PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

अबको चुनावमा एमाले एक्लो कि कांग्रेस? सत्ता गठबन्धनमा ‘ब्रेक’लाग्ने सम्भावना कति?



प्रकाश भण्डारी

अबको चुनावमा एमाले एक्लो कि कांग्रेस? सत्ता गठबन्धनमा ‘ब्रेक’लाग्ने सम्भावना कति?

काठमाडौं: नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले जेठ २० गते वाम एकताको आवश्यकता औँल्याए। प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा खनालको भनाइ थियो - मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक छ। तर, वामपन्थी आन्दोलनका आफूलाई मूल भन्ने नेताहरू नै एकताको पक्षमा छैनन्।

एकीकृत समाजवादी स्थानीय तह निर्वाचनको परिणामबाट असन्तुष्ट बनिरहेका बेला खनालले वाम एकताको चर्चा गरेका थिए। प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) को नेतृत्व भने वाम एकताप्रति त्यति इच्छुक छैन। जेठ २७ गते एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम एकता सम्भव नभएको मात्रै भनेनन् एकीकृत समाजवादीका नेतालाई एमालेमा फर्कन 'चान्स' नभएको ठोकुवा गरे। खनालको वाम गठबन्धन आवश्यकता औँल्याएको हप्ता दिनपछि मोरङ पुगेर चुनावी गठबन्धनबारे प्रतिक्रिया दिएका ओलीले एमालेले वामपन्थीसँग अबको आम निर्वाचनमा पनि गठबन्धन नगर्ने जिकिर गरे

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको भन्दै वाम एकताको बहसलाई सतहमा ल्याएका थिए। तर, ओलीले भने शुक्रबार प्रचण्ड-नेपालको अभिव्यक्तिको खण्डन गरिसकेका छन्।

‘कांग्रेसभन्दा ओलीको लात खान ठिक’

वाम गठबन्धन गर्ने कि अहिलेकै गठबन्धनलाई निरन्तरता दिने भन्नेबारेमा भने एकीकृत समाजवादीभित्रै पनि दुई मत देखिएको छ। एकीकृत समाजवादीमा खनालको भनाइलाई लिएर नेताहरूले असन्तुष्टि जनाएका छन्। खनालले आफूले चुनावमा नजित्ने देखेपछि एमालेसँग पनि मिल्न सकिने भनेर अभिव्यक्ति दिएको भन्दै पार्टीभित्र खनालको आलोचना भइरहेको छ। एकीकृत समाजवादीका एक सचिवालय सदस्यले केही नेताहरू वाम एकताको निष्कर्षमा पुगेको बताए।

‘हाम्रा कतिपय साथीहरूले वाम एकताको कुरा गर्नुभएको छ। कांग्रेसको लात खानुभन्दा बरु केपी ओलीको लात खान ठिक हुने भनेका छन्। यसरी अपमान गरेर बस्नुभन्दा त एमालेमै बसे हुन्थ्यो नि भन्ने तहसम्म पनि केही साथी पुग्नुभएको छ। ती साथीहरूले बृहत्तर वाम एकताको कुरा गर्नुहुन्छ। जुन कुरा केपी ओलीबाट सम्भव देखिन्न। उहाँले मोरङमा गएर दिनुभएको स्टेटमेन्टले पनि सम्भव नभएको पुष्टि हुन्छ,’ उनले भने।

समाजवादीको औपचारिक बैठकमा भने अहिलेसम्म वाम एकताका बारेमा छलफल भएको छैन। अब बस्ने स्थायी कमिटीको बैठकमा चुनावी समीक्षा गरेर गठबन्धनबारे पनि छलफल हुने उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए।

अधिकांश नेताहरूले अहिलेकै गठबन्धनलाई निरन्तरता दिने बताइरहँदा समाजवादीका केही नेताले भने काङ्ग्रेससँग मिलेर चुनावमा जानै नसकिने अनौपचारिक छलफलमा बताउने गरेका छन्। एमालेभित्र पनि वाम गठबन्धनका लागि आवाज उठाउने नेताहरू नभएका होइनन्। माओवादी केन्द्रमा पनि केही नेताहरूले वाम गठबन्धनका लागि 'लबिङ' गरिरहेका छन्। तर, अहिलेकै गठबन्धनलाई निरन्तरता दिने पक्षमा प्रचण्ड र नेपाल रहेको उनीहरू निकट नेताहरूको भनाई छ।

‘एमालेसँग पनि अघोषित गठबन्धन हुन सक्छ’

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका दलहरूले महानगर र उपमहानगरमा गठबन्धन बनाएर भागबन्डा गरेका थिए। तर, अरू स्थानीय तहहरूमा भने कतै एमाले-मा‌ओवादी गठबन्धन बन्यो भने कतै कांग्रेस-एमाले त कतै एकीकृत समाजवादी र एमाले नै मिलेर चुनाव लडेका थिए। अबको प्रदेश तथा प्रतिनिधि सभाको चुनावमा पनि स्थानीय तहकै जसरी गठबन्धन हुनसक्ने माओवादी केन्द्र नेता गणेश साहको भनाई छ। ‘कतै घोषित गठबन्धन हुन्छ कतै अघोषित गठबन्धन हुन्छ। प्रदेश तहमा पनि एमालेसँग पनि कतै घोषित त कतै अघोषित गठबन्धन हुनसक्छ,’उनले भने।

माओवादी केन्द्रकै नेता हरिबोल गजुरेलले पनि आउने चुनावमा अहिलेकै गठबन्धनले निरन्तरता पाउने बताएका छन्। उनले हालसम्म पार्टीका बैठकहरूमा वाम गठबन्धनबारे औपचारिक रूपमा छलफल नभएको बताए। गठबन्धनभित्र प्रचण्डको कांग्रेस लक्षित भनाइलाई लिएर आलोचना भएको थियो। कांग्रेसलाई ठेगान लगाइदिने प्रचण्डको भनाइलाई समाजवादीका नेताले भने वाम एकताका लागि नभई गठबन्धनलाई उपयोग गर्ने नीतिअनुसार आएको बताएका छन्।

चुनावअघिनै एमालेमा थियो वाम एकताको माग

एकीकृत समाजवादीभित्र चुनावी परिणामपछि मात्रै वाम एकताका बारेमा चर्चा भएको भए पनि एमालेभित्र भने स्थानीय तह निर्वाचन अघिदेखिनै वाम गठबन्धनबारे चर्चा भएको थियो। तर, त्यसलाई अध्यक्ष ओलीले अस्वीकार गरे। उनले पार्टीको नीति गठबन्धन गरेर चुनाव लड्ने नभएको त्यति बेला जवाफ फर्काएका थिए।

एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले २०७८ चैत ७ गते बसेको पोलिटब्युरो बैठकमा वाम एकताको प्रस्ताव गरेका थिए। चैत ८ गते पत्रकारहरूसँगको अन्तरक्रियामा भुसालले एमाले, माओवादी र एकीकृत समाजवादीमा भिन्नता नभएको भन्दै वाम एकता गरेर चुनावमा जानुपर्ने बताएका थिए।

'विभाजनको औचित्य छैन। तपाईँ जानुहुन्छ भने के भनेर जानुहुन्छ समाजवाद भनेर जानुहुन्छ भनेर। सैद्धान्तिक रूपमा पनि लोकतान्त्रिक हिसाबले जाने हो। जाने तरिकाको कुरा गरे पनि। एमालेले गर्ने र माओवादी केन्द्रले गर्ने कुरा र समाजवादीले गर्ने कुरा पनि त्यही हो। एउटै सैद्धान्तिक कुरा भए यो राम रमिता के हो?' उनले प्रश्न गर्दै भनेका थिए।

ओलीले स्थानीय तह निर्वाचनमा पार्टी अन्तर्घातले हारेको भन्दै सत्ता गठबन्धनका कारण चुनाव नहारेको बताउने गरेका छन्। चुनावको रणनीति तय गर्न चैत ९ र १० गते बसेको एमालेको केन्द्रीय कमिटीको बैठकमा पनि केही नेताहरूले चुनावी तालमेलका लागि लचिलो हुन ओलीलाई आग्रह गरेका थिए। तर, ओलीले त्यसलाई अस्वीकार मात्रै गरेका थिएनन्, उल्टै एमालेको शक्ति कमजोर नभएको भन्दै पार्टीको शक्तिमा विश्वास गर्न नेताहरूलाई सम्झाएका थिए।

‘अध्यक्षलाई चुनावमा सत्ता गठबन्धन बन्यो भने पार्टी नराम्रोसँग हार्छ भनेर भनेका थियौँ। तर, उहाँले एमाले अरूका कारणले हार्दैन, एमाले कमजोर भएको छैन, भन्नुभयो। अध्यक्ष त जनताले एमाले बाहेकलाई भोट दिँदैनन् भन्नुहुन्छ,’ओली निकट एक नेताले केन्द्रीय कमिटीको बैठक पछि भनेका थिए।

चुनावी परिणामले ल्याएको एकताको बहस

गठबन्धनका नेताहरूले चुनावी तालमेलका कारण नेपाली कांग्रेसलाई मात्रै फाइदा भएको निचोड निकालेका छन्। माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको चुनावमा अपमान भएको नेताहरू आरोप लगाउँछन्। तर, नेपाली कांग्रेसले भने गठबन्धन दलहरूमा असन्तुष्टि र आकाङ्क्षा एकै पटक देखिएको बताएको छ ।

कांग्रेसको निर्वाचन अनुगमन, मूल्याङ्कन तथा सुपरीवेक्षण उपसमितिले बिहीबार बुझाएको प्रतिवेदनमा गठबन्धनबाट चुनाव लडेका ६१ प्रतिशत स्थानीय तहका कांग्रेसले अघि सारेका प्रमुख पदका उम्मेदवार सफल भएको उल्लेख छ। चुनावी परिणामलाई लिएर एकीकृत समाजवादी र माओवादीका नेताहरूले एकताको बहस गरिरहेका छन्। एमाले, एकीकृत समाजवादी र माओवादीका केही नेताहरुबीच वाम गठबन्धनबारे अनौपचारिक संवाद भएको समेत बताइन्छ। तर, त्यसले एकताका लागि आधार भने बनाइ नसकेको नेताहरूको भनाई छ।

अब के हुन्छ?

स्थानीय तह निर्वाचनमा गठबन्धनका लागि भएको पाँच दलीय सहमतिको अन्तिम बुँदामा गठबन्धन बाहिर चुनावी तालमेल गर्न नमिल्ने उल्लेख थियो। उक्त बुँदा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी एमालेसँग मिल्न सक्ने भन्दै राख्न आग्रह गरेका थिए। अहिले पनि देउवाले सत्तामा रहेका पाँच दल बाहिरको दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग पनि संवाद अघि बढाइरहेका छन्। लोसपालाई सरकारमै सहभागी गराउन छलफल भएको भए पनि राजी भइसकेको छैन। प्रदेश र प्रतिनिधि सभाको चुनावमा वाम गठबन्धनका लागि कम्युनिस्ट नेताहरूले जोड गरेमा देउवाले पनि लोकतान्त्रिक गठबन्धनका लागि गृहकार्य गर्न सक्ने बताइन्छ। तर, गठबन्धनका नेताहरू अहिले नै सत्तारुढ दलहरुबीचको सहकार्य नटुङ्गिने दाबी गरिरहेका छन्। वाम गठबन्धनका लागि ओलीले चाल्ने 'मुभ'मा पनि धेरै कुरा निर्भर हुने नेताहरूको भनाई छ।

‘ओलीले आत्मालोचना नगरेसम्म चुनावी तालमेलको सम्भावना हुन्न। आत्मालोचना गरेपछि सहकार्य नहुने भन्ने कुरा हुन्न, ’एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले भने।

यस्तै, माओवादी केन्द्रका नेता गजुरेलले पनि ओलीको अहङ्कार रहेसम्म अहिलेकै गठबन्धनले निरन्तरता पाउने बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell