
काठमाडौं : प्रमुख सञ्चारमाध्यममा सक्रिय पत्रकारहरुलाई बालबालिकाले आफ्नो समाचार प्राथमिकतामा नपर्नुको कारण सोधेका छन्। 'तपाईहरुका समाचारमा राजनीतिक बहसबारे कुरा ज्यादै लेखिन्छ भने यस्तै महत्व बालबालिकाको समाचारमा किन दिनुहुन्न?' १४ वर्षीया प्रतिमा तामाङको प्रश्न थियो।
बालश्रम विरुद्धको अन्तरार्ष्ट्रिय दिवसको पूर्वसन्ध्यामा शुक्रवार बालबालिकाको अधिकारको संरक्षण र सम्वर्द्धनमा काम गर्दै आएको संस्था सिविसले आयोजना गरेको कार्यक्रममा प्रतिमाले यस्तो प्रश्न राखेकी हुन्। काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाबिटामा आयोजित 'सञ्चारमाध्यममा बालबालिकाको सवाल' विषयक छलफल कार्यक्रममा विद्यार्थीहरुले थप प्रश्न पनि तेर्स्याए।
'बालश्रम अन्त्य २०८५ सम्ममा गर्ने भनेर गुरुयोजना बनेको छ, त्यसका लागि हरेक वडाले के काम गरेका छन् भनेर तपाईले हेर्नुभएको छ?'
'बालबालिकाको संरक्षणबारे धेरै कुराहरु लेखिएका छन् तर संरक्षण भएको छैन? तपाईले बालबालिकाको संरक्षणका लागि के लेख्नुभएको छ?' प्रवीण खड्काले प्रश्न गरे।
'हाम्रो देशले बालअधिकारको कार्यन्वयन गरेको भए सायद कलिला हातले बालश्रम गर्नुपर्दैन थियो होला। सञ्चारमाध्यममा तपाईहरु हुनुहुन्छ, के छ तपाईहरुको विचार?' लुनिभा श्रेष्ठले पनि प्रश्न राखिन्।
'बालबालिकाको संरक्षणबारे धेरै कुराहरु लेखिएका छन्। तर संरक्षण भएको छैन। तपाईहरुले यसबारे के लेख्नुभएको छ?'
यसरी धमाधम प्रश्न आएपछि सञ्चारकर्मीले यसबारे आफ्नो धारणा राखे।
बालबालिकाले प्रश्न राखेपछि सञ्चारकर्मीले पनि पत्रिका पढ्न, टेलिभिजन हेर्न र रेडियो सुन्न आग्रह गरेका थिए। यसो त सहभागी सञ्चारमाध्यमले राजनीतिक समाचार बालबालिकाको हकहितकै लागि आउने गरेको दाबी गरे। केही सञ्चारकर्मीले बालबालिकाका समाचार प्रमुख पत्रिकाहरुमा प्राथमिकतामा नपर्ने बताए।
अनलाइन पोर्टलहरुमा भने पछिल्लो समय बालबालिकाका विषययमा पहिले भन्दा धेरै कभरेज हुने गरेको उल्लेख गर्दै इन्टरनेट गेमिङको लतमा लागेर बालबालिकाको ध्यान समाचारमा नजाने तर्क गरेका थिए।
त्यसपछि केहीबेर विद्यार्थी र सञ्चारकर्मीबीच सवालजवाफसमेत चलेको थियो।
बालबालिकाले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समाचारमात्र पढ्नुपरेको उल्लेख गर्दै प्रश्न गरेका थिए। 'हामीले देउवा, ओली र प्रचण्डकोमात्र समाचार पढ्नुपर्छ, सुन्नुपर्छ, हाम्रो किन पढ्न पाइदैन?' यसैगरी कतिपय सञ्चारमाध्यममा आफूहरुको पहुँच नहुने भनाई उनीहरुको थियो। बालबालिकाले पछिल्लो समय कान्तिपुर दैनिक, नागरिक दैनिक, अन्नपूर्ण दैनिकजस्ता प्रमुख पत्रिकाहरुले बाल विशेष पृष्ठ निकाल्न छाड्नुको कारणसमेत सोधे।
बालबालिका र सञ्चारकर्मीबिच सवालजवाफ चलेपछि सिविसकी संस्थापक अध्यक्ष शान्ति अधिकारीले सञ्चारमाध्मकै कारण धेरै परिवर्तन आएको धारणा राखिन्। उनले अहिलेका बालबालिका हरेक विषयमा अघि रहेकोले सञ्चारमाध्यममा आएको विषय नपुगेको हो कि भनेर प्रश्न आएको बताइन्। 'चाइल्ड लेबरमा धेरै परिवर्तन आएको छ। अहिलेका बालबालिका एड्भान्स भइसकेका छन्। मिडियामा आएका बालबालिकाका कुरा नपुगेको भन्न खोजेको होला।' उनले बालबालिकाको आवाजलाई रोक्ने काम भने गर्न नहुने बताइन्।
कार्यक्रममा पत्रकार महासंघका महासचिव रोशन पुरीले बालबालिकाका विषयमा सशक्त रुपले कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरे। सोही अवसरमा सिविसको तर्फबाट नेपालमा बालश्रमिकको अवस्थाबारे एक रिपोर्ट प्रस्तुत गरेकी थिइन्। हाल नेपालमा १५.३ प्रतिशत बालबालिका अझै बालश्रम गर्न बाध्य रहेको उक्त रिपोर्टमा उल्लेछ छ। अन्तर्राष्ट्रिय श्रम संगठनले हालै जारी गरेको उक्त रिपोर्ट सन् २०१७/१८ को तथ्याङ्कमा आधारित रहेको छ। सिविस सन् १९९३ मा स्थापना भएर महिला र बालअधिकारको क्षेत्रमा काम गर्दै आएको संस्था हो।