वीरगंज : निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु पर्ने माग राख्दै स्थानीयहरुले १७ दिनदेखि निरन्तर पूर्व-पश्चिम राजमार्गमा चक्का जाम गर्दै अएका छन्। गत जेठ १२ गते आएको सर्वोच्च अदालतको फैसलापछि जेठ १३ गतेपछि हालसम्म दैनिक अपरान्ह ३ बजेदेखि ५ बजेसम्म पूर्व-पश्चिम राजमार्गको निजगढ बजारमा चक्का जाम गरिँदै आएको हो।
निजगढ सार्वजनिक सरोकार समिति र स्वतन्त्र युवा विद्यार्थी सरोकार समितिले संयुक्त रुपमा हरेक दिन दुई घण्टा चक्का जाम गर्दै आएको स्वतन्त्र युवा विद्यार्थी सरोकार समितिका संयोजक जयराम कुँवरले जानकारी दिए। जबसम्म सरकार वा न्यायलयबाट निजगढ विमानस्थल बनाउनु पर्ने अर्को निर्णय आउँदैन तबसम्म आफूहरुको संघर्ष जारी रहने उनले जानकारी गराए।
निजगढ सार्वजनिक सरोकार समितिका अध्यक्ष यज्ञबहादुर श्रेष्ठले निजगढ विमानस्थल बनाउन आफूहरुले सडकदेखि काठमाडौंसम्म दबाबमूलक कार्यक्रम जारी राखेको बताए। उनले गत जेठ २७ र २८ गते काठमाडौं डेलिगेशन गएर प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, प्रमुख राजनीतिक दलका अध्यक्ष केपी ओली, पुष्पकमल दहाल प्रचण्ड, माधव कुमार नेपाललगायतलाई भेटेर विमानस्थल जसरी पनि बनाउनु पर्ने आफूहरुले माग समेत राखेको जानकारी गराए।
‘हामीले निरन्तर खबरदारी तथा दबाबमूलक कार्यक्रम जारी राखेका छौँ, काठमाडौंको डेलिगेशनबाट प्रारम्भिक छलफल पनि भएको छ’, उनले भने, ‘सकारात्मक प्रतिक्रिया पाएका छौँ, सकभर केही पूर्व सारेर निजगढ विमानस्थल बनाउनु पर्ने माथिल्लो तहमा सहमति बनिरहेको छ।’
दैनिक हुने चक्का जाम कार्यक्रममा निजगढ आसपासका करिब ४ सय स्थानीयहरु सहभागी हुने गरेका छन्।