
काठमाडौं : उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले नुवाकोटको कननी गाउँपालिका ७ स्थित त्रिशुली 'थ्रि ए' को प्रशारण लाइनमा चढेका व्यक्तिको उद्धार गर्न नेपाली सेनासँग आग्रह गरेकी छिन्।
उनले ती व्यक्तिलाई हेलिकप्टारबाट उद्धार गर्न आग्रह गरेकी छिन्। उच्च क्षमताको प्रसारण लाइनमा मानिस चढेपछि त्यसको प्रभाव दशेभर परेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार बिहान ११ बजेदेखि माथिल्लो त्रिशुली थ्री ए लगायतका केही आयोजनाको बिजुली उत्पादन बन्द गर्नु परेको छ। प्रणालीमा ६५ मेगावाट बिजुली अपुग भएको छ।
'नुवाकोटमा त्रिशुली ‘थ्री ए’ को प्रशारण लाइनमा रहेका व्यक्तिको उद्धार गर्न मैले नेपाली सेनालाई आग्रह गरेको छु। विद्युत लाइनको जोखिमलाई ध्यान दिएर हेलिकप्टरबाट भए पनि उद्धार गरौँ। उद्धारमा साथ दिन सम्बन्धित सबैलाई आग्रह गर्दछु,' उनले भनेकी छिन्।
गाउँपालिकाको वडा ७ का अध्यक्ष रामकृष्ण तामाङका अनुसार ती व्यक्ति बिहान साढे ९ बजेबाट बिजुलीको तारमा चढेको जानकारी दिए। तारमा हिँडिरहेका पुरुष बेलकोटगढी नगरपालिका १३ घले गाउँ बस्ने ४५ वर्षीय माइला विक भएको खुलेको छ। प्रहरीको जानकारी अनुसार उनी मानसिक रोगी भएको जनाएको छ।
माथिल्लो त्रिशुली थ्री ए ६० मेगावाट क्षमतामा नै चलीरहेको थियो भने अन्य केही आयोजनाको बिजुली समेत सोही प्रसारण लाइनमार्फत काठमाडौँ ल्याइएको छ। नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले झण्डै ६ घण्टादेखि ६५ मेगावाट बिजुली प्रणालीबाट बाहिर रहेको जानकारी दिए।