
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फको नयाँ टर्मिनल भवन आइतवारदेखि सञ्चालनमा आएको छ। अब नयाँ आगमन कक्ष पनि बनाउने योजना अघि बढेको छ।
एक वर्षअघि निर्माण सुरु भएको नयाँ टर्मिनल भवन करिब १० करोड रुपैयाँमा सम्पन्न भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। चार सय जना यात्रु क्षमताको यो टर्मिनल भवनको निर्माण तुलसीभक्त शुभ जेभीले गरेको हो।
नयाँ डिपार्चर हल सञ्चालनमा आएसँगै अब एकैपटकमा आठ सय जना यात्रुले सेवा लिन सक्ने जनाइएको छ। विमानस्थलका अनुसार यो हलको व्यवस्थापन निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले गर्नेछ।
यसैगरी, नयाँ आगमन कक्षको निर्माण पनि आइतवारदेखि औपचारिक रूपमा सुरु भएको छ। यो योजनाको शिलान्यास संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गरे। निर्माण ठेक्का करिब ५ करोड रुपैयाँमा ब्राइट मल्टी कन्स्ट्रक्सनले पाएको छ।
नयाँ आगमन कक्ष निर्माणको नौ महिनाभित्रै पूरा गर्ने लक्ष्य रहेको मन्त्री आलेले बताए। उनका अनुसार यस अन्तर्गत हाल भएको एउटासँगै थप दुई वटा कनभेयर बेल्ट थपिएपछि पाँच मिनेटको अन्तरालमा ब्यागेज क्लियर हुने अपेक्षा गरिएकव छ।
नयाँ आगमन कक्ष तयार भएसँगै हाल भएको कनभरेयर बेल्ट भएको ठाउँलाई आन्तरिक टर्मिनल भवनमा रुपान्तरण गरिनेछ।
‘फ्लाइट मुभमेन्ट दिनानुदिन वृद्धि हुँदै गएको छ। दैनिक करिब साढे तीन सय उडान हुन थालिसकेको छ’, उनले भने, ‘यो भिडभाड कम गराउने उद्देश्यले आगमन कक्ष विस्तार गर्न लागिएको हो।’
उनका अनुसार नयाँ भवनमा भीआइपी आगमन कक्ष, २५ जना क्षमताको प्रतीक्षालय, शौचालय लगायतका सुविधा हुनेछ।
विमानस्थलको पूर्वाधार विस्तारसँगै आन्तरिकतर्फको सेवामा थप सुधार ल्याउन आवश्यक रहेको पर्यटन सचिव महेश्वर न्यौपानेले बताए। नयाँ डिपार्चर हल सञ्चालनमा आएसँगै वर्षौँदेखि यात्रुमा रहदै आएको असुविधा दुर हुने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए।
‘यात्रुले भोग्दै आएको समस्या कम भएको छ। प्राधिकरणले पूर्वाधार विस्तारमा लगानी गर्दै जानेछ। अब हाम्रो उद्देश्य भनेको २०२३ जनवरीदेखि पोखरा विमानस्थल सञ्चालनमा ल्याउने छ । टीआइएको अर्को टर्मिनल भवन बनाउनका लागि पनि गृहकार्य सुरु भइसकेको छ,’ उनले भने।
स्तरोन्नति गरिएको फाउन्टेन र डोमेस्टिक तर्फको नयाँ टर्मिनल भवनको आइतवार मन्त्री आलेले उद्घाटन र आगमन कक्षतर्फको नयाँ टर्मिनल भवनको शिलान्यास गरेका छन्।