PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

आँबुखैरेनीमा सडक भासिएर मृत्यु भएका दुवै पुरुषको सनाखत



रासस

आँबुखैरेनीमा सडक भासिएर मृत्यु भएका दुवै पुरुषको सनाखत

तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साखरस्थित बाँध नजिक शुक्रवार बिहान सडक भासिँदा मृत्यु भएका दुवै पुरुषको सनाखत भएको छ।

घटनापश्चात दमौली अस्पतालमा राखिएको शव मृतकका आफन्तजनले पहिचान गरेपछि सनाखत भएको हो। सो घटनामा परी मृत्यु हुनेमा गोरखा जिल्ला सिरानचोक गाउँपालिका-५ छोप्राक घरभई हाल आँबुखैरेनीमा बस्दै आएका ३५ वर्षीय केशव घिमिरे र मकवानपुरको हेटौँडा उपमहानगरपालिका-७ निवासी ३३ वर्षीय हेमबहादुर भुजेल रहेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख प्रहरी नायव निरीक्षक गोकर्ण नेपालले जानकारी दिए।

सडक भासिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव भेटिएपछि पोखरा र चितवनबाट आएको गोताखोर टोलीले नदीमा खोजतलास कार्यलाई तीव्रता दिइरहेको छ। भासिएको सडक विस्तारको लागि सडक डिभिजन कार्यालयका प्राविधिक टोलीले काम गरिरहेको छ। ठूला सवारी पास नहुने भएकाले साना सवारीलाई काम गरेको समयमा रोकेर अन्य समयमा पठाउने गरिएको प्रहरी नायव निरीक्षक नेपालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell