
काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा नेपाल र अमेरिकाबीचको म्याच टाइ भएको छ। अमेरिकाको पिअरल्याण्डस्थित मूसा क्रिकेट स्टेडियममा सम्पनन् खेलमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २७४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको अमेरिका पनि निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७४ रनमै समेटिँदा म्याच टाइ भएको हो।
सुरुवाती ब्याटिङ गरेको नेपालका लागि तीन जना ब्याट्सम्यानले अर्धशतक पुरा गरे। जसमा रोहित कुमार पौडेलले सर्वाधिक ६२ रन बनाउँदा आशिफ शेखले ६१ रन र देव खनालले ५४ रन बनाए। त्यसबाहेक कुशल भुर्तेलले १९ र कप्तान सन्दीप लामिछानेले १० रन बनाए।
बलिङतर्फ अमेरिकाका रस्टी थेरोनले सर्वाधिक ४ विकेट लिँदा अली खान र सौरभ नेत्रभाल्करले समान २ तथा यासिर मोहम्मद र निसर्ग पटेलले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाका लागि ओपनर स्टेभेन टेलरले शतकीय पारि खेल्दै घरेलु टोलीको पारी उकासे। उनले सर्वाधिक ११४ रन बनाउँदा मोनाङ्क पटेलले ८५ रनको योगदान दिए। त्यस्तै आरोन्स जोन्स २६ रनमा आउट हुँदा शुसान्त मोदोनीले १७ रन बनाए। अन्तिम ओभरमा अमेरिकालाई ६ रन चाहिएकोमा मोहम्मद आदिल आलमले एक विकेट सहित ५ रन दिँदा म्याच टाइड हुन पुग्यो। अन्तिम बलमा राहुल जैरवाला रनआउट भएका थिए।
बलिङतर्फ आलमले सर्वाधिक ३ विकेट लिँदा सोमपाल कामी र सन्दीप लामिछानेले समान १ विकेट लिए।
पहिलो खेलमा ओमनसँग पराजय ब्यहोरेको नेपालले तेस्रो खेलमा मंगलबार राति ओमनसँग प्रतिस्पर्धा गर्नेछ।