PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

मकवानपुर गोल्डकप : आर्मीको दाउ इतिहास दोहोर्‍याउने, हेटौंडाको बदला लिने



पहिलोपोस्ट

मकवानपुर गोल्डकप : आर्मीको दाउ इतिहास दोहोर्‍याउने, हेटौंडाको बदला लिने

हेटौंडा : त्रिभुवन आर्मी क्लब र घरेलु टोली विजयी युथ क्लब आज चौंथो संस्करणको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपको उपाधिका लागि आमनेसामने हुँदै छन्।

हेटौंडा–५ स्थित पिप्ले रंगशालामा हुने फाइनल खेलमा उपाधिका लागि घरेलु टोली विजयी युथ क्लब हेटौंडा र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्नेछन्। खेल अपरान्ह ३:३० बजेबाट सुरु हुने आयोजक जिल्ला फुटबल संघ मकवानपुरले जनाएको छ।

घरेलु टोली विजय युथका प्रशिक्षक विजयलाल श्रेष्ठ र कप्तान अशोक बरालले फाइनल खेलको लागि आफूहरुले रणनीति तयार पारिसकेको र उपाधि जित्ने दाबी गरे।

यसैगरि, यता आर्मीका प्रशिक्षक नवीन न्यौपाने र कप्तान भरत खवासले उपाधि रक्षा गर्ने दाबी गरेका छन्। उनीहरुले आफ्नो टोलीमा हेटौंडामा भएको यसपटक गोल्डकपमा नयाँ खेलाडीहरुलाई मैदानमा उतार्दा पनि उत्साहजनक खेल खेल्दै फाइनलमा पुगेकाले यसपटकको उपाधि पनि आर्मीले नै जित्ने दाबी गरे।

२०७७ सालमा भएको तेस्रो मकवानपुर गोल्डकपको फाइनलमा खेल पनि घरेलु टोली र आर्मी भिडेको थियो। आर्मीले घरेलु टोली मकवानपुर-११ लाई १–० गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको थियो। अघिल्लो पटक फाइनलमा पुगेर उपाधि हात पार्न नसकेको हेटौंडालाई बदला लिने अवसर छ भने आर्मीलाई उपाधि रक्षा गर्न चुनौती छ।

आज हुने फाइनल खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने देखिएको छ। आज हुने फाइनल खेलको बिजेता टोलीले शिल्ड, मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलीले १० लाख प्राप्त गर्ने छ। प्रतियोगितामा सर्वोकृष्ट खेलाडीलाई रोयल इन्फिल्डको बुलेट बाइक प्रदान गरिने छ भने विद्यागत उत्कृष्ट खेलाडीलाई २५ हजार र खेलमा म्यान अफ दि म्याच खेलाडीले १० हजार प्राप्त गर्ने आयोजक जिल्ला फुटबल संघ मकवानपुरले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell