PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बालेन र मुकुन्दको ‘केमेस्ट्री’ : आलोचनाबाट कसरी पुग्यो प्रशंसा गर्ने ठाउँमा?



प्रकाश भण्डारी

बालेन र मुकुन्दको ‘केमेस्ट्री’ : आलोचनाबाट कसरी पुग्यो प्रशंसा गर्ने ठाउँमा?

काठमाडौं : काठमाडौं महानगरपालिकामा नयाँ जनप्रतिनिधि आएपछि बसेको पहिलो बैठक सहज रुपमा अघि बढेन। जेठ १६ गते नगरकार्यपालिकाको पहिलो बैठकमै महानगर प्रमुख बालेन्द्र साह (बालेन)लाई रोक्दै वडा अध्यक्षहरुले बैठकको निर्णय प्रक्रियामाथि प्रश्न उठाएका थिए। विभिन्न ६ वटा एजेन्डामाथि छलफल भएको पहिलो बैठकमा महानगरको प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले निर्णय नै भइसकेको भने पछि सबैभन्दा चर्कोगरी विरोध गर्ने वडाअध्यहरुमध्यमा पहिलो नम्बरमा थिए वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजाल।

नेपाली कांग्रेसका तर्फबाट रिजाल दोस्रो पटक पनि निर्वाचित भएर महानगरको कार्यपालिकामा छन्। प्रत्यक्ष प्रशारण भइरहेको उक्त बैठकमा बालेनको निर्णय प्रक्रियामै प्रश्न उठाएपछि सामाजिक संजाालमा रिजालको चर्को आलोचना पनि भएको थियो। उता, बालेन साहप्रति भने काम गर्न खोजेको तर गर्न नदिएको भन्दै संजाल समर्थनमा थियो। पहिलो बैठकमा साहलाई अघि बढ्न सकस पारेका रिजाल दुई हप्तापछि भने बदलिएका छन्। यति सम्मकी रिजाल ठिक उल्टो बालेनकै बचाउमा देखिए आइतवारको दोस्रो कार्यपालिपकाको बैठकमा।

वडा अध्यक्षहरुको आलोचना र मेयर साहको बचाउमा उत्रिन मेयर साह र रिजालबिचको शनिवारको लन्च मिटिङले भने कतिको काम गर्‍यो?साहको आलोचना गरेपछि सामाजिक संजालमा ट्रोलको सिकार बनेका रिजालले अबका दिनमा आफ्नो सम्बन्ध साहसँग कस्तो बनाउँलान? चासो बढ्न थालेको छ। 

रिजालले पहिलो बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत पौडेललाई समेत चेतावनी दिएका थिए। उनले कर्मचारी भएर धेरै बाठो नहुन भन्दै पौडेललाई सचेत गराए। तर,दुई हप्तापछिको कार्यपालिकाको दोस्रो बैठकमा रिजाल ‘कुल’देखिएका छन्। 

लन्च मिटिङले बदलीयको मुकुन्द र बालेन्द्र सम्बन्ध

मेयर साहले राजनीतिक दलका नेताहरुसँग 'कनेक्सन'लाई मजबुत बनाउन निर्वाचन अघिदेखि नै भेटघाटलाई तिब्र बनाएका थिए। उनले प्रधानमन्त्री शेरबहादुर देउवा देखि प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सम्मलाई भेटन भ्याएका छन्, निर्वाचनअघि देखि अहिलेसम्म।

उनको भेटको श्रृङखला कति सम्म छ भने उनले आफ्नो कार्यशैलीमाथि प्रश्न उठाएका रिजालको घरमै पुगेर लन्च मिटिङ गरे शनिवार। जसबाट पनि थाहा हुन्छ कि साह आफूलाई अप्ठेरो पार्नसक्नेलाई फकाउन र सम्बन्ध सुधारका लागि पनि उत्तिकै कौशल देखाइरहेका छन्। सायद लन्च मिटिङमा केही 'कन्भिन्स' भएरै होला रिजालले आइतवार उल्टै मेयरको पक्ष लिए र वडा अध्यक्षहरुले उठाएका विषयलाई ‘सानातिना’भएको बताइदिए। 

के भएको थियो रिजालको घरमा कुराकानी?

बालाजु चोक नजिकै रहेको रिजालकै घरमा शनिवार बालेन पुगेका थिए। साहले फोहोर व्यवस्थापनका साथै महानगरका कामकारबाहीमा रिजालसँग सुझाव मागेका थिए। काठमाडौंबाट उठेको फोहोर वडा १६ हुँदै जाने गर्छ। फोहोर बोक्ने टिपर हुँइकिदै जाँदा कतिपय अवस्थमा दुर्घटना हुने गरेका छन्। जसको गुनासो वडावासीले रिजाल समक्ष यसअघिको कार्यालयमा पनि गराएका थिए। स्थानीयले बालाजु चोकबाट ओद्योगिक क्षेत्र-बाइसधारा हुँदै बाइपास सडक खण्डबाट फोहोरको गाडी लग्न रोक्न माग गर्दै आएका थिए। फोहोरको गाडीलाई रिङरोड हुँदै बाइपास लग्नुपर्ने उनीहरुको माग छ। केही समय उक्त माग लागू पनि भयो। तर, अहिले फेरि फोहोरको गाडी बालाजु बाइसधारा हुँदै लग्ने गरिन्छ। जसबारेमा रिजाललाई धेरैले प्रश्न तेर्साउने गरेका छन्। हिजोको भेटमा यसबारेमा पनि छलफल भएको बताइन्छ।

उक्त भेटमा साहले रिजालको कार्यशैलीबाट आफु प्रभावित भएको भन्दै निरन्तर सहयोगको अपक्षा गरेका छन्। कलाकार अर्जुन घिमिरे (पाडे)सँगै रिजालको निवासमा साहले झन्डै दुइ घन्टा बिताएका थिए। लन्च सहितको मिटिङमा रिजालले फोहर व्यवस्थापनमा नगर प्रमुखको सक्रियताको प्रशंसा गरेका थिए। रिजालले साहलाई सघाउने वाचा गरेका थिए। यस्तै पार्टी भन्दा माथि उठेर मेयरका जनमुखी जाहेज अभियानमा आफुले सहयोग गर्ने बताएको रिजालले जानकारी दिएका छन्। उनले नेपाली कांग्रेसले पनि साहलाई सहयोग गर्ने बताएका थिए। आफ्नो अनुभवलाई पनि महानगरको काममा लगाउन रिजालले साहलाई आग्रह गरेका थिए। 

बदलिएको बालेन-मुकुन्द सम्बन्ध

आइतवारको कार्यपालिकाको दोस्रो बैठकमा रिजाल साहको पक्षमा उत्रिएका छन्। उनले समय व्यवस्थापन देखि वडा अध्यक्षहरुले बोलेका विषयको आलोचना गर्दै मेयर साहसँग कार्यपालिकाका सदस्यसँग छलफल गर्ने धेरै समय नभएको बताए। भने,’तीन घण्टा बोलेर साध्य छैन। प्रमुख उपप्रमुखज्युले गरिसक्नुभएको छ। आज हाम्रा एजेन्डा टुंगिएको जस्तो लाग्छ। अहिले हाम्रो प्रमुखज्युलाई धेरै स्टक होल्डरहरुलाई हामीले समस्यालाई समाधान कसरी गर्ने भनेर लागेपछि उहाँहरुले गर्नु भएन भने सानातिना कुरालाई दोस्रो दिन हाम्रा विभिन्न समिति बनेका छन्। हामी ४२ जना कार्यसमितिका साथी र वडाकालाई मेरो आग्रह छ जुनजुन एजेन्डा आएको छ त्यसमा कुरा गरौ,’रिजालले भने।

रिजालले साहलाई बैठकमा धेरै नअल्झाउन आग्रह मात्रै गरेनन् अझ अघि बढेर एजेन्डा बाहिर गएर नबोल्न अरु वडा अध्यक्षहरुलाई समेत सम्झाएका थिए। ‘उहाँलाई इन्गेज गराउनुभन्दा हामीले धेरै कुरा लिएर उहाँलाई समस्यामात्र लिएर, उहाँले पनि सबै समस्या बुझ्नुभएको छ। एजेन्डा पास भइसकेको छ। उहाँले पनि सबै समस्या बुझ्नुभएको छ,’रिजालले भने। 

रिजालले काठमाडौं महानगरको परिवर्तनका लागि मेयरको उर्जा र आफ्नो अनुभवले काम गर्ने बताए। ‘जहाँ रोकिन्छ त्यो कुरा हाम्रो प्रमुखज्यु उहाँको उर्जा छ हामी उहाँभन्दा उमेरमा अलि पाको भएको हुनाले हामीमा अनुभव पनि होला। दुईवटैलाई मिलाएर अब काठमाडौं त बनिहाल्छ त। समस्या छैन। यहाँ प्रमुखज्युको अघिमात्र समस्या पोखेर हुन्छ? अब विभागीय प्रमुख अगाडि पोख्ने हो,’रिजालले मेयर साहको पक्षमा बोल्दै भने। 

अरु वडा अध्यक्षले गरे रिजालको विरोध

वडा अध्यक्षहरुलाई मेयर साहले आफ्नो वडामा भएका समस्याबारे बैठकलाई जानकारी गराउन आग्रह गरेका थिए। मेयर साहको आग्रहपछि वडा अध्यक्षहरुले फोहोर व्यवस्थापन, विकास निर्माण,सुरक्षा, सडक पेटी व्यवस्थापन लगायतका मुद्धा उठाएका थिए। तर,ती विषयलाई रिजालले सानतिना विषय भनेपछि भने वडा नम्वर १५ का वडा अध्यक्ष ईश्वरमान डंगोलले रिजालले बोलेको कुरा नमिलेको भन्दै विरोध जनाए। भने,’कुरा चै मिलेन है। यो मेयरले ओपन गरेपछि आएको हो। वडा अध्यक्ष भर्खर निर्वाचित भएर आएको छ। त्यसमा अन्यथा लिन भएन।’ डंगोलपछि बोलेका वडा अध्यक्षहरुले पनि आफ्ना विषयलाई सामान्य रुपमा नलिन भन्दै रिजाललाई सचेत गराएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell