एकाएक चौथो पटक मुस्ताङतिर उकालो लागिँदै थियो। कुनै अद्भुत आश्चर्यका दृश्य मिल्ने अपेक्षा थिएन। बाटो सुधारिँदो थियो। रुप्सेको झरना पार हुँदै घासाभन्दा माथि लागेपछि भने चौडा र फराकिलो सडकमा हुइँकिन पाउनुको फरक अनुभूति थियो। लेते पुग्नुअघि कालोपत्रे सडकको बिचमा उभिएर हिमाललाई पछाडि पार्दै दृश्यलाई 'फ्रिज' गराएपछि तातो केही पिउने रहर भयो। नजिकै राम्रो होटल देखिएपछि मोटरसाइकल त्यतैतिर अड्याएँ। त्यहीँ परिसमा थियो दुई मर्सिडिज। एउटा त सेडान नै ! केही डट बाइकहरु पनि थिए पार्किङ लटमा – उपल्लो मुस्ताङको यात्राका लागि।
यहाँ फ्रेस दूध मिल्ने रहेछ। त्यही अर्डर भयो। भरी दूधका ग्लास लिएर दुवोले भरिएको चौरमा चहारिँदै गर्दा पर कोही परिचित झै लाग्यो।
ए हो त ! पारस शाह।
मर्सिडिज त्यसमा पनि सेडान नैलिएर मुस्ताङतिर उकालो लाग्ने हिम्मत अरु कसको हुन्थ्यो?
साथी लक्ष्मीलाई भनेँ – ऊ पारस रहेछन् त्यहाँ।
'वाउ गज्जबले भेटियो त !' उसको प्रतिक्रिया।
लक्ष्मी पहिलो पटक मुस्ताङ यात्रामा थिए। मोटरसाइकलमा यात्रा गर्नुको थोरै भय,धेरै रोमाञ्चकताअनि बोस्टनसँगको प्रेम र बन्धन लक्ष्मीसँगै यात्रा गरिरहेको थिए। ठीक त्यही मनोदशाका बिच पारसलाई देखिएपछि केही 'एक्साइटेड' सुनिए।
'जाउँ न कुरा गरौं।'
लक्ष्मी पारसतिर लम्किहाले। म पनि लागेँ पछिपछि।
थाइल्यान्ड होस् या काठमाडौं अथवा पोखरा नै किन नहोस् – पारसका प्रवृत्तिमा खासै अन्तर देखेको थिइन। त्यसैले उप्रति मेरो न लगाव थियो न त रुची नै। तर, साथी अगाडि लागेपछि – म अनायसै तानिएँ।
पारस र हिमानीका छोरा हृदयेन्द्र बोस्टनमै पढ्दै रहेछन्। छोटो कुराकानीपछि लक्ष्मीले उता (अमेरिका) केही परे सघाउने प्रस्ताव राखे। छोराको विषयमा कुरा भएपछि पारसको मुहारमा थोरै परिवर्तन देखियो। खुशी देखिए र अभिवादन सहित हात मिलाए।
नाकमा घाउको डोब, कालो पहिरन। ठाउँ ठाउँमा प्वाल परेका लुगाले युवराज पारसको पहिचानलाई निस्तेज बनाएर मनमोजी पारसलाई चिनाइरहेको थियो। यी सबैभन्दा फरक अर्को कुरा देखियो, विल्कुलै अनपेक्षित। पारसको हातमा एउटा ग्लास थियो – त्यसमा भरी दूध।
पारसको हातमा दूध?
लक्ष्मी र मलाईमात्र आश्चर्यको विषय थिएन यो। पोखरा झरेपछि साथीहरुलाई सुनाएको सबै अचम्ममा परे। एकजनाले त प्वाक्क भनि पनि हाले – 'घोट्टा होला।'
बुटीको खोजीमा उचाइतिर उक्लिएको अड्कलबाजी गरिहाले साथीहरुले।
स्वभाविक पनि थियो। लठ्ठिदै रहनु उसको शैली नै बनिसकेको छ। त्यसैले उसप्रति मेरो दृष्टिकोण – पक्षपाती थियो। त्यसैले पारससँग भेटेपछि अनायसै मेरो बोली फुस्किएको थियो- 'यत्तिकै सकियो।'
'उसलाई पनि गलत गरेँ भन्ने थाहा छ। सच्चिन्छु भनेर कति प्रयास गर्यो होला। सकेन त के गर्नु? उसले चाहेर दरबारमा जन्मिएको होइन,' पारसमाथि लक्ष्मीको टिप्पणी आयो।
हो त ! पारसले सुध्रिन चाहेर पनि नसकेको त पक्कै हो। साथीका शब्दले पारसमाथि समता भाव नजाग्ने कुरै भएन। हुन पनि हो – दरबारमा मात्र नजन्मिएको भए पारस न युवराज हुन्थे, न यति धेरै विवादित नै। न मेरो यो ट्राभल लग यसरी लेख्ने विषय नै बन्थे।
तातोपानी टू तातोपानी
बिहान म्याग्दीको तातोपानीबाट हिँडेका हामीले दुई घन्टा पनि यात्रा गरेका थिएनौं पारसलाई भेट्दा। अब एक/डेढ घन्टामा मुक्तिनाथ। मोटरसाइकलले गति लियो –फराकिलो सडकमा। मुस्ताङ जिल्ला पुगेपछि अधिकांश सडकको भाग पृथ्वी राजमार्गभन्दा उन्नत देखिँदा हाम्रो निष्कर्ष रह्यो – देशमा केही भएकै छैन भन्नेमात्र त होइन है, भइरहेकै छ।
म्याग्दीका केही भागबाहेक एड्भेन्चर बाइकिङ भने यात्रामा पाइएन। लाग्यो – बाइकमा यात्रा गर्न केही ढिलो भइएछ। यसअघि यात्रा गर्दा मोटरसाइकलमा मुस्ताङ उक्लिने र म्याग्दीतिर ओर्लिनेहरुको हालत देखेको थिएँ। हिलाम्मे र धुलाम्मे। मानिसका अनुहार चिन्न मुस्किल !लड्दैपड्दै पुगेको देखिन्थ्यो। त्यस्तै हालतमा यात्रा गर्ने मनस्थिति बनाएर गएका थियौं हामी।
तर, अह ! मुक्तिनाथ मन्दिरमा पुग्दाधरी टक्टक्याउनका लागि शरीर अनुहारमा धुलो कतै थिएन। दुर्गम हिमालपारीको जिल्ला अपत्यारिलो हिसाबले सुगम अनुभूति भयो। धेरैतिर फराकिलो पुल बनिसकेको रहेछ। मुक्तिनाथमा केही घन्टा बिताएपछि जोमसोमतिर झर्दा देखियो – बथान च्याङ्ग्रा र भेडा। पछिपछि दुई गोठाला पनि। दुवैका हातमा बोरा।
'बोरामा के छ?'
'समातेर फोटो खिच लौ।'
उमेरले ६० कटेका गोठालाले खन्याइहाले पो। तीनवटा पाठापाठी रहेछन्। हिँड्न नसक्ने भएर बोरामा हालिएका।
'भर्खर जन्मिएको हो।'
दिनमा १०/१२ वटा भेडा च्याङ्ग्राले पाठापाठी जन्माउँदा रहेछन् चर्न हिँड्दाहिँड्दै। पाठापाठी चिसै थिए – फोटो खिच्नका लागि बोक्ने आँट आइहालेन। स्वार्थी न हौं –सुकसुकाउँदो मात्र रुचाउने।
साथीले सोधे – 'बिहानदेखि चराउन हिँड्नु हुँदो रहेछ आफू के खानुहुन्छ नि?'
'बियर,' काँधको झोला झिकेर एउटा बोतल देखाउँदै भने, 'दुईवटा खाइसकियो अब यो खाने।'
'यत्रो भेडा च्याङ्ग्रा छ,दूध खानु नि यो भन्दा त।'
'दूध खायो भने त पिनास हुन्छ। बियरले हुन्न।'
छोटो तर रमाइलो कुराकानी बिट मारेर हामी तलतिर लाग्यौं।
जोमसोम बजार फुङ्ग उडेको। किन हो त्यहाँ अडिन मन लागेन। अपर मुस्ताङ जाने योजना स्थगित भइसकेको थियो। त्यसैले तातोपानी नै फर्किने तय गर्यौं। पहिले टेलिभिजन कार्यक्रम बनाउन जाँदा मुस्ताङमा धेरै दिन बिताएकाले पनि होला मलाई खासै अडिन मन थिएन।
उज्यालैमा हामी तलतिर झर्यौं। रुप्सेमा फोटो खिचाउन रोकिएकाहरु थिए धेरै मानिसहरु। हामीलाई रोकिनु थिएन, बिहानै मस्त अडिएका थियौं। तातोपानीमा अघिल्लो दिनकै होटलमा पुग्यौं अनि फेरि पानीका बोतल लिएर तातोपानीमा डुबुल्की लगाउन पुग्यौं। तातोपानीमा विदेशीहरु धेरै देखेपछि सन्तोष लाग्यो – पर्यटन फेरि उठ्दैछ।
सडक बनेसँगै यहाँको ट्रेकिङ रुट नराम्ररी बिथोलिएको छ। वैकल्पिक रुट त छन् तर तिनमा प्राण छैन। जोमसोम वरपर भीमकाय होटल होटल बनेका छन्। मुक्तिनाथ मन्दिर वरपर कंक्रिटका संरचना थप्ने होडबाजी छ। प्रकृति क्रमश:अप्राकृतिक बन्दैछ। यी सबै देख्दा लाग्यो – मुस्ताङको यस भेगले पुरानो पहिचान गुमाउँदैछ।
'यसो गाडीमा नगएर के दु:ख बेसाउन लागेको दाइ,' पोखराका पत्रकार सन्तोष पोखरेलले मोटरसाइकल यात्राबारे सोध्दा बाइकिङ नगर्न सुझाएका थिए। दु:ख नपावस् भन्ने उसको चाहना। बिचमा कतै बिग्रियो भने सास्ती मिल्ने उसको कुरा जायज थियो। तर,जोखिम मोल्नुको मजा किन छाडिन्थ्यो? सहकर्मी रिना थापाले मोटरसाइकलको प्रवन्ध गरिदिएकी थिइन् पोखरामा। काठमाडौंबाट गाडीमा पोखरा पुगेसँगै दुई पाङ्ग्रेमा हाम्रो यात्रा सुरु भइहाल्यो।
मुस्ताङबाट तलतिर पनि बाक्लैसँग बन्दैरहेछन् संरचनाहरु। तातोपानीतिर बनिरहेका ठूला होटलहरुको निर्माणले 'मास टुरिज्म'लाई संकेत गरिरहेको थियो। अर्कोतिर तिब्बतसम्मै छेड्ने कालीगण्डकी करिडरको चलिरहेको काम। यस करिडरको लागि सबैभन्दा सकसपूर्ण यात्रा म्याग्दीमै पर्ने। गलेश्वरदेखि नै बाटोको भर हुन्न – वर्षा सधैं सत्रु बनिरहेकै छ। रुप्से झरनादेखि घासासम्म बाटोलाई सहज बन्नै असहज छ। बसबाट यात्रा गर्नेहरु अहिले पनि झसङ्ग झसङ्ग हुन्छन्।
केही वर्षअघि त धेरैको सात्तोपुत्लो नै उड्थ्यो। दोहर्याएर यो बाटोमा आउँदिन भन्नेहरु त कति कति ! तर,त्यसखालको जोखिमपूर्ण बाटो अब ज्यादै कम। अझ त्यसमाथि मोटरसाइकलमा जाँदा त्यो तहको डर नहुने भइसकेछ – फराकिलो बनिरहेको सडकले। यसअघि जाँदा ढुङ्गा फुस्किएका उकालोमा गाडीबाट उत्रिँदै केही हिँड्नु स्वभाविक हुन्थ्यो। गाडीलाई पहिले उकालो लगाउने अनि उस्तै परे ठेल्ने पनि। त्यसपछिमात्रै गाडीमा सवार पाइने। अहिले त्यस्तो खासै पर्दैन गाडीमा जाँदा पनि। त्यसमाथि त हामी मोटरसाइकलमा थियौं रोकिनै पर्ने ठाउँ नै कतै परेन। नौडाँडा आएपछि सन्तोषलाई यात्रा सन्तोषप्रद भएको सुनाएँ।
'आत्तिने मात्र रहेछन् मानिसहरु,बाटो यति सजिलो भइसकेछ यार।'
सन्तोष हाँस्यो मात्र। अपेक्षा धेरै नभए पनि चौथो पटकको मुस्ताङ यात्रा रोमाञ्चक रह्यो। पाँचौ पटकको यात्रा कसरी हुन्छ थाहा छैन। तर, भविष्यको त्यो यात्रा अहिलेको भन्दा कम कठिन र चुनौतीपूर्ण चाहिँ हुनेछैन।