PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

कुवेतसँग भिड्दै नेपाल, जन्मभूमिविरुद्ध कस्तो नतिजा निकाल्लान् अलमुताइरीले?



पहिलोपोस्ट

कुवेतसँग भिड्दै नेपाल, जन्मभूमिविरुद्ध कस्तो नतिजा निकाल्लान् अलमुताइरीले?
PHOTO : NSJF/PAHILOPOST

काठमाडौं : नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीका लागि आजको दिन धर्म संकट छ। एसिया कप छनोट अन्तर्गत आज नेपाल र कुवेत भिड्दैछ। नेपाली टिम अर्थात उनको कर्मस्थल र कुवेत अर्थात उनको जन्मस्थल।

उसो त उनले पटकपटक स्पष्ट पारिसकेका छन् : म कुवेतलाई माया गर्छु। तर, खेलमा नेपालको जितका लागि फाइट गर्नेछु र अर्को चरणमा छनोट हुन चाहन्छु।

एसिया कप छनोट अन्तर्गत समूहको पहिलो खेलमा जोर्डनले नेपाललाई २-० ले हराउँदै अलमुताइरीले राहतको श्वास फेरेका छन्। टिममा पहिलो रोजाइमा उत्रँदै आएका ११ सिनियर खेलाडी बिनाको टिम लिएर एसिया कप छनोटमा पुगेका अलमुताइरीको रणनीतिमा नेपालले फिफा वरीयतामा ९१ औं स्थानमा रहेको जोर्डनलाई २ गोलमा रोक्नु र त्यसमा पनि ६८ मिनेटसम्म गोल हुन नदिनु चानचुने कुरा थिएन। पहिलो रोजाइको खेलाडीकै उपस्थितिमा अघिल्लो चरणमा होम एण्ड अवे दुबै खेलमा नेपालले जोर्डनसँग ३-० को पराजय ब्यहोरेको थियो। जोर्डनविरुद्ध नेपाली टोलीले देखाएको लयलाई कायम राख्नु अलमुताइरीको लागि चुनौती हुनेछ।

आज राति नेपाली टोलीले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। आज बेलुकी १० बजे कुवेत र नेपाल जाबेर अल-अहमद इन्टरनेशनल स्टेडियममा आमनेसामने हुनेछन्।

नेपाल र कुवेतले हालसम्म ८ खेल खेलेका छन् जसमा नेपालले ७ वटा पराजय ब्यहोर्दा एक खेलमा बराबरी खेलेको छ। सन् २०१९ मा मैत्रीपूर्ण दुई खेल खेल्दा एक खेलमा नेपालले गोलरहित बराबरी खेलेको थियो भने अर्को खेलमा १-० को साँघुरो हार ब्यहोरेको थियो। त्यसपछि नेपाल र कुवेतको भेट भयो विश्वकप र एसिया कपको छनोट अन्तर्गतको समूहको खेलमा। जसमा कुवेतले घरेलु मैदानमा नेपाललाई ७-० ले हराउँदा भुटानमा सम्पन्न अर्को खेलमा १-० को संघर्षपूर्ण जित निकालेको थियो।

फीफा वरीयताका हिसाबले कुवेत नेपाल भन्दा धेरै अगाडिको टोली भने होइन्। कुनै समय फिफा विश्वकप सम्म पुगेको कुवेतले फुटबल संघमा सरकारको हस्तक्षेप भएको भन्दै सन् २०१५ मा फिफाको प्रतिबन्धसमेत ब्यहोरेको थियो। त्यसको दुईवर्षपछि प्रतिबन्धबाट फुकुवा भएको कुवेत हाल विश्व वरीयतामा १४६ औं स्थानमा छ। नेपाल भने १६८ औं स्थानमा छ।

पहिलो खेलमा इन्डोनेसियासँग २-१ गोलअन्तरले पराजय ब्यहोरेको कुवेतले आज फराकिलो जितको अपेक्षा गर्नेछ। एसिया कप छनोट अघि कुवेतले खेलेका खेलमा सिंगापुरलाई २-० गोलअन्तरले हराएको थियो भने माल्टासँग २-० कै पराजय ब्यहोरेको थियो।

समूह 'ए' को पहिलो चरणको खेल सकिँदा जित निकालेका जोर्डन र इन्डोनेसिया समान ३ अंकसहित पहिलो र दोस्रो स्थानमा छन भने पराजय ब्यहोरेका कुवेत र नेपाल तेस्रो र चौथो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell