PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

एमाले केन्द्रीय कार्यालयको बैठकमा चुनावी नतिजाको समीक्षा,अनुशासन उल्लंघनको विषय के भयो?



पहिलोपोस्ट

एमाले केन्द्रीय कार्यालयको बैठकमा चुनावी नतिजाको समीक्षा,अनुशासन उल्लंघनको विषय के भयो?

काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय कार्यालयको बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको पूर्णतालगायतका विषयमा छलफल भएको छ। आइतवार पार्टी कार्यालय च्यासलमा बसेको बैठकमा सोमवार बस्न लागेको सचिवालयको बैठकमा प्रस्तुत हुने एजेन्डाका बारेमा छलफल भएको हो।

एमालेकी सचिव पद्मा अर्यालले बैठकमा चुनावी समीक्षा भएको जानकारी दिइन्।

‘भोलिको सचिवालय बैठकका लागि एजेन्डा तय गर्न केन्द्रीय कार्यालयको बैठक बसेको हो। चुनावी समीक्षा र विभागको पूर्णतालगायतका विषयमा छलफल भएको छ,’ अर्यालले भनिन्।

स्थानीय तह निर्वाचनको मत परिणामका बारेमा यसअघि एमालेभित्र पार्टी कमिटीको बैठकहरुमा औपचारिक रुपमा छलफल भएको थिएन। एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन भन्दा पनि एमालेको अन्तरघातका कारण निर्वाचनमा पराजित भएको बताउने गरेका छन्।

यद्यपि, एमालेका नेताहरुले एमाले लोकप्रिय मतमा पराजित नभएको दाबी गर्दै आएका छन्।

२०७४ सालको स्थानीय तहमा २९४ ठाउँमा प्रमुख पदमा जितेको एमालेले यसपटकको स्थानीय तह निर्वाचनमा २०५ ठाउँमा मात्रै चुनाव जितेको छ। एमालेले पोखरा महानगर लगायतका ठाउँमा पार्टी अन्तरघातका कारण हारेको प्रारम्भिक चुनावी समीक्षा गरेको थियो।

घनश्याम भुसाललाई कारबाहीको विषय के भयो?

एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाहीका लागि सिफारिस गरेको थियो। अनुशासन आयोगका अध्यक्ष केशव बडालले केन्द्रीय कमिटीलाई भुसालले अनुशासन उल्लंघन भएको भन्दै कारबाहीका लागि सिफारिस गरेको बताएका थिए।

अध्यक्ष ओली र पार्टीको नीतिको सार्वजनिक रुपमा भुसालले आलोचना गरेको भन्दै कारबाहीको लागि सिफारिस गरिएको उनले बताएका थिए।

आजको बैठकमा भने उक्त सिफारिस बारे कुनै चर्चा भएन। सचिव अर्यालले केन्द्रीय कार्यालयको बैठकमा कारबाहीको विषयमा छलफल नभएको बताइन्।

‘कारबाहीको विषयमा त्यस्तो केही भएन,’ उनले भनिन्।

भुसाललाई कारबाही गर्न सिफारिस गरेपछि एमालेभित्रै पनि केही नेताहरुले उक्त सिफारिसको आलोचना गरिरहेका छन्। पार्टीलाई एकतावद्ध बनाएर लैजान र कारबाहीका लागि कदम नचाल्न अध्यक्ष ओलीलाई केही नेताहरुले दबाब दिइरहेका छन्। एमालेमा महासचिवको नेतृत्वमा उपमहासचिव र सचिवहरु सम्मि‍लित केन्द्रीय कार्यालय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell