काठमाडौं : र्यापर जी-बब (सुदीप भण्डारी) र उनका बुवाआमाबिचको विवाद चर्किएको छ। हाल एएनटीएफसँग रहेका जी-बब र उनका आमाबुवाले जिल्ला प्रशासन कार्यालयमा छुट्टाछुट्टै निवेदन दिएका छन्।
जी-बबले पनि आफ्नो मानहानी भएको र स्वतन्त्रता पाउनु पर्ने माग गर्दै निवेदन दर्ता गरेका हुन्। बुवाआमाले भने जी-बबको स्वास्थ्य अवस्था ठिक नरहेको भन्दै अभिभावकत्वको दाबी गरेका छन्। दोहोरो निवेदन परेपछि जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई छलफलमा समेत बोलाएको छ।
जी-बबका बुवाआमाले शुक्रवार पत्रकार सम्मेलन गरेका थिए। छोरालाई घर फिर्ता ल्याउनुपर्ने, कमाएको पैसा पाउनुपर्ने र छोराको स्वास्थ्य सुधार्न रिह्याब सेन्टर (पुनर्स्थापना केन्द्र)मा राख्नुपर्ने उनीहरूको माग थियो।
जी-बबले आफ्नी आमाले पैसाको लागि आफूलाई रिह्वाबमा पठाउने खोजेको आरोप लगाएका छन्। विवाद चर्किँदै गएपछि जी-बबले आज एक पत्रकार सम्मेलन राख्दै एनएनटीफले आफूलाई बन्धक नबनाएको बताएका छन्। आफू व्यक्तिगत इच्छाले नै घर छोडेर स्वतन्त्र रूपमा बस्न चाहेको बताएका छन्।
‘मलाई एएनटीएफले बन्धक बनाएर राखेको होइन। एएनटीएफ मेरो परिवार हो। मेरो लागि मेरो ममी डेडी र एएनटीएफ बराबर हो। आज एएनटीफ हुन्थेन भने जी-बब हुदैन्थ्यो। एएनटीफ सोच्ने भनेको निमसाङ शेर्पा हो। जी बब सोचेको सुदीप भण्डारीले हो। मलाई एएनटीएफ एकदम चाहिन्छ। हामी मिलेर काम गर्छौ’, उनले भने।
घरबाट सम्पर्कविहीन भएपछि आफूलाई बन्धक बनाएको भनेर आमालाई भ्रम भएको उनले बताए। बुवाआमा मिडियामा आएपछि मात्रै आफू मिडियामा आउन बाध्य भएको उनको भनाइ छ।
बुवाआमाको माया नपाएको र उनीहरुले र्याप गाउँछु भन्दा साथ नदिएको आरोप जी-बबको छ। ‘बुवाआमाले कहिल्यै र्यापमा सर्पोट गर्नुभएन। बुवा भएपनि उहाँ सधैँ विदेश मात्रै बस्ने। उहाँको फोटो देख्थे। फोन पनि आउथ्यो छोरा आइटी पढ भनेर। तर, कहिल्यै नजिक भएनन्। अब विदेशबाट आएर घर आइजा भन्दा म जान्छु त।’
यस्तै, एएनटीएफका संस्थापक निमसाङ शेर्पाले आफूले जी-बबलाई बन्धनमा नराखेको दाबी गरेका छन्। साथै, उनले जी-बबसँग काम गरेको र उनको परिवारको बारेमा आफूहरू नबोल्ने समेत बताए।
जी-बबले परिवारसँग बस्न नचाहेको र स्वतन्त्र रुपमा बाँच्न चाहेको समेत बताएका छन्। ‘म परिवारसँग बस्न चाहँदिन। म कुनै पनि हालतमा अब घर जादिनँ। २१ वर्ष पुगिसकेँ। म स्वतन्त्रता खोजिरहेको हो। मैले स्वतन्त्र रूपमा बस्न पाउनु पर्यो भनेर निवेदन दिएको हुँ। मलाई मेरो आमावुबाले काम गर्न रोक्न दिनु भएन। मैले के गर्ने के नगर्ने त्यो मेरो अधिकार हो।’
उनले आफू आफै रिह्याबमा गएर उपचार गरिरहेको समेत खुलाए। अहिले पनि उपचारको खाँचो भएको भन्दै जी-बबले स्वस्थ भएर निकै राम्रो काम गरेर नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने समेत बताएका छन्। 'म रिह्याब जान्छु। म आफैलाई राम्रो बनाउँछु,' उनले भने।