, माओत्से गुरुङ्ग, बुद्धि तामाङ्ग, रमेश अधिकारी, कमलमणी नेपाल, अनुज पाण्डे, राधा श्रेष्ठ, श्याम कुमार खड्का लगायतका कलाकारहरूको अभिनय छ। दीपक बज्राचार्यको छायाङ्कन रहेको यो फिल्म साउन १३ गतेदेखि प्रदर्शन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell