PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

काठमाडौंलाई पछ्याउँदै पोखराः निजी क्षेत्रको शौचालय प्रयोग गर्ने, ल्याण्डफिल साइट सार्ने निर्णय



रिना थापा

काठमाडौंलाई पछ्याउँदै पोखराः निजी क्षेत्रको शौचालय प्रयोग गर्ने, ल्याण्डफिल साइट सार्ने निर्णय

पोखराः पोखरा महानगरपालिकाले निजी क्षेत्रको शौचालय प्रयोग गर्ने र ल्याण्डफिल साइट सार्ने निर्णय गरेको छ। महानगरको पहिलो कार्यपालिका बैठकले सो निर्णय गरेको हो।

ल्याण्डफिल साइट पोखरा ३३ मा सार्नका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार पार्ने, निजी रेष्टुरेष्टका शौचालय सर्वसाधारण नागरिकका लागि प्रयोग गर्न द्धिपक्षीय सम्झौता गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले जानकारी दिए।

संघीय राजधानी काठमाडौं महानगरले यसअघि नै निजी क्षेत्रका शौचालय नागरिकका लागि प्रयोगमा ल्याउने निर्णय गरेको थियो। सो अनुसार धेरै निजी क्षेत्रका व्यापारिक प्रतिष्ठान समेतले निर्णयमा सहयोग गर्ने जनाइसकेका छन्। काठमाडौंपछि पोखराले पनि निजी क्षेत्रसँग सहकार्यको निर्णय गरेको हो।  

महानगरले एक वर्षभित्रमा विभिन्न स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने पनि निर्णय गरेको छ। शौचालय निर्माण अवधिसम्मका लागि बैंक, होटल, विभिन्न संघ-संस्था र रेष्टुरेन्टका शौचालय प्रयोगमा ल्याउने निर्णय भएको हो।

यस्तै महानगरले छाडा चौपाया सडकबाट हटाउने र ढल तथा नाला सफाइ अभियान चलाउने निर्णय पनि गरेको छ। छाडा चौपाया र ढल सफाइको काम आजदेखि नै सुरु भइसकेको छ।

महानगरले आपत्कालीन सेवा पनि सञ्चानमा ल्याउने भएको छ। रिज्यालका अनुसार महानगरले आगलागी तथा विभिन्न घटनामा तत्काल जनशक्ति परिचालन गर्नेगरि पूर्वाधार महाशाखाको क्षमता विकास गर्ने र कर्मचारी समेत भर्ना गरेर सेवामा प्रभावकारिता ल्याउने भएको छ।

त्यस्तै पोखराका सडकमा रहेका खाल्डाखुल्डी तत्काल पुर्नका लागि जनशक्ति परिचालन गरिने पनि बैठकले निर्णय गरेको छ।

महानगरले आफ्नै प्रशासकीय भवन निर्माणका लागि जग्गा छनोट गर्न तीन सदस्यीय समिति गठन गरेको छ। वडा अध्यक्षहरु दिवशमान प्रधानाङ्ग, राधिका शाही, र पूर्वाधार महाशाखा प्रमुख पूर्णबहादुर गुरुङ रहेका छन्। गठन भएको समितिले अर्को कार्यपालिका बैठकमा जग्गा अध्ययन गरेर प्रशासनिक भवन निर्माणका लागि स्थान सिफारिस गर्ने रिज्यालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell