काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा सांसद खगराज अधिकारीले २४ लाख कोभिड १९ विरुद्धको खोप हराएको भन्दै सरकारसँग जवाफ माग गरेका छन्। पूर्व स्वास्थ्यमन्त्री समेत रहेका अधिकारीले २४ लाख खोप सरकारले कमिशन लिएको कारण हराएको भन्दै संसदमा यथार्थ जानकारी गराउन सरकार माग गरेका हुन्।
आइतवार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तरगतको विभिन्न शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले खोपबारे आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको समेत ध्यानाकर्षण गराएको बताए।
‘२४ लाख खोप कहाँ गयो? हामीले उठाई राखेका छौं। समितिमा उठाएका छौं। सम्माननीय प्रधानमन्त्रीज्यूकोमा गएर भनिएको छ। त्यो २४ लाख खोप कम्पनीबाटै कमिशनमा हराएको हो ?,’ उनले भने।
आफू स्वास्थ्यमन्त्री भएकै बेला एचआईभी एड्सदेखि क्यान्सरसम्मका १३९ वटा औंषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको उल्लेख गर्दै सांसद अधिकारीले त्यसबारे अरु थप भ्रम नछर्न पनि सरकारलाई चेतावनी दिए।
‘निःशुल्क औषधिको कुरा चल्यो। म स्वास्थ्यमन्त्री हुँदा नै ७२ वटा त नयाँ औषधि निःशुल्क बनाएको हो। १ सय ३९ वटा औषधि त त्यतिबेलै निःशुल्क गरिएको थियो एचआईभी एड्सदेखि क्यान्सरसम्मका। अनि अहिले यहाँ केके गरे भनेर भ्रमको खेती गरिँदैछ। यसको जवाफ चाहिएन सभामुख महोदय। गत आर्थिक वर्षको भन्दा २२ प्रतिशत बढि बजेट कम गरिएको छ। त्यसप्रति मेरो आपत्ति छ,’ उनले भने।